कोरिया प्रायद्वीपमा शान्तिको आशा

February 3, 2018

  • बीके नेवा

अत्यन्त्र प्रतिकूल र तनावबीच दुई कोरियाबीच उच्चस्तरीय वार्ता भएपछि शान्तिको आशा पलाएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको वार्ताले दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा एउटै झन्डामुनि सँगसँगै मार्च गर्न सहमत हुनुलाई शान्तितर्फको महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।

 

लेखक

यसरी एउटै झन्डामुनि मार्च गर्न लागिएको पहिलो पटक हो । आउँदो पेबु्रअरी ९ देखि २७ गतेसम्म दक्षिण कोरियामा शीतकालीन ओलम्पिक हुँदैछ । वार्ता नै हुन सक्दैन कि भन्ने अवस्थामा दुई वर्षको अन्तरालमा सीमा क्षेत्रको पाममुनजोममा गएको जनवरी ९ मा भएको यो वार्ताले नयाँ वार्ताका लागि ढोका खुला गरेको छ । तर पनि उत्तर कोरियाको आक्रामक आणविक कार्यक्रमले धेरै आशावादी हुने अवस्था अझै बनेको छैन ।
पटक पटक आणविक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियालेले वार्ता सँगसँगै शक्ति सञ्चयगर्ने र नयाँ क्षेप्यास्त्र परीक्षण गर्ने सम्भावना चनाखो हुनुपर्नेमा दक्षिण कोरियाले जोड दिएको छ । दक्षिण कोरियाका विदेशमन्त्री गाङ ग्याङ ह्वाले उत्तर कोरियासँगको वार्ता सकारात्मक भएपनि थप विश्वासको वातावरण बनाउन उत्तर कोरियाली अधिकारी इमानदार हुनुपर्नेमा जोड दिनुभएको छ । उता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन वार्ताका नाममा उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र परीक्षणको तयारी गर्नसक्ने भएकाले यो विषयमा थप स्पष्ट हुनुपर्नेमा जोड दिनु भएको छ । उहाँले उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गरेमा मात्र आगामी निरन्तर वार्ताका लागि उपयुक्त वातावरण बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दुई कोरियाबीच वार्ता हुन सक्दैन युद्ध हुन्छ कि भन्ने अवस्थामा भएको यो वार्ताले दुवै देशका नागरिकमा नयाँ आशा पलाएको छ । वार्ताकै क्रममा भएको सहमतिअनुसार केही समयपछि पारिवारिक पुनःमिलनको कार्यक्रम गरिने भएको छ । यो एउटा ऐतिहासिक अवसर हुनेछ । कोरियाली युद्धपछि एउटै परिवारका सदस्य पनि कोही उत्तरमा त कोही दक्षिणमा बसोबास गरिरहेका छन् । उनीहरुबीच बेलाबखतमा आयोजना गरिने पारिवारिक पुनःमिलनले आपसमा भेटघाट गर्ने अवसर प्राप्त हुने गर्छ ।

एउटै भाषा, धर्म र संस्कृति भएका कोरियाली प्रायद्वीपका जनता आपसमा मिल्न चाहेर पनि राजनीतिक कारणले मिल्न सकेका छैन । दुई कोरियाबीच एकता होस् भन्ने उनीहरुको भित्री चाहना रहेको छ । तर विभाजित दुई कोरियाबीचको एकता नजिकको विषय बन्न सकेको छैन । यसमा आन्तरिक भन्दा पनि बाह्यकारणले बढी भूमिका खेलेको छ । विभाजित दुई कोरिया एक हुनुपर्छ भनी बारम्बार आवाज उठे पनि एकता सम्भव भएको छैन । दुई देशका शासकबीच इच्छा शक्ति नभए सम्म एकता हुन सक्दैन । त्यसका लागि जनस्तरबाट ब्यापक दबाब सिर्जना गर्न जरुरी छ ।

दोस्रो विश्वयुद्धमा जापानी उपनिवेशबाट मुक्त भएको कोरिया वाह्यकारणले गर्दा विभाजितमात्र भएन भीषण युद्धको चपेटामा प¥यो । कोरियालाई विभाजित हुन नदिन तत्कालीन उत्तर कोरियाली राष्ट्रपति किमइल सुङले निकै प्रयास गर्नुभयो तर सफल हुनुभएन । उहाँले आफ्नो शासनकाल भरि कोरिया एकताका लागि विभिन्न प्रस्ताव अगाडि सार्नुभयो । एक कोरिया दुई व्यवस्थाका आधारमा एकीकरण गर्न विषयमा धेरै प्रयास पनि भयो तर वाह्य कारणले सम्भव भएन । उहाँको निधनपछि उहाँका छोरा किम जाङ इल र नाति किम जोङ उनले पनि दुवै देशको जित हुने गरी एकीकरणको प्रस्ताव गर्नुभयो । तर दक्षिण कोरियाली नेतृत्व एकीकरणका लागि तयार हुन सकेन जसले गर्दा दुई कोरियाबीचको एकीकरण एकादेशको कथाजस्तो मात्र बन्न पुगेको छ ।

आर्थिक हिसावले दक्षिण कोरिया सशक्त राष्ट्र बनेको छ भने सामरिक हिसाबले उत्तर कोरिया सम्पन्न छ । दुई कोरिया मिलेर एउटै कोरिया बन्ने हो भने कोरिया शान्त र समृद्ध राष्ट्र बन्न सक्छ । यसो भयो भने कोरिया प्रायद्वीपलाई आणविक हतियारले मुक्त बनाउन सकिन्छ । विश्व शान्ति तथा क्षेत्रीय सुरक्षाका लागि पनि कोरियाली एकीकरण आवश्यक भएको छ ।

कोरिया विभाजनपछि सन् १९५० देखि ५३ सम्मदुई कोरियाबीच भीषण युद्ध भयो । यो युद्धपछि युद्धकै अवस्थामा दुवै कोरियाले अहिलेसम्म आआफ्नो क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका छन् । दक्षिण कोरियामा अमेरिकाले ठूलो लगानी गरेको छ । दक्षिण कोरियाको सुरक्षाका लागि करिब ४० हजार अमेरिकी सैनिक तैनाथ गरिएको छ । उत्तर कोरियालाई छिमेकी चीन र रुसले सहयोग गरिरहेका छन् ।

उत्तर कोरयाविरुद्ध अमेरिका र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएका छन् । तर पनि नाकाबन्दीलाई बेवास्ता गर्दै उत्तर कोरियाले पटक पटक आणविक क्षेप्यास्त्र परीक्षण गरेर आणविक शक्ति राष्ट्रका रुपमा आफूलाई उभ्याएको छ । पछिल्लो पटक छैटौँ आणविक परीक्षण गरेर विश्वमै तहल्का मच्चाएको उत्तर कोरियाले अन्तर महादेशीय क्षेप्यास्त्र बनाएर आफ्ना मुलुक आणविक अस्त्रबाट सुरक्षित भएको दावी गरेको छ ।

जतिसुकै ठूलो अन्तर्राष्ट्रिय नाकाबन्दी लगाए पनि त्यसलाई बेवास्ता गर्दै उत्तर कोरियाले जादुमय रुपमा गरेको आणविक अस्त्रको प्रगतिले विश्वमै हलचल पैदा भएको छ । अमेरिकाको जुनसुकै भागमा पनि अन्तर महादेशीय क्षेप्यास्त्र प्रहार गर्ने हैसियत बनाएको उत्तर कोरियासँग सार्थक वार्ता गरी आणविक विवादको उचित निकास निकाल्नु बुद्धिमानी हुनेछ । उत्तर कोरियालाई आणविक हतियार रहित बनाउन सम्भव छैन । आणविक हतियारले सम्पन्न भइसकेको यो मुलुकसँग सार्थक र उपयोगी वार्ता गरी समस्याको दीर्घकालीन समाधान खोज्नु नै आजको आवश्यकता हो ।

उत्तर कोरियालाई आणविक राष्ट्र बन्न नदिन अमेरिका र संयुक्त राष्ट्रसंघले गरेको प्रयास सफल हुन सकेन । अन्तर्राष्ट्रिय नाकाबन्दीको समाना गर्दै आणविक शक्ति बनेको उत्तर कोरियालाई अब थप आणविक परीक्षण गर्न आवश्वक छैन । उसले अब राष्ट्रको सम्पूर्ण शक्ति आर्थिक तथा सामाजिक विकासमा लगाउनुपर्छ । छिमेकी दक्षिण कोरिया,जापान र अमेरिकासितको बिग्रेको सम्बन्ध सुधार गर्नुपर्छ । युद्ध समस्याको समाधान होइन भन्ने कुरालाई सबै पक्षले आत्मसात् गरी वार्ता द्वारा नै कोरियाली समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ । कोरियामा अब केही गरी युद्ध भयो भने यो कोरियामा मात्र सीमित हुनेछैन । यसको असर विश्वव्यापी रुपमा पर्नेछ । त्यसैले कोरियामा तनाव बढाउने उत्तेजना फैलाउने गतिविधि सबै पक्षबाट रोक्न जरुरी छ ।

सम्बन्धित समाचार