७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

फ्युजन गीतले आधुनिक गीतको बजार हडपेको छ–कृष्ण वाइबा


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

कृष्ण वाइबा आधुनिक गायक तथा संगीतकार हुन् । तामाङ सेलो गीतमा पनि उनी उत्तिकै चर्चित छन् । गायन क्षेत्रमा लागेको झन्डै २० वर्ष पुग्दै गर्दा वाइबासँग हाम्रो भेट भयो । यो अवधिमा उनले एकसय ५० गीत गाए । ६० वटा त उनले सेलो गीत नै गाए । ५० गीतमा संगीत भरे ।
मिठो वचन उनको पहिलो आधुनिक एल्बम हो । अहिलेसम्म ५ वटा एल्बम उनले बजारमा ल्याइसकेका छन् । संगीत जीवनको एउटा अंगजस्तै भइसकेको बताउने गायक वाइबा हरेक बिहान रियाज गर्न छुटाउँदैनन् । रियाज नगरेको दिन उनलाई के नपुगेको के नपुगेको झैं लाग्छ रे । उनै गायक वाइबासँग एभरेस्ट टाइम्सले गरेको कुराकानीः

तपाईं कहिलेबाट यो क्षेत्रमा लाग्नुभएको हो ?
०५४ सालमा गीत गाएँ । अनि संगीत यात्रा सुरु भयो । आधुनिक गीतबाट यो यात्रा सुरु भयो । मिठो वचन, सोलुकी मैच्याङ, सगुन, होई मैच्याङ जस्ता एल्बम बजारमा ल्याए । झन्डै २० वर्ष पुग्नै लागेछ ।

 

यति धेरै वर्ष गीत गाउनुभयो, कति गीत गाउनुभयो, कस्ता गीतहरु गाउनुभयो ?
यो अवधिमा झन्डै एकसय ५० वटा गीत गाएँ । यसमा धेरै त आधुनिक गीत नै छन् । यो अवधिमा तामाङ सेलो गीत पनि गाएँ । ६० वटा जति सेलो गीत होला । गीत मात्र गाइनँ, संगीत मेरो अर्को पाटो हो । अहिलेसम्म ४५ गीतमा संगीत भरें ।

अहिले आधुनिक गीत बजारमा त्यति चल्दैनन् भन्छन्, त्यही भएर तपाई सेलोतिर मोड्नुभएको हो ?
अचेल फ्युजन गीतले बजार पिटिरहेको छ । यो सबै कपीपेस्ट गीत हुन् । यस्ता गीतहरु आउँछन् । दुई दिन बज्छन् । अनि, बिर्सन्छन् । तर, आधुनिक गीत कहिल्यै मर्दैन । संगीत नै आधुनिक गीतबाट सुरु हुने भएकोले यसको आफ्नै महत्व छ । रागबाट निस्कने गीतलाई नै आधुनिक गीत भनिन्छ । त्यसैले अहिले चलेन भन्दैमा पीर गर्नुपर्दैन । सेलोको सन्दर्भमा मेरा प्रिया साथीहरुको अनुरोधमा मैले यस विधामा पनि हात हालेको हो । यसले मलाई आफ्नो संस्कृति पनि प्रमोट भएको छ । आधुनिक नचलेर यता मोडेको हैन । म अहिले पनि आधुनिक गीतमै व्यस्त हुन्छु ।
२० वर्षदेखि यही क्षेत्रमा हुनुहुन्छ, कहिलेकही अल्छी लाग्दैन ?
बिहान उठेपछि रियाज गरेन भने दिन नै खल्लो लाग्छ । म केही पाउँछु भनेर यो क्षेत्रमा आएको पनि होइन । त्यसैले मलाई अहिलेसम्म अल्छी लागेको छैन । हरेक सिर्जनाबाट सन्तुष्टि मिलेको छ । यही खुसीको कुरा हो । संसारमा खुसीभन्दा ठुलो कुरा के नै छ र ?
तपाईंका गीतहरुमा प्रायः दुःख समेटिएको हुन्छ, किन यति सारो दुःखी गीत गाउनुहुन्छ ?
मानिसको जिन्दगीमा सुख मात्र आउँदैन । धेरै त दुःख नै हुन्छ । धेरै त विछोड नै हुन्छ । सुख त एकछिन हुन्छ । तर, दुःख त हरेक मानिससँग हुन्छ । जनजीवनमा विषयहरुलाई समेटेर नै गीत बन्छन् । ती गीतहरुमा लय हाल्दा दुःखको रस पस्छ र गीतले मनमुटुमा छुन्छ । त्यसैले मलाई यस्तै गीत गाउन मनपर्छ । तर, केही गीतहरु रमाईला पनि छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ७ : ३१ बजे