नेपाल फर्कँदै गर्दा कन्सुलर क्षेत्रीले भने : अमेरिकाको कानुनी राज मिस गर्छु, न्युयोर्कका नेपालीलाई दिए यस्तो सुझाव

July 20, 2019

न्युयोर्कस्थित नेपाली वाणिज्यदूतावास(कन्सुलेट न्युयोर्क)का वाणिज्यदूत कृषु क्षेत्री आफनो चार वर्षे कार्यकाल पुरा गरी नेपाल फर्कदै छन् । क्षेत्री न्युयोर्कमा नेपाल कन्सुलेट स्थापना भएसँगै यहाँ आइपुगेका थिए । साहित्य क्षेत्रमासमेत निकै सक्रिय रहेका क्षेत्रीले न्युयोर्कमा बसुन्जेल हरेक नेपाली समुदायहरुसँग उतिकै राम्रो आत्मीयता गाँसे । हँसिलो र फुर्तिलो वाणिज्यदुत क्षेत्रीसँग न्युयोर्क बसाईको अनुभव र नेपाल फर्केपछिका योजनाबारे एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी:

कसरी बित्यो यी चार वर्ष ?
फर्कदाँ फर्कदै सानो सन्दर्भ जोडियो । यहाँहरुबाट अमेरिकामा रहेका आम नेपाली दाजुभाईहरुसँग सम्बन्धको सेतुको रुपमा भेट भयो । एभरेस्ट टाइम्सलाई धन्यवाद । चार वर्ष यहाँ रहँदा केही राम्रा र केही नराम्रा, केही सकारात्मक केही नकारात्मक अनुभुतिहरुको बीचमै रह्यो । केही सफलताहरु पनि हात लागे केही असफलता हात लागे । मेरो पोस्टिङका रुपमा पहिलो भए पनि म पहिले अमेरिका आइसकेको थिए । तर कन्सुलेट स्थापना गर्न यहाँहरुको विशेष सहयोग रह्यो । एनआरएनका साथीभाई हरु, नेपालसँग राजनीतिक सन्निकट भएकाहरुको आवद्ध व्यक्तिहरुको बारम्बरको प्रयासले यहाँ कन्सुलेट स्थापना गर्न सफल भयो ।

कन्सुलेट स्थापनापछिका दिनहरु कसरी बिते ?
२०१५ अगस्ट १ मा यहा कन्सुलेट स्थापना भयो । त्यही दिन म यहाँ आइपुगे । नेपाल सरकारले बजेटसहित पठाएको थियो । मेरा कलिग प्रवीण भट्टराई र वासिङटनमा काम गर्दै गर्नुभएको नारायण मैनाली हामी मिलेर टिम बनायौ । उहाहरु दुई जनालाई अमेरिकाको अनुभव पनि थियो । अनि हामीले मिलेर काम थाल्यौं । त्यतिबेला बडो अप्ठेरो अवस्थामा थियो । हामी हस्तलिखित पासपोर्टबाट एमआरपीमा ट्रन्सफरमेसनको अवस्थामा थियौं । २४ नोभेम्बर २०१५ बाट हस्तलिखित पासपोर्ट चल्दैन भनेर आइकाओले भनेको थियो । हामीले जसरी पनि एमआरपीमा सार्नु थियो । त्यतिबेला चापाचाप थियो । शुरुमा एउटै कोठामा बसेर काम गर्नुपर्ने अवस्था आयो । कहिले सर्दासर्दै पनि काम गर्नुपरेको अवस्था थियो । त्यही कामको लागि टोलटोल, घरघर पुगेर कन्सुलेट र पासपोर्टका काम ग¥यौ । शेर्पा किदुगदेखि फिप्नासम्म गएर कन्सुलेटको काम गर्‍यौ । त्यो कार्यमा हामीले शतप्रतिशतै सफलता पायो जस्तो लाग्यो । सञ्चारकर्मीहरुको हरेक दिन सूचना प्रवाह गरेका कारण पनि यो सफल भयो । कन्सुलरको विषयमा पनि सफलताको फड्को मारेको अवस्था छ ।

कस्ता कस्ता कार्यहरु भयो कन्सुलेटबाट ?
प्रवासमा नेपाल सरकारको निकाय कन्सुलेटले गर्ने काम भनेको गर्भाधानदेखि मृत्युपछिसम्मका हरेक कामहरु गरिदिएको छ । यी कार्यहरु सम्झदा प्रवासमा नेपाल सरकार चाहिने रहेछ भन्ने अनुभुति भयो । कतिसम्म भने प्लेन उड्न लाग्दा लाग्दै केही गरेर रोकिदा हामीले एयरपोर्टमा पुगेर सेवा उपलब्ध गर्‍यौ । हामीले कन्सुलेटबाट राहदानीको काम गर्नुपर्ने हो जुन सोचे जस्तै ग¥यौ । हामीले पासपोर्ट लगायत अन्य कार्यहरुका साथै अहिलेसम्म पँच जना होमलेस भएका नेपालीलाई रेस्क्यु ग¥यौ । अधिकृत वारेसनामको काम पावर अफ एट्रोनिका कामहरुमा यहाँका नेपाली नागरिकले चलअचल सम्पत्तिसम्बन्धी किनबेचसम्बन्ध र सम्बन्ध विच्छेदका कुराहरुमा पनि काम गर्यौ‍ । चार वर्षको कार्यकाल कामको हिसाबले एकप्रकारको सफलता हात लागेको छ जनसरोकारको विषयमा । अर्को पक्ष भनेको सरकारको कर्मचारी भनेको जनताबाट अलग ठान्ने धारण रहेछ । म सरकारी हाकिम भन्ने । विषेशगरी सरकारी सेवामा हामी उपल्लो दर्जाको आफूभन्दा अर्को जातिमा घुलमिल नहुने विषयलाई भने सफलतापुर्वक चिर्‍यौ । हामी अलग्गै धुर्वबाट आएका हैनौ । हामी पनि त्यही प्रकृतिका मानिस हौ भनेर चि¥यौ । यस विषयमा मलाई गर्व लाग्छ ।

कम्युनिटीबाट सहयोग पाउनुभयो ?
कम्युनिटीले सहयोग नगरेको भए यतिको सफलता हात पार्दैन्थ्यो । हामीले हेर्ने ९ वटा राज्यमा जहाँ जहाँ काम गर्छौ त्यहाँ सोचेजस्तै सहयोग पायौ । सबैतिरबाट हामीलाई साथ दियो । कम्युनिटीको हितका लागि काम गर्दा कुनै संस्थाले भने ठीक होइन कि भनेर सोच्ने रहेछ । मनौ नेपाल परेडको एकमात्र निहीत उद्देश्य भनेको नेपाललाई विश्वकै वित्तिय राजधानी अमेरिकाको न्युयोर्कमा उपस्थित गराएर विश्वभर नेपाल चिनाउने हो । अरु आयोजकको स्वार्थ जेसुकै होला तर पहिलो उद्देश्य भनेको नेपालको पहिचान गराउने हो । नेपालको पहिचान दिलाउने काम कसैले गर्छ भने नेपाल सरकार उपस्थित हुने कि नहुने ? नेपालको लागि उभिने कि नउभिने भन्ने कुरामा म नउभिदिएको भए हुने जस्तो प्रश्न पनि उठे । फेसबुकमा के सम्म लेखियो भने, परेडको बेलामा जोसुकै गए पनि त्यो कृषु क्षेत्री चै नगए भए हुने भने । तर वास्तविक कुरा जहाँ देशको लागि हुने कुरामा हामी नेपाल सरकार उभिनुपर्छ । कहिलेकाही हामीले निर्णय गर्दा यहाँका समुदायहरुको चित्त नबुझेको हुन सक्छ ।

नेपाल डे परेड बाहेक अरु के कुराले नेपालको चिनाउँदै आएको जस्तो छ ?
प्रवासमा नेपालको पहिचान दिने कार्यक्रम भनेको नेपाल डे परेड जस्तै सगरमाथा दिवस, बृद्ध जयन्ती हो । तीनवटा पर्वमा म संलग्न हँुदै आएको छु । यस्तो कार्यक्रमहरुमा सरकारले पनि साथ दिनुपर्छ भन्ने लाग्छ । त्यस्तै पछिल्लो समय नेपालको चिनारी दिने किम्फ माउन्टेन फिल्म फेस्टिभल जुन एभरेस्ट टाइम्सले आयोजना गर्दै आएको छ । किम्फले नेपालको परिचय दिलाउनुको साथै फिल्म देखाएर संकलन हुँदै आएको रकम नेपालको दुर्गम जिल्लाको विद्यालयहरुलाई सहयोग पुर्‍याउदै आएको छ ।

नेपाल फर्केपछिको योजना के छ ?
समुदायसँग मिलेर हिँड्दा व्यस्त भइयो । विश्वविद्यालयको अध्ययन छुटिरहेको छ । कामले पढ्न छुटेको छ । त्रिभुवन विश्वविद्यालयकै शोधार्थी हुँ । दुई वर्षजति क्रिएटिभ र परिवार काममै विताउने विचारमा छु । ठुलो महत्वकांक्ष पनि छैन ।

अब नेपाल जाँदैहुनुहुन्छ, के मिस गर्नुहुन्छ होला जस्तो लाग्छ ?
साथीभाई एकदम मिस गर्छु होला । सानैदेखि साथीभाई चाहिने स्वभावको म । न्युयोर्कमा त्यस्तै साथीहरु पनि भेटियो विहानैदेखि बेलुकीसम्म आफ्नोबारेमा बुझिरहने साथीहरु मिस गर्छु । अर्को मुख्य कुराहरु अमेरिकाका सकारात्मक पक्षहरु छन् । हामीले आज कतिपयलाई अमेरिका सरकारले विशेष सुविधा दिएर राख्नुको कारण नेपालमा बढ्दै गएको शैक्षिक अवस्था, बढ्दै गएको बेरोजगारी, नेपालमा बढ्दै गरेको बेथिति, नेपालमा हरेक ठाउँमा भत्कँदै गएको कानुनी स्वराज होला । यहाँ कानुनी राजको कुरा छ । नेपालमा जाँदा मैले यहाँको कानुनी राज मिस गर्छु होला जस्तो लागेको छ । न्युयोर्कमा आनन्द अनुभति गरेको कुरा नै के खायो के ग¥यो जातजाति धर्म, लिंग भनेर पछि नलागेको विभेदरहित समाज छ । न्युयोर्कमा यस्तो स्वरुप छ । यसले एकप्रकारले मनमा एकप्रकारको आनन्द पाइरहेको छु । साहित्यलाई मिस गर्छु कि जस्तो लाग्छ । चार वर्ष नेपाली समुदायले भनेको कुराहरुमै नेपाली समुदायकै हितमै हातेमालो गरेर अघि बढे । सामान्यतय यिनै कुरा मिस गर्छु । तर, म जहाँ रहेपनि न्युयोर्क आसपासका नेपालीसँग कहिले पनि टाढा हुन सक्दिनँ ।

न्युयोर्कका रहेका नेपाली समुदायलाई के भन्नुहुन्छ ?
एकदुई कुरामा सतर्क भइदिनुपर्छ । अमेरिकामा आउँदा वैधानिक र अवैधानिक बाटो प्रयोग भएको देखिन्छ । वैधानिक बाटोमा केही ढिला होला । अवैधानिकहरु खुट्टामा जिपिएस लगाएर महिनौ लगाएर आउँछन् । यस्तो विषयमा यहाँका संघसंस्थाले जागृतिमुलक प्रयास गराउनुपर्छ । पत्रकारहरुले सचेत बनाउनुपर्छ । कहिलेकही संघसंस्थाहरुका मुख्य व्यक्तिहरुको नाम जोडिएजस्तो नजोडिएजस्तो पनि भइरहेको छ । दुख पनि छ । कागज बन्दैन । बिना कागज संघर्ष गर्न गाह्रो छ । त्यसैले पत्रकार एनआरएनले पनि यसमा काम गर्नुपर्छ ।

एनआरएन र अन्य संघसंस्थाले एकले अर्कालाई स्विकार्न नकस्ने कुरा अन्त्य हुनुपर्छ । समाजले यसलाई देखि सहन्न, दुर्भावना देखा परेका छन् । हामीबीचमा एकता, हामीहरुबीच भातृत्व हुनुपर्छ । मेरो संगठन ठुलो हो नभनेर एकले अर्कालाई स्विकार्नुपर्ने अवस्थामा आउनुपर्छ । साथीहरु टुटफुटमा किन जानुहुन्छ ? त्यही रहेर बलियो हुनुपर्छ । एकै दिन एउटै संगठनको कार्यक्रममा दुई ठाउँमा जानुपर्ने भयो । एनआरएनले अलिकति प्राविधिक तालिमका विषयमा ध्यान दिनुपर्छ जस्तो लाग्छ । हामीहरु धेरैजसो कोरा भएर काम गरिरहेका हुन्छौ । कोरा मान्छे र अनुभव प्राप्त मान्छेमा धेरै फरक हुन्छ । सीप सिकेमा धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्दछ ।

जाँदाजाँदै न्युयोर्क र आसपासका सबै नेपाली दाजुभाई दिदीबहिनीलाई के भन्छु भने लामो साथ दिनु भयो । सँगसँगै हिडियो । साँच्चै यस्तो आत्मीय आनन्द अरु पोस्टिङमा पाइनँ । अमेरिका आउँदै गर्दा एकजना साथीले भन्नु भएको थियो, अमेरिका जाँदै छस्, त्यसमा पनि न्युयोर्क सधै सतर्क हुनु, पाइला फुकीफुकी हिड्नु, सबैभन्दा गन्जागोल भएको ठाउँ हो भन्नुहुन्थ्यो । तर, यही आएर मैले धेरै इन्जोइ गरें ।

सम्बन्धित समाचार