अम्बाको बोटमा रेडियो झुन्ड्याएर गाना सुन्थेँ : कुन्साङ वाइबा, गायक

February 20, 2020

सांगीतिक क्षेत्रमा कुन्साङ वाइबाले दुई दशक समय बिताइसकेका छन् । काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–५ (साविक सिसाखानी गाविस–९) मा जन्मिएका वाइबा विशेषतः मातृभाषा तामाङ गीत, सेलोसहित नेपाली गीत गाउँछन् । कामको सिलसिलामा पोर्चुगल बस्दै आएका गायक वाइबा वि.सं. २०५८ मा तुुलसा वाइबा, इन्दिरा योन्जन, भक्त स्याङ्तानसँग मिलेर ‘छेरेङ्गाइ’ एल्बम निकालेर औपचारिक रुपमा यस क्षेत्रमा लागेको बताउँछन् । उनले लगत्तै ०६९ तिर ‘लानीदिनी’ गीत निकाले । विदेशमा रहँदा पनि बाँच्ने संघर्षसँगै संगीतका लागि उत्तिकै समय दिइरहेको बताउने गायक वाइबा २८५६ औं सोनाम ल्होछारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिकाको निमन्त्रणमा न्युयोर्क आएका हुन् । उनले २५ जनवरीमा आयोजित ल्होछार कार्यक्रममा प्रस्तुति दिए । लगत्तै भोलिपल्ट टेक्सासको डल्लासस्थित तामाङ सोसाईटी अफ डल्लासको ल्होछार साँझमा पनि प्रस्तुति दिन उनी पुगे । जुन कार्यक्रमC एकदमै रमाइलो भएको गायक वाइबाले प्रतिक्रिया जनाएका छन् । अमेरिकाको दोस्रो भ्रमणमा आएका लोकप्रिय गायक कुन्साङ वाइबासँग एभरेस्ट टाइम्सका ङिमा पाख्रिनले गरेको कुराकानी ।

तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो ?
विशेषगरी मलाई आफ्नो भाषा, धर्म, संस्कृतिसम्बन्धी गीतहरु एकदमै मन पर्ने । बच्चा बेलामा पनि तामाङ भाषाका गानाहरु रेडियोमा सुनिन्थ्यो । विं.सं २०५३ सालदेखि चाहिँ मैले संगीतबारेमा केही सिक्ने र बुझ्ने मौका पाएँ । त्यसपछि ०५८ सालमा तुलसा वाइबा, इन्दिरा योन्जन, भक्त स्याङ्तानसहित हामी चारजना मिलेर तामाङ भाषाको एल्बम ‘छेरेङ्गाइ’ निकालेँ । त्यो भन्दा पछाडि ०५९ तिर ‘लानीदिनी’ एल्बम बजारमा ल्याएँँ । ०६० सालमा फेरि तामाङ भाषाको ‘सेम्जो’ गीत एकल स्वरमा ल्याएँ ।

त्यसपछि मैले थुप्रै तामाङ भाषाका क्यासेट र एल्बमहरुमा गीत गाउने मौका पाएँ । अर्को सन् २००९ मा नेपाली एल्बम ‘सुरुवात’ गरेँ । त्यसपछि पनि केही एल्बम र गीतहरु गरेँ । मैले गाएका गीतहरु करिब चार दर्जन पुग्यो होला ।

सानो छँदा तपाईंको बानीव्यहोरो कस्तो थियो, बाबाआमाले भन्नुहुन्थ्यो होला नि ?
मलाई स्पेसल्ली गाउन मन पर्ने, गुनगुनाउँथे । मेरो माइज्यू अहिले स्वयम्भूमा हुनुहुन्छ । म कहिलेकाहीं मामाघर पुग्दाखेरी चोटाकोठामा गुनगुनाउने । त्यो सुन्नु भएर माइज्यूले भान्जा राम्रो गाउनुहुँदोरहेछ भन्नुहुन्थ्यो । त्यसले पनि मलाई संगीतमा लाग्न प्रेरित ग¥यो ।

त्यो कहिलेतिर, सम्झना छ ?
वि.सं. २०४४/४५ सालतिर होला । जब म ५१ सालतिर काठमाडौं आएँ । त्यतिखेर १७ वर्ष जतिको थिएँ । त्यो बेला चन्द्रकुमार दोङ दाइले भर्खर निकाल्नुभएको सेलो गाना थियो, मलाई एकदमै मन पर्यो‍ । पछि उहाँलाई भेट्ने मौका पाएँ । बसुन्धारा चोकमा बस्नुहुन्थ्यो । भेटमा उहाँले एक दुई वटा गाना हार्मोनियममा सुनाउनुभयो । मलाई पनि सिकेर गाना गाउन पाए भन्ने फिलिङ हुन्थ्यो ।

तपाईंकै आग्रहमा चन्द्रकुमारले गाना सुनाउनु भएको कि ?
मैले नै सुन्छु भनेको थिएँ । एकजना धनवीर वाइबा भन्ने दाइ हुनुहुन्थ्यो । उहाँमार्पmत चन्द्रकुमार दाइसँग भेट्ने मौका मिलेको हो । त्यही बखत गीत हाम्रै आग्रहमा उहाँले सुनाउनुभयो ।

स्कुल, विभिन्न जात्रा, चाडपर्वमा पनि गाउनुहुन्थ्यो कि सानोमा ?
स्कुले जीवनमा जयनन्द लामा मामाको गाना, चन्द्रकुमार मोक्तान दाइहरुको गाना ४४ सालतिर सुनेको हुँला । रेडियोमा उहाँहरुका गीत बज्दा मलाई छुन्थ्यो । त्यसबेला काभ्रेको खार्पाचोकमा भएको एउटा शुभकार्यमा पुगेको थिएँ । त्यो कार्यक्रममा जयनन्द आस्याङको भर्खरै रिलमा निस्केको गीत क्यासेटमा बजाएर नाचेका थिए । त्यो गीतले मलाई यसरी छोयो कि हामी तामाङको भाषा, सेलो निकै फरक सुनेँ । सुन्दा नै इनर्जी आएजस्तो लाग्थ्यो ।

पहिलो गीत कहिले गाएँ वा गुनगुनाएँ भन्ने याद छ ?
सानोमा नेपाली भाषाका गीत पनि सुन्थेँ । बुवाको सानो खालको रेडियो हुन्थ्यो । त्यो रेडियो घरबाट निकालेर घर नजिकैको अम्बाको बोटमा झुन्ड्याएर अम्बा पनि खाने र गाना सुन्ने गर्थेँ । पहिलो गीत स्वयम्भूमा मामाको घरमा जाँदा माइजु चोटामा र बाहिर खेलेर हिँड्दा मैले गुनगुनाएको थिएँ । त्यो के गाना थियो भन्ने अहिले ठ्याक्कै बिर्सियो । तर माइजूले भान्जा राम्रो गायौं भन्नुभयो ।

पहिलो रेकर्ड भएको गीतचाहिँ कुन हो त ?
कोरसमा गाएको तामाङ भाषाको पहिलो गीत ‘कोम्हेन्दो’ हो ।

आफ्नै स्वरमा ?
आफ्नै स्वरमा चाहिँ ‘छेरेङ्गाइ’ भन्नेमा गाएँ । त्यो गीतमा सामूहिक स्वर थियो भने अर्कोमा एकल स्वर छ । त्यस समयदेखि मेरो साँच्चिकै सांगीतिक यात्रा सुरु भयो । मेरा सहयात्रीहरु तुलसा वाइबा, इन्दिरा योन्जन, भक्त स्याङ्तानहरुसँग मिलेर एल्बम निकाल्दै आएँ ।

गाउँबाट काठमाडौं छिरेर गायक बन्छु भन्ने सपना थियो ? त्यसक्रममा कत्तिको संघर्ष गर्नु पर्यो‍ ?
त्यो बेला धेरै गाह्रो थियो । गाना रेकर्ड गर्ने भनेपछि पैसाकै कुरा हुन्थ्यो । कसरी पैसा जम्मा पार्ने ? भन्ने हुन्थ्यो । संघर्ष नै भन्ने हो भने धेरै गर्नुुप¥यो । सबैभन्दा ठूलो कुरा त आर्थिक नै हुन्थ्यो । स्टुडियोमा गएर एउटा गाना गाउनका लागि १ घण्टा, २ घण्टा, ३ घण्टा बस्नु पथ्र्यो । कहिलेकाहीँ त एक दिनमा पनि टेक हुँदैनथ्यो । त्यसपछि सेकेन्ड डे, थर्ड डेमा गाउनुपथ्र्यो ।

तपाईंले एल्बम निकाल्दा एनलग सिस्टम नै थियो हैन ?
एनलग क्यासेटकै समय थियो । डिजिटाइज्ड भइसकेको थिएन । एक त एरेन्ज पक्ष सबै हेर्नुपर्ने । त्यो पनि कोसँग गर्ने, कसलाई दिने भनेर खोज्नुपर्ने । अहिलेजस्तो यो मान्छेसँग गरौं, यस्तो सजिलो हुन्छ भन्ने अवस्था थिएन । ट्रयाक पनि ८, १६, २४ जस्ता थिए । बाजाहरु, बाँसुरी मिलाउनुपथ्र्यो ।

तुलसा, इन्दिरा, भक्तसहित तपाईंहरुको सहयात्रा कहिलेदेखि टुट्यो ?
छुटिने मेरो योजना त थिएन । सुरुमै पनि हामी चारजना मिलेर गर्‍यौं भने रेकर्डिङ, फाइनान्सियलदेखि सबै चिजमा सजिलो हुन्छ भन्ने सल्लाह थियो । सुरुमै छेरेङ्गाइ ग¥यौं । त्यो बेला एउटा कम्पनीसँग असाइन गर्‍यौं । राम्रै भएको थियो भन्नु पर्छ । एउटा क्यासेट बिक्री भएमा ८ रुपैयाँ हामीले पाएका थियौ । त्यो समयमा अरु तामाङ क्यासेटहरुलाई एड्भान्स पैसा दिने चलन थिएन । तर, हाम्रो छेरेङ्गाइ क्यासेटलाई चाहिँ बीएनआर क्यासेट सेन्टरले ५० हजार नगद र पुससेलका लागि ५ सय पिस क्यासेट पनि दियो । त्यसले हामीलाई एक्साइटेड बनायो । त्यो एल्बम सबै ठाउँमा राम्रोसँग चल्यो । गाउँगाउँमा सबैले सुने । त्यसले हामीलाई चिन्न पनि मद्दत गरायो । त्यसबाट हामीलाई नाम र दाम दुइटै आयो ।

त्यो एल्बमको सफलतापछि हामीले अर्को प्रोजेक्ट ‘लानीदिनी’ ग¥यौं । त्यसमा पनि गीतहरु एकदम राम्रा भए । त्यसबाट आर्थिक रुपमा पहिलो एल्बमबाट जति त आएन । तर गीतको चर्चा एकदमै चल्यो । त्यसबेला एचबीसी एफएम एकदमै चलेको । मेट्रो एफएममा पनि बज्यो । एचबीसीमा त हामीले क्वीज कार्यक्रम पनि राख्यौं । त्यसबाट क्यासेटहरु स्रोताहरुलाई बाँड्यौं ।

समय बलवान् हुँदो रहेछ । समयसँगै हामी पनि कुनै मनमुटाव बिना नै छुटिन पुग्यौं । इन्दीराजी र तुलसाजी मिलेर नेपाली भाषाको गीति एल्बम निकाल्न थाल्नुभयो । भक्तजी अर्कै क्षेत्रतिर व्यस्त हुनुभयो । म चाहिँ परदेशतिर रुमल्लिन पुगेँ ।

विदेश हिँड्नुभएको कति भो ?
वि.सं. २०६३ तिर कतारको दोहा घुम्छु भनेर पुगेको थिएँ । त्यहाँ २०६४/६५ मा स्टेज प्रोग्राम गरेँ । त्यसपछि नेपाल आएर २०७० तिर पोर्चुगल गएँ र अहिलेसम्म त्यही बसोबास भएको छ ।

तपाईं नेपालबाट विदेशको यात्रा गर्दै पोर्चुगल पुग्नुभयो । विदेश छँदा सांगीतिक यात्रा कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
नेपालमा हुँदा छिटोछिटो गीतहरु रेकर्ड गर्ने, नयाँ नयाँ गीत ल्याउने काम विदेशमा पुगेपछि कम हुँदोरहेछ । त्यो स्वाभाविकै हो । तर आपूmले निरन्तर गर्नुपर्ने रियाज, स्टेज प्रोग्रामहरु, समय समयमा सिङ्गल ट्रयाक गीत रेकर्ड गर्ने काम म विदेश नै बसे पनि गरिराखेको छु ।

झन्डै १४ वर्षको विदेश बसाइको क्रममा कति गीत निकाल्नुभयो त ?
म विदेशबाट विसं. २०६५ मा नेपाल फर्केर नेपाली भाषाको एल्बम गरेको थिएँ, ८ वटा जति गीत भएको ‘सुरुवात’ । विदेश आउजाउले केही समय सांगीतिक यात्रा रोकिएकोले त्यो एल्बमको नाम ‘सुरुवात’ राखेको हुँ ।

कत्तिको चल्यो त्यो एल्बमचाहिँ ?
मेरो एकल गायनको त्यो एल्बम पनि राम्रै चलेको थियो । लानीदिनी, छेरेङ्गाइमा सँगै काम गरेका साथीहरु छुटेपछि ‘सेम्जो’ भन्ने क्यासेट पहिले एक्लैले निकालेँ । जसको बिक्रीवितरण इन्द्रेणी क्यासेट सेन्टरले गरेको थियो । त्यो गाना पनि धेरै राम्रो चल्यो । फाइनान्सियल्ली पनि चिक्तबुझ्दो नै भयो । त्यसका गीतहरु धेरै स्रोताहरुले सुन्नुभएको रहेछ । उहाँहरुबाट ती पुराना गानाहरुलाई युट्युबमा हाल्नुपर्‍यो भन्ने सुझाव छ ।

त्यसपछि कुन एल्बम निकाल्नुभयो ?
म पोर्चुगल जानुअघि ‘द सिद्रा ट्रि’ अंग्रेजी नाम राखेर एल्बम निकालेँ । यो नै मेरो अहिलेसम्मको पछिल्लो एल्बम पनि हो । यो नाम राख्नुको पनि अर्थ छ । गल्फमा सिद्रा भन्ने एउटा बिरुवा पाइँदोरहेछ । त्यो बिरुवा पानी नपाए पनि सितिमिती नमर्ने । मैले संगीतलाई पनि त्यही कोणबाट हेरेको छु । संगीत पनि हत्तपत्ती मर्दैन । संगीत हाम्रो लाइफको एउटा पाटो हो । मरुभूमिमा सिद्रा आफ्नो जीवन बाँच्न खोजिरहेको हुन्छ भने संगीत पनि हाम्रो जीवनमा त्यस्तै हो । त्यसलाई हेरेर एल्बमको नाम द सिद्रा ट्रि राखेको हो ।

त्यसपछि एल्बम निकाल्न किन ब्रेक लाग्यो ?
संगीतको क्षेत्र पनि डिजिटाइज्ड हुन पुग्यो । एल्बमहरु बिक्री हुन छाड्यो । एउटा दुईटा राम्रा गीत निकाले स्टेज प्रोग्रामको लागि हुने । विदेशतिर तामाङ कम्युनिटी बढ्दै गएपछि प्रोग्रामहरु पनि बढ्दै गएको छ । १० वर्ष अगाडि ल्होछारको माहोल अहिलेजस्तो थिएन । अहिले जहाँ पनि क्राउड छ । त्यसैले समयानुकूल मैले तामाङ सेलो, म्हेन्दोमाया र ल्होछार विशेष गानाहरु रेकर्ड गरिराखेको पनि छु ।

पोर्चुगल गएपछि कुन कुन गीत निकाल्नुभयो ?
त्यता गएपछि ‘होई लास्सो’ निकालेँ । छायांकन पोर्चुगलमै गरेँ । त्यसपछि ‘डम्पूmमा ह्राब्सी’ । म्हेन्दोमाया गीतहरु पनि तयारीमा छन् । अबको एक÷दुई महिनाभित्र केही गानाहरु सार्वजनिक गर्ने तयारीमा छु ।

तपाईं एनलगको समयदेखि संगीतमा लाग्नुभएको, अहिले डिजिटलाइज्ड हुँदा कस्तो फरक महसुस भइरहेको छ ?
डिजिटलाइज्ड हुँदा मान्छेहरु एउटा गीत गाएर पनि गायक हुँ भनेर हिँड्ने अवस्था बनेको पाइन्छ । एनलगको बेला म गायक हुँ भन्नका लागि धेरै संघर्ष गर्नुपथ्र्यो । धेरै साधना गर्नुपथ्र्यो । अहिले पैसा भएपछि गाना गाउन, एल्बम निकाल्न, भिजुअल गर्न सजिलो भएको छ । तर साधनामा भिजेर वा संगीत के हो त भन्ने बुझेर ग¥यो भने बेटर हुन्छ, लङलास्टिङ हुन्छ । राम्रो संगीतका लागि डेडिकेसन चाहिन्छ ।

सांगीतिक यात्राबाट कत्तिको खुसी हुनुहुन्छ ?
म एकदमै खुसी छु । यदि सांगीतिक फिल्म नहिँडेको भए मलाई कुन्साङ भनेर सीमितले मात्र चिन्नेथे । अहिले मेरो गीत सुन्नु भएको स्रोताहरुले ओहो ! तपाईं कुन्साङ वाइबा भनेर एप्रिसेट गर्नुहुन्छ । धेरैबाट यसरी मेरो नाम सुन्दा म पनि एउटा सम्झिने मान्छे रहेछ भन्ने लागेर गर्व महसुस हुन्छ ।

करिब २० वर्षभन्दा बढी समयदेखि सांगीतिक दुनियाँमा संघर्ष गरिरहँदा जीवन के हो जस्तो लाग्छ ?
तामाङ भाषामा ‘ङिरेला डोन्बो’ भन्छ । यसको अर्थ हामी यो धर्तीका दुई दिनका पाहुना हौं । जीवन संघर्ष हो । संघर्ष भएन भने त्यो जीवन नै होइन । संघर्ष गरी जिउने नै जीवन हो । हामी जहाँ पुगे पनि संघर्ष त गर्नै पर्छ । जीवनमा केही पाउनु छ, केही गर्नु छ भने जे चिजलाई पनि कन्टिन्यूटी दिनुपर्छ ।

तपाईंले बटुल्नुभएको अनुभवका आधारमा संगीतमा लाग्न चाहने नयाँपुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
सुरुमा आपैंm एकदमै क्लियर र स्ट्रोङ हुनुहोस् । संगीतलाई सामान्य रुपमा नलिइकन एउटा साधना हो भनेर बुझ्नु पर्छ । यसलाई पूजा चाहिन्छ । जे चिजलाई पनि निरन्तरता दिन सक्नु पर्दछ । संगीत क्षेत्रमा राम्रा नयाँनयाँ भाइबहिनीहरु धेरै देखिएका छन् । यो खुसीको कुरा हो । तर केहीले सिक्दै नसिकी पनि लाग्ने गरेको देखेको छु । यसका लागि त निरन्तर साधना चाहिन्छ ।

अन्त्यमा, केही थप्न चहानुहुन्छ कि ?
एउटा गायकलाई सधैं सबैको साथ र सहयोग चाहिन्छ । मैले धेरै जनाको माया र हौसलाको आशा राखेको छु । गीतहरु सुनेर सधैं सल्लाह, सुझाव दिनु हुन हार्दिक अनुरोध छ ।

सम्बन्धित समाचार