कुसुमको रोजाई लोकलय

December 30, 2019

गायिका कुसुमकुमारी गुरुङले सुनमाया बोलको गीतसँगै सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन् । पूर्वसभासद् मधु गुरुङको शब्द तथा संगीत रहेको सुनमाया गीतसँगै कुसुमले करिब डेड दशकपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी हुन् । वि.सं. २०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेकी कुसुम गुरुङले यसअघि २०६२ सालमा श्रद्धा डिजिटलबाट ‘भीरमाथिको गाउँ’ नामक लोकदोहोरी एल्बम ल्याएकी थिइन् । उनीसँग गरिएको कुराकानी :

सुनमाया कस्तो गीत हो ?
सुनमायाको संगीतको कुरा गर्दा यो लोकलयमा आधारित सुगम गीत हो । यद्यपि यस गीतका शब्दले लोक फ्लेवरलाई बढी प्रश्रय दिएको छ । यो गीतका शब्दमा मेरो जन्मथलो संखुवासभाका मकालु हिमाल, अरुण नदी, सभाखोला, अरुण उपत्यकाका प्राकृतिक सुन्दरताको सुन्दर चित्रण गरिएको छ । म जहाँ जन्मे, हुर्केँ त्यही गाउँ–ठाउँको सुन्दरताको वर्णन गरिएको गीतबाट करिब डेड दशकपछि कमब्याक गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ ।

सुनमायाबाट कमब्याक गर्ने अवसर कसरी प्राप्त भयो ?
गत बैशाखमा ललितपुर नखीपोटस्थित एक आफन्तको घरमा हाम्रो सानो जमघट थियो । सो जमघटमा दिदी पूर्वसभासद् मधु गुरुङले गाउँको स्मरण र वर्णन गर्दै एउटा गीत तयार पारेको बताउनुभयो र सुनाउनु पनि भयो । पुख्र्यौली थलो संखुवासभा र मेरै आफन्त भए पनि उहाँ तराईमै जन्मनु भएको हो । एकपटक गाउँ पुग्नु हुँदा उहाँले यो गीत रचना गरेर संगीत भर्नुभएको रहेछ । गीत निकै राम्रो लाग्यो । उहाँले मलाई गीत गाउँछ्यौ त भन्नुभयो । मैले उहाँको सोधनी भूइँमा खस्न नपाउँदै म गर्छु भनेँ । गत दसैँताका गीत रेकर्ड गरेकी हुँ ।

कति वर्षपछि तपाईंको कमब्याक भएको हो ?
करिब डेड दशकपछि मैले सांगीतिक पुनरागमन गरेकी हुँ । हुन त मैले २०६५ सालको सुरुसम्म दोहोरी रेष्टुरेन्टमा गाएँ । तमू ल्होछारमा पनि सहभागिता जनाएँ । त्यस्तै २०६४ सालमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा पनि सहभागिता जनाएकी थिएँ । काठमाडौंको भृकुटीमण्डपमा भएको प्रतियोगितामा हाम्रो टिम तेस्रो भएको थियो । तर एल्बम नै ल्याएको भने २०६२ सालमा हो । त्यसपछि सुनमाया नै सोलो रेकर्डेड गीत हो ।

तपाईंको सांगीतिक यात्रा चाहिँ कहिले र कसरी सुरु भएको थियो ?
हुन त म गाउँमा छँदा नै विद्यालयमा हुने कार्यक्रमहरूमा गाउँथेँ । पहिलोपटक ठूलो मासमा गाएको चाहिँ २०५९ मा तमू ल्होछारको अवसरमा भएको दोहोरी प्रतियोगितामा हो । २०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेँ । रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा मैले आफ्नै शब्द र लय संकलनको गीत गाएकी थिएँ । त्यो गीत हाम्रो गाउँघरमा प्रायः रत्यौलीमा गाइन्थ्यो । गाउँमा केटीले मात्र गाउने भए पनि त्यसलाई दुई–दुई टुक्का राखेर दोहोरीको रूप दिएर मैले र भेषराज खड्काले गाएका थियौँ । पछि त्यही गीतलाई टीका चाम्लिङको शब्दमा दोहोरी बनाएकी थिएँ । ‘भीरमाथिको गाउँ’ एल्बमको साइड ‘बी’मा त्यो गीत समावेश गरिएको छ ।

यस बीचमा किन हराउनु भयो त ?
पारिवारिक जीवनमा बाँधिएपछि जिम्मेवारीहरू धेरै हुन्छन् । हुन त मलाई मेरा श्रीमान्ले सधैँ साथ दिनु भएको छ । उहाँलाई म संगीत राम्रैसँग बुझ्ने एक असल स्रोता मात्र होइन, मेरो सांगीतिक अभिभावक पनि मान्छु । उहाँले नै मलाई डो¥याउँदै अगाडि बढाउनु भएको हो । तर पनि घरपरिवार, नाता सम्बन्ध हुन्छ । सबैको मन राख्नु पर्ने, व्यवहार मिलाउनु पर्ने र त्योभन्दा ठूलो छोरो हुर्काउनु थियो । अहिले छोरो पनि हुर्किसकेको छ । त्यसैले म पुनरागमनको पखाईमा थिएँ । गत वर्ष गौरब गुरुङको शब्द र गणेश गुरुङको संगीत रहेको ल्होछार गीतमा पनि स्वर दिएकी थिएँ । तर धेरै जनाले गाएको उक्त गीतभित्रै म हराएकी थिएँ । अब चाहिँ मैले पुनरागमन जनाएकी नै हुँ । अब निरन्तर अगाडि बढ्ने प्रण गर्छु ।

तपाईं कस्ता गीतहरू गर्न रुचाउनु हुन्छ ?
एउटा कलाकारले जस्तो गीत पनि गाउन सक्नु पर्छ भन्ने आम भनाइ छ । तर मेरो रोजाई चाहिँ लोकलयमा आधारित गीत नै हो । मेरो स्वर पनि लोकलयकै लागि फिट छ भन्ने मलाई लाग्छ । दोहोरी रेष्टुरेन्टमा गाउँदा पूर्व, पश्चिम सबैतिरका भाका गाइन्थ्यो । साँच्चै भन्नु पर्दा लाइभ दोहोरी गाउने पूर्वका सीमित कलाकारमा म पनि एक हुँ भन्ने लाग्छ । मेरो यही पहिचानलाई कायम राख्दै छिट्टै कौडा गीत बजारमा ल्याउन लागेकी छु । गणेश गुरुङको लय र शब्दमा कौडा गीत रेकर्ड भइसकेको छ । लोकलय नै मेरो रोजाई हो ।

लिंक

सम्बन्धित समाचार