बाह्रबिसेको साँधीखोल्चामा तत्काल अस्थायी पुल निर्माण गर्न कांग्रेस सभापति लामाको माग

August 23, 2018

फुलमान तामाङ

नेपाली कांग्रेस जिल्ला सभापति विकास लामाले हालै बाह्रबिसे नगरपालिकाको साँधीखोलामा गएको पहिरोबारे सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । बुधबार पहिरोले क्षतिग्रस्त सडक र पुलको निरीक्षणपछि सभापति लामाले उक्त भनाई राखेका हुन् । भदौ ३ गते राति साँधीखोलाको पुल पहिरोले भत्काएपछि बाढी बजारमा पसेर बगरमा परिणत गरेको थियो।

पहिरोका कारण वडा ४ का घरहरु र भण्डारी गाउँ जोखिममा परेको उल्लेख गर्दै केही दिन अघि खसेको पहिरोको नगरपालिकाका मेयरलगायतले वेवास्ता गर्दा यस्तो घटना भएको दाबी गरे । लामाले भने, ‘घटना हेर्दा पूर्व तयारी गरेको भए पुलसमेत जोगिने अवस्था देखियो। अहिले पहिरोले पुल बगाउँदा पनि मेयरले केही ध्यान दिएको देखिएन,’ सभापति लामाले भने ।

स‌ंसद अग्नि सापकोटा निरीक्षणमा आएपनि उनले नगरपालिकालाई निर्देशन दिएर गएको र काम केही नभएको आरोप लगाए । ‘पहिरो जानसाथ आफूले सहयोग गर्ने राज्यका निकायलाई उद्धार तथा राहतका लागि आग्रह गरेका थियौ । मन्त्रीहरु आएर अवलोकन गर्ला भन्ने हामीलाई लागेको थियो । स्थानीय तहमा पनि ने क पाकै प्रमुख छ। देशमा पनि ने क पाकै प्रमुख। तर ने क पाको सरकारले सहयोग गरेन,’ लामाले थपे ।

बाह्रबिसेका मेयर निमफुन्जो शेर्पा पूर्व एमालेबाट निर्वाचित भएका हुन्। साँधीखोलाको पुल बगाउनुभन्दा केही दिन अगाडि नै उक्त क्षेत्रमा पहिरो शुरु भएको थियो । चीनको नाका र तातोपानी जस्तो प्रसिद्ध धार्मिक स्थल जोड्ने पूलसमेत रहेको यो पुल बगाउँदा सरकारले अझैसम्म कुनै सहयोग नगरेको उल्लेख गर्दै उनले तत्काल अस्थायी पुलको ब्यबस्था गरिनुपर्ने र पहिरो रोकथाम ब्यबस्था गरिदिन माग गरेका छन् ।

निरीक्षणमा सभापति लामासहित लीला नेपाल , बलदेव तिमल्सिना , सोनाम थिङ , गणेश सिग्देललगायतका नेताहरु पुगेका थिए ।

सम्बन्धित समाचार