Everest Times

[कविता] पालुवा र नव बर्ष

बैंशले फक्रन लागेको

पोथ्रा पोथ्रीको नयाँ मुना

अनि बैशाख एक गते

मेरो आँखामा

उस्तै उस्तै हुन्छ

सपना इन्द्रेणी बटुलेर

मुस्कुराइरहेको

जीवनको भिरालो चेपबाट

म पनि हात हल्लाइरहेछु स्वागतको

नयाँ पालुवा

नव बर्ष

रहरहरू कोपिलामा नझरोस

फक्रिओस समयलाई लोभ्याएर

म पनि उत्सवको एक थुंगा

हृदयमा सिउरन सकू टिपेर

 

बिगत पनि कसरी भुल्नु

मरूभूमि छात्तिभरि

हरियों सम्झना उमारेको

मालालु स्पर्शका डोबहरू छाडेको

हरेक बिहान उत्साहको

संजीवनी घुटका जस्तो

यादहरू पिउनु सिकेको

 

बसन्तको हरियाली रूपसँगै

नयाँ बर्षको नौलो आसामा

जीवनले बाटो भेट्टाओस

परिस्थितिको पर्खाल नाघेर

जीवन सफलताको गन्तव्य पुग्न

भीर र अप्ठ्यारो त्यो यात्राभरि

समयसँग अनुवाद भएर

जीवन ओछ्याई दिएको छु

भरोसाले तिमी जहिँ टेकेर हिँड

उज्यालै उज्यालो भेटने छौ ।

प्रतिकृया दिनुहोस्