१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकामा ग्याल्पो ल्होसारः न्युयोर्कको ज्याक्सनहाइट सडकमा मच्चियो सेब्रु


५ फाल्गुन २०७४, शनिबार  

2
Shares

आङछिरिङ शेर्पा/न्युयोर्क

न्युयोर्कमास्थित शेर्पा किदुगको गुम्बामा ल्होसारका दिन शेर्पाहरु व्यस्त देखिन्थे । गुम्बाभित्र लामा गुरुहरु बिहानदेखिनै पूजामा तल्लिन थिए भने गुम्बाको सामुन्नेको सडक सेब्रु नाच्नेहरुको कब्जामा थियो ।

न्युयोर्कको क्विन्समा शेर्पा समूदायले सडक नै कब्जा गरी आफ्नै गुम्बा अघि सेब्रु नाचेको यो पहिलोपटक हो । मौलिक पोशाकमा ठटिएका महिला र पुरुषहरु सेब्रु नाच्दै गर्दा हेर्नेहरुको पनि कमी थिएन ।

पैदलयात्रीहरु निकै रमाइलो मानेर सेब्रु नाच देखेर दंग देखिन्थे । कतिपय त नाच हेर्दै आफै नाच्न खोजिरहेका थिए । ‘यो बाटोमा यस्तो नृत्य गरेको मैले कहिल्यै पनि देखेको थिएन, निकै नयाँ र रमाइलो लाग्यो’ एस्टोरिया निवासी मरियाले भनिन् । अरु दिन भन्दा मौसमले साथ दिएकाले पनि त्यस दिन बाहिर झुम्मिएर नाच्नेहरु धेरै थिए ।

सडकमै शेर्पा समुदायले सेबु्र नाच्दै गर्दा न्युयोर्कको काउन्सील मेन डेनियल ड्रम पनि निकै खुसी मानेर हेरिरहेका थिए । ल्होसारको पहिलो दिन घरमा मनाएर गुम्बामा आउनेहरुले पनि गुम्बाबाहिर नाच्न पाउदा नौलो अनुभव गरेका छन् । उनीहरुका लागि यो वर्षको ल्होसार नयाँ र फरक अनुभुतिसहतिको भएको छ ।

‘यसरी ल्होसार मनाउनु पाए पो मजा हुन्छ त,’ सेब्रु नाच्दै गरेकी सोलुखुम्बुकी माया शेर्पाले भनिन, ‘अमेरिकामा आएको १८ वर्ष भयो तर कहिल्यै पनि यसरी सडकमा सेब्रु नाच्ने मौका पाएकी थिएन ।’ उनी आफनै गुम्बाको सामुन्नेमा नाच्न पाउदा निकै खुसी देखिन्थिन् । गुम्बामा पूजा गरेर विश्व शान्तिको कामना गरेपछि सेबू्र नाच्न पाउदा खुम्बुका आङ ङवाङ शेर्पा पनि निकै खुसी देखिन्थे । ‘ल्होसारको पहिलो दिन आफ्नै गुम्बाको अगाडी नाच्न पाउनु गौरवको कुरा हो,’ उनले खुसी प्रकट गरे ।

त्यसदिन गुम्बाको पूजा गरि सकेर इष्टमित्र र आफन्तसँग मन खुलेर गाउँदै नाच्न पाउँदा माया र ङवाङ मात्रै हैन कैयौलाई खुसी र आनन्द अनुभुती मिलेको छ । बिहानी पूजासँगै ११ बजे धर्म गुरुहरु गुम्बाबहिर निस्केर मन्त्रपाठ गरी हत्केलाका सेतो पिठोलाई आकाशमा छर्केर भगवानको जय जयकार गरेका थिए । गुम्बा सामुन्ने लाइनै उभिएका लामा गुरुहरुले विश्व शान्तिको कामना मन्त्र गर्दा सहाभागी सबैले हातको पिठो आकाशमा छर्केर ‘क्ये क्ये स्होसो ल्हागेलो’ भगवानको जयजयकार गर्दै विश्व शान्तिको कामना गरेका थिए ।

ल्होसारको पूजामा ११ बजे अगावै आइपुगेका न्युयोर्क सिटीका काउन्सीलमेन डेनिल ड्रम पनि हात जोडेर प्रार्थना गरिरहेका थिए । ‘आफनै मौलिक संस्कृतिमा आधारित पूजासँगै सबै मिलेर विश्व शान्तिको कामना गर्ने कार्यक्रममा सहाभागी हुन पाउँदा निकै खुसी लाग्यो,’ काउन्सील मेन ड्रमले भने, ‘शेर्पा समूदायले गरेको यस्तो राम्रो कार्यक्रममार्फत विश्व शान्तिको कामना गर्नमा मद्दत पुग्ने छ, खुसी लागेको छ ।’

किदुगले विगतमा ल्होसारको दिन गुम्बा दर्शन र पूजा गर्न आउनेहरुको भीड बढी हुन थालेपछि यस पटकदेखि आसपासको बाटो बन्द गर्न न्युयोर्क सिटिसँग तीन महिना अघि नै माग गरेका थिए । त्यही अनुसार सिटिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको लागि किदुगको अगाडीको एकतिरको बाटो र गुम्बा नजिकैको फोर्टिवान एभिन्युको बाटो बन्द गरेको हो ।

‘पहिलोपटक हामीले किदुग आसपासको बाटो बन्द गर्न सफल भएका छौं यसका लागि काउन्सील मेन ड्रमलाई हार्दिक धन्यवाद,’ किदुगको अध्यक्ष उर्गेन शेर्पाले भने । आसपासमा सवारी बन्द गरेकोले ल्होसारमा रमाइलो गर्ने र पूजामा सहाभागी हुनेलाई निकै सहज भएको छ । विगत वर्षहरुमा झै यसपटक पनि ल्होसारको पहिलो दिन आआफनै घरमा ल्होसार मनाएर गुम्बा पुग्ने बौद्ध धर्मवलाम्बीहरुको संख्या हजारौं थिए । यसपटक शुक्रबार चाइनिज लुनार वर्ष पनि सँगै परेकोले विद्यालय बिदा थियो । त्यसैले धेरै बालबालिका गुम्बामा भेला भए ।

गुम्बामा भेला भएका बालबालिकालाई किदुगले उपहारसमेत प्रदान गरेको छ । ‘यसरी ल्होसार मनाउनु पाउँदाको अनुभवसँगै भविष्यमा गुम्बामै ल्हाप्सु गर्न सकिन्छ की भनेर छलफल गर्न लागिरहेका छौ,’ किदुगको महासचिव तेन्डी शेर्पाले भने । किदुगले हरेक वर्ष ल्होसारको पहिलो दिन गुम्बामा पूजा गदै आएको छ भने ल्होसार शुरु भएको १५ दिनभित्र ल्हाप्सो आयोजना गर्दै आएको छ । यसपटकको ल्हाप्सो फेब्रुअरीको २५ तारिख आइतबार वाल्देनमा हुने भएको छ । ल्हाप्सुको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार  ९ : २४ बजे