१४ औं शताब्दीदेखि १९ औं शताब्दीसम्म बुद्ध जन्मस्थल लुम्बिनी ओझेलमा

June 15, 2018

आङ दावा शेर्पा

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म ईसा पूर्व ६२३ वैशाख पूर्णिमाको दिन नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनीमा भएको थियो । ईसा पूर्व २४९ मा मध्य भारतका सम्राट अशोकले आफ्नो धार्मिक तिर्थाटनको अवसरमा शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा ढुंगाको स्तम्भ निर्माण गरेर भगवान शाक्यमुनि बुद्धको जन्म यही स्थानमा भएको भनी उक्त ढुङ्गाको स्तम्भमा शिलालेख कुदिएका थिए ।

लेखक

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि आफ्नो पवित्र जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरेर आफ्नो अनुयायीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गर्नाले भावी जीवनमा लाभ प्राप्त गर्ने भन्नु भएको थियो । त्यसैले ईसापूर्व तेस्रो शताप्दी देखी चौधौ शताब्दीसम्म भगवान शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विभिन्न महानुभावहरुले तीर्थयात्रा गर्दै आएका थिए । चौधौ शताब्दीदेखि करिब पाँच सय बर्ष उन्नाईसौ शताब्दीसम्म बुद्ध जन्मस्थल लुम्बिनी ओझेलमा परेको देखिन्छ । सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मन पुरातन्वविद् डा एलोसिस फुहरर र खड्ग शमशेरले बुद्ध जन्मस्थलमा लुम्बिनीमा रहेको अशोक स्तम्भ पुन पत्ता लगाएपछि शाक्यमुनि सिद्धार्थ गौतमको पवित्र जन्मस्थल लुम्बिनीमा विश्वभर बौद्ध धर्मावलम्वीहरु एवं शान्ति प्रिय मानिसहरुले तीर्थयात्रा गर्न थालेका थिए ।

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा रहेको अशोक स्तम्भ पुन पत्ता लागेको ७१ बर्षसम्म पनि बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण, सम्बद्र्धन र विकास गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट कुनै पहल हुन सकेको थिएन । सन १९६७ को अप्रिल महिनामा संयुक्त राष्ट्र संघका तात्कालिन महासचिव उथन्तले बुद्ध जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गर्नु भएको थियो । संयुत्त राष्ट्र संघको तात्कालिन महासचिव उथन्तको लुम्बिनी तीर्थयात्रा शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लुम्बिनीको विकासको निम्ति कोशेढुङ्गा सावित भयो । सन् १९७० मा संयुक्त राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधिको अध्यक्षतामा १३ सदस्यीय लुम्बिनी विकास अन्तर्राष्ट्रिय समिति गठन गरियो ।

संयुक्त राष्ट्र संघ अन्तर्गत लुम्बिनी विकास अन्तर्राष्ट्रिय समितिमा नेपाल, अफगानिस्तान’ काम्बोडिया, भारत, इन्डोनएसिया, जापान, लाओस, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका र थाईल्यान्ड समावेश थिए । यस समितिमा पछि बंगलादेश, भुटान र दक्षिण कोरिया समेत थपेर लुम्बिनी विकास अन्तराष्ट्रिय समिति १६ सदस्य भएको थियो । सन १९७० मा नेपालमा लुम्बिनीको विकासको निम्ति लुम्बिनी विकास समिति गठन गरियो । सन् १९७२ मा लुम्बिनी विकास अन्तर्राष्ट्रिय समितिले जापानका प्रसिद्ध वास्तुकलाविद् प्रध्यापक कोन्जो टाङग्येलाई लुम्बिनी विकासको निम्ति गुरु योजना तयार गर्ने जिम्मेवारी दिइयो । प्राध्यापक कोन्जो टाङग्येले विश्वका विभिन्न देशहरुमा रहेको बौद्ध धर्मको संघ सदस्यहरुको संलग्नतामा सभा, सम्मेलन र गोष्ठीहरु संचालन गरी राय, सल्लाह र सुझावहरु संकलन गरेर तयार गरिएको लुम्बिनी विकासको गुरुयोजनालाई संयुक्त राष्ट्र संघले १९७८ मा पारित गरियो । नेपाल सरकारले पनि सन् १९७८ मा लुम्बिनी विकासको गुरुयोजनालाई स्वीकृत गरी बुद्ध जन्मस्थल लुम्बिनीको विकासको सुरुवात गरियो । सन १९८५ मा लुम्बिनी विकास कोषको ऐनलाई नेपाल सरकारले पारित गरेर लुम्बिनी कोष गठन गरियो ।

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासको निम्ति तयार गरिएको गुरुयोजना बौद्ध दर्शन शास्त्रमा आधारित छ । लुम्बिनी विकासको गुरुयोजना ११५० बिगाहा जमिन तीन बर्गमिलको क्षेत्रमा फैलिएको छ । उत्तरदेखि दक्षिणतिर फैलिएको तीन वर्गमिलको क्षेत्रहरु मध्ये उत्तरको एक बर्गमिल क्षेत्र तीर्थयात्रीहरुको आवास र साँस्कृतिक क्षेत्र रहेको छ भने वीचको एक वर्गमील क्षेत्र र दक्षिणको एक वर्गमील क्षेत्र आध्यात्मिक क्षेत्रको रुपमा विकासित गर्ने लक्ष्य राखिएको छ ।

क. नयाँ लुम्बिनी गाउँ 
उत्तरको एक वर्गमीलको क्षेत्रलाई नयाँ लुम्बिनी गाउँ भनिन्छ । यो क्षेत्र तीर्थयात्री तथा पर्यटकहरुको आवास क्षेत्र भएकाले उच्च स्तरको सुविधा युक्त होटल, मध्यमस्तरको होटल र सामान्य स्तरको होटलहरु रहने प्रावधान अनुसार संचालन हुँदै आएका छन् । यस क्षेत्रमा पुस्ताकलय, म्युजियम र बसपार्क रहेका छन् । यसका साथै यसक्षेत्रमा अस्पताल, बैक, संचारगृह र सभा गृह रहने प्राबधन रहेको छ । यस क्षेत्रलाई आवास क्षेत्रको साथै साँस्कृतिक क्षेत्रको रुपमा विकसित गराउने प्राबधान रहेको छ ।

ख. अन्तर्राष्ट्रिय गुम्बा तथा बिहार क्षेत्र
लुम्बिनी विकासको गुरु योजनाको बीचको एक वर्गमीलको क्षेत्रलाई अन्तर्राष्ट्रिय गुम्वा तथा बिहार क्षेत्र मानिन्छ । यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा लिएको छ । विश्वभरका विभिन्न देशका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले आ आफ्नो देशको कला संस्कृति झल्किने गरी गुम्बा तथा बिहार निर्माण गर्न प्रावधान अनुसार केन्द्रिय नहरको पूर्वतिर थेरबाद र केन्द्रिय नहरको पश्चिमतिर महायान बौद्धगुम्वा तथा बिहार निर्माण गर्नाको निम्ति जग्गाको चकलाहरु छुटयाएका छन् । श्रीलंका म्यानमार थाईल्यान्ड र चीन सरकारको तर्फवाट गुम्बा तथा बिहारहरु निर्माण भै सञ्चालन गर्दै आएका छन् । भियतनाम, जर्मनी, फ्रान्स, भारत, जापान, अस्ट्रिया, दक्षिण कोरीया, मंगोलिया, भुटान र नेपालले गैर सरकारी संघ संस्थाहरु मार्फत गुम्बा तथा बिहारहरु निर्माण गरी रहेका छन ।

ग. पुरातात्विक क्षेत्र
दक्षिणको एक वर्गमीलको क्षेत्रलाई पुरातात्विक क्षेत्र भनिन्छ । यस क्षेत्रलाई आध्यात्मिक क्षेत्रको रुपमा विकसित गर्ने लक्ष्यको रुपमा राखिएको छ । सिद्धार्थ गौतम बुद्धले पहिलो पटक पाईला टेकेको स्थानमा सम्राट अशोकले चिन्ह स्वरुप राखेको पवित्र शिलालाई गर्व गृह वनाई निर्माण गरिएको मायादेवी मन्दिर अशोक स्तम्भ मायादेवीले स्नान गरेको पवित्र पोखरी यस क्षेत्रमा रहेको छ । यो क्षेत्र पुरातात्विक क्षेत्र भएकाले यहा कुनै पनि भौतिक संरचना निर्माण गरिने छैन । यस क्षत्रमा पुरातात्विक उत्खनन् गरी उत्खनित पुरातात्विक अवशेषहरुलाई संरक्षण गरिने प्राबधन रहेको छ ।

बुद्ध जन्म स्थल लुम्बिनीको विकासको निम्ति कार्यन्वयन गरिएको लुम्बिनी विकासको गुरु योजना आज चालिस बर्ष विति सक्दा पनि पुरा हुन सकेको छैन । संयुक्त राष्ट्र संघको प्राविधिक सहयोगमा निर्माण गरिएको लुम्बिनी विकासको गुरुयोजना अहिले सम्म पनि पुरा हुन नसक्नु दुईवटा प्रमुख कारणहरु देखिएका छन् । प्रथम कारण लुम्बिनी विकासको कार्यन्वयन गर्ने जिम्मेवार संस्था लुम्बिनी विकास कोषका पदाधिकारीहरु बौद्ध धर्मावलम्वीहरु नियुक्त नगरेर गैर बौद्ध धर्मवलम्विहरुलाई नियुक्त गर्नु र सरकार परिवर्तन संगै राजनैतिक नियुक्तिको आधारमा लुम्बिनी विकासका कोषका पदाधिकारीहरुलाई तोकिएको अवधि अगावै हटाउने गरेकाले लुम्बिनी विकास कोष स्थायी हुन सकेन । दोस्रो संयुक्त राष्ट्र संघ अन्तरगत रहेको लुम्बिनी विकास अन्तराष्ट्रिय विकास समिति गुरुयोजना कार्यन्वयन भएको केही बर्ष पछि सकृय हुन सकेको छैन । लुम्बिनी विकास गुरुयोजना कार्यन्वयनमा संयुक्त राष्ट्र संघको अनुगमनमा देखिएको निस्कृयताले पनि लुम्बिनी विकासको गुरुयोजना पुरा हुन नसकेको देखिन्छ ।

संयुक्त राष्ट्र संघ अन्तरगत रहेको लुम्बिनी विकास अन्तराष्ट्रिय समितिलाई पुन सकृय गराएर बुद्धको पिता राजा शुद्धोधनको प्राचिन कपिल वस्तुको राजदरबार जहा सिद्धार्थ गौतमले २९ बर्ष सम्म बिताएको तिलौराकोट, बुद्ध जन्म स्थल लुम्बिनी र बुद्धमाता मायादेवीको माईती रामग्राम क्षेत्रलाई समेत समेटेर बृहत्तर लुम्बिनी विकासको पहल गर्नु पर्दछ । बुद्ध जन्म स्थल लुम्बिनीलाई विश्वभरका बौद्ध धर्मवलम्वी तथा शान्तिप्रिय मानिसहरुको धार्मिक तिर्थ स्थलको गन्तब्यको रुपमा विकास गरियो भने नेपालको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पर्दछ ।

क्रमश:

सम्बन्धित समाचार