आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

January 26, 2020

काठमाडौँ — विभिन्न किसिममा अलौकिक वस्तुहरु आफूसँग रहेको बताउँदै त्यसलाई देखाउने र बेच्ने बहानामा खरिदकर्तालाई एकान्तमा लगेर लुट्ने गिरोहका ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महाशाखाका एसपी मुकेशकुमार सिंहका अनुसार उनीहरुले आफ्नो साथमा बल्ने ढुंगा, वनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख लगायतका वस्तुहरु आफूसँग छ भनि खरिदकर्तालाई एकान्तमा लगेर लुट्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । उक्त समूहले काठमाडौं भगवान पाउ बस्ने ६३ वर्षका बच्चुराम गुरुङलाई आफूसँग बल्ने ढुंगा रहेको भनेर काभ्रेस्थली लगेर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेर फरार भएका थिए ।

सोही लुटपाटको अनुसन्धानको क्रममा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमारबहादुर बुढाथोकी, तेन्जिङबहादुर तामाङ र संजित वाईवा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले कुल १८ लाख ७५ हजार नगद तथा लुटपाटका रकमबाट खरिद गरिएको मोटरसाइकल लगायतका सामान पनि बरामद गरेको छ ।

सम्बन्धित समाचार