ओली अमेरिकामा, प्रचण्ड सिंगापुरमा, माधव नेपालले गरे सरकारको आलोचना

September 27, 2018

काठमाडौँ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि सिंगापुर पुगेका छन् ।

यही मौकामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता माधव नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन् ।

सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महिनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताए ।

उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताए ।

चालू दोस्रो अधिवेशनको ७९औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताए ।

संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको उहाँको गुनासो थियो । उहाँले केही विकास विरोधीले विमानस्थल, जलविद्युत् परियोजना र सडक निर्माण गर्न अवरोध पु¥याएको आरोप लगाए ।

सरकारले अहिलेको काम कारबाहीको समीक्षा गर्नु पर्ने बताउँदै नेपालले गृह प्रशासन निरीह भएको बताए । बलात्कार, हत्याको घटना बढ्दै गएको भन्दै सरकारले रोक्न नसकेको भन्दै आलोचना गरेका थिए ।

‘मैले एउटा भिडियो देखे, खुलेआम देश टुक्राउने कुरा हुँदैछ। देश टुक्राउनेलाई जोगाइँदै छ,’ नेपालले भने।

नेपाली महिलालाई विदेशी सेनामा पठाउन नहुने बताउँदै नेता नेपालले भने,‘अहिले विदेशी सेनामा नेपाली महिला पठाउने कुरा हुँदैछ। भोलि भारतीय सेनामा पर्सि अरुदेशको सेनामा माग गरिएला। यसले हाम्रो देशको शिर निहुरिनेछ। यसलाई तत्काल रोक्नु पर्छ।’

दारी खौरे जसरी रुख नखौरीन आग्रह गर्दै नेता नेपालले आवश्यक जति मात्र रुख कटानी गरी निजगढ विमानस्थल बनाउनु पर्ने बताए। राजदूत नियुक्ति र संवैधानिक नियुक्तहरू तत्कालै गरिनु पर्ने धारणा नेपालले राखे ।

सम्बन्धित समाचार