महिलामाथिको दुर्व्यवहार अन्त्य कहिले ?

May 18, 2017

गत पुस १ गते रामसिता बिवाह पञ्चमीको अवसरमा महिला राष्ट्रपतिमाथि हुन गएको आक्रामक घटना र त्यसपछि लगातार राष्ट्रपतिमाथि भएका अमानवीय ब्यवाहारले आज संसारभरकै एकल महिलाहरुको शिर निहुरिएको छ । पुरुष प्रधान समाजमा हुँदै आएका शोषण, दमन, मानसिक यातना र विधवामाथी हुँदै आएका ब्यभिचार र चरम अत्याचारका नमुनाहरु आज एक्काईसौं शताब्दीको संघारमा आँउदापनि ज्युँ का त्युँ छन् । महिलामाथि भएका दुब्र्यवाहार को यो एउटा सामान्य उदाहरण मात्र हो ।
पति गुमाएका महिलाहरु वा सम्वन्धबिच्छेदको कारण एकल जीवन बिताउन बाध्य भएका महिलामाथि हुने अपहेलना शोषणदमन थिचोमिचोको गणना गर्न र हिसाब किताब गर्न यो पंक्तिकार समर्थ छैन । सशस्त्र द्वन्द्वको दौरानमा श्रीमान गुमाएको पीडाको शोकले आँखाबाट अविरल बर्सेका आँसुहरुसमेत सुक्न नपाँउदै भोको पेट पटुकीको भरमा कैयौं दिन खाई नखाई लालाबाला हुर्काएकी रोल्पाकी २४ बर्षे गरीब एकल महिला माईली पुन हुन् या सम्बन्ध बिच्छेदको कारण श्रीमानबाट अलग भएर एक छोरासहित एकल जीवन बिताउन बाध्य भएकी काठमाडौंकी ३५ वर्षीया शर्मिला पहाडी हुन्, विवाह गरेको बर्षदिनमै दूर्घटनामा परेर पति गुमाएकी लमजुङकी २८ बर्षीय माया पराजुली हुन् या बालककालमा विवाह गरेर बेपत्ता भएका आफ्ना पतिको पर्खाईमा ५२ बर्षसम्म सिँउदोभरी अभिशप्त सिन्दूर लगाएर पूजा कोठामा श्रीमानको दीर्घायुको लागि संधै एक जोर बत्ती बालेर पतिको को पर्खाईमा दिनरात आँखा बिच्छ्याउने कास्कीकी एकल महिला खेमकुमारी बराल हुन्, ७ बर्षको उमेरमा ३५ बर्षको केटालाई विवाह गरिदिएर लाँउलाँउ र खाँउखाँउकोे उमेरमा नै विधवा भएर निरस र दर्दनाक एकल जीवन बिताउन विवश चितवनकी यशोदा अधिकारी हुन् ।
सबैको ब्यथा कथा आखिर उस्तै छ । यस पितृसत्तात्मक परिवारले एकल महिलामाथि गर्ने थिचोमिचो, तिरस्कार अपहेलनाबाट कोही अछुत छैनन् । नारीपुरुष समान भन्ने कथित नाराहरु एवं संसदमा ३३% महिला आरक्षणको सुविधा, हजारौं मानव अधिकारकर्मी एवं महिला अधिकारकर्मीहरु जन्माईसकेको नेपालले विज्ञान र प्रविधिको युगसम्म आईपुग्दासम्म स्थानिय स्तरबाट पटकपटक घरेलु हिंसा, बलात्कार र महिलामाथि भेदभाव देखापर्नु नेपालमात्रका लागि नभएर पिवश्वभरकै लागि लज्जास्पद कुरा हो । ओझेलमा परेका कैयौं यस्ता दर्दनाक घटनाहरु छन् जुन बाहिर आउन सकेका छैनन् ।
विधवा महिला देख्नासाथ नाक मुख खुम्च्याउने, दोस्रो दर्जाको नागरिक सरह हेयको ब्यवाहार गर्ने बिकृत मानसिकताका उपजहरु यिनै पितृसत्ताको आडमा बुर्कुसी मारी नारीहरुलाई दबाउन हरतरहबाट लागि पर्दछन् । यहाँसम्म कि विधवा महिलाहरु देख्यो भने साईत पर्दैन, मन्दिरमा विधवाले चढाएको चढ्दैन, शुभ कार्यमा विधवाहरु देखिनुहुन्न आदि ईत्यादी घृणित बाहानाहरु पुरुषपात्रहरु आँफै बनाँउछन् । यसमा केहि महिलाहरुको पनि भुमिका हुन्छ । जसमध्ये अनपढ गँवार महिलाहरु र केही हदसम्म पढेलेखेका महिलाहरुपनि पुरुषहरुको सिको गरेर आफु कथित सौभाग्यवती यानी कि श्रीमानको सुखभोग गरेकी महिला ले श्रीमान नभएका एकल महिलाहरुमाथी गरेका अभद्र व्यवाहारहरु यो पंक्तिकारले प्रत्यक्ष देखेको छु । तसर्थ पुरुष पात्रबाट मात्र महिलाहरु शोषित छैनन् महिलाहरुबाट पनि शोषित छन् । जवान हुँदा कर्मचण्डाल,अलक्षिनी, बाँझी, अपुत्री, राँडी, र बुढी भएपछि एकल महिलाले पाउने उपाधी बोक्सी, डंकिनी नै हुन् । यी बाहेक अरु शब्दले सम्बोधन गरेका शायद कमै उदाहरणहरु होलान् । बिडम्वना ! श्रीमानको कालगति या दुर्घटनाले देहावसान हुन्छ तर त्यसको दोष सित्तैमा श्रीमतीलाई जान्छ । उनलाई पोई टोकुवोई, राँडी आदिजस्ता उपनामहरुले बिभुषित गरिन्छ । पुरुषपात्रमा यो फर्मुला लागु हुँदैन । श्रीमती सन्तान जन्माउन नसकेर मृत्य भएको होस् वा,क्यान्सरले थलिएर मरेको होस् या कालगतीले मरेको होस् श्रीमती मरेको ४५ दिन नपुग्दै अर्को श्रीमती भित्र्याँउदा बधाई दिने, स्वागत गर्ने यस स्वार्थी समाजले महिलाले श्रीमान गुमाउँदा तिमीले पनि जीवनसाथी रोज्न पाउनुपर्छ अर्थात पुनविर्वाह गर्न पाउनुपर्छ भनेर कदापी भन्दैन । सामाजिक काममासमेत एकल महिलाको पहुँच न्युन हुने सन्दर्भमा कुनै सरकारी कार्यालयमा जाँदा समेत एकल महिला भनेर हेयको दृष्टिले हेर्ने होच्याउने गरेका कैयौं उदाहरणहरु यस समाजमा छ्याप्छ्याप्ती भेटिन्छन् ।
राष्ट्रपतिमाथि भएको दुव्र्यवाहारसँगै तमाम एकल महिला नारीमाथी हुँदै आएका दुव्र्यवाहारले नारी शक्तिलाई देवी मानी पुजिने पूर्विय सभ्यता ‘मिथीलाकी बिदूषी गार्गी’ प्रति गौरवान्वित हामी सबैको शिर यतिबेला निहुरिएको छ । जसको वावजुद कथित मुठ्ठीभर तत्वहरुले ‘मधेसी मोर्चाको’ बुई चढेर राज्यले पाएको महत्वपूर्ण उपलब्धी महिला राष्ट्रपतिको अपमान गरी राष्ट्रपतिको गौरबमाथि नै प्रश्नचिन्ह लगाउने धृष्टता गरे । पदीय मर्यादाको समेत ख्याल नगरी भएका अभद्र ब्यवाहार र आपत्तीजनक अभिब्यक्ती एवं कृयाकलापले मधेसी मोर्चाको नाङ्गो नाच सबै सामु उदागिंईसकेको छ । जसको अर्थ प्रष्ट छ कि समाजमा यस्ता मुठ्ठिभर तत्वहरु सलबलाईरहेका छन् जो अझैपनि महिला नेतृत्व स्विकार्न तयार छैनन् । महिलामाथि गरेको अमानवीय ब्यवहारलाई मध्यनजर गर्दै उक्त पार्टीलाई तत्काल कारवाही गर्ने गराउने र सम्वन्धित निकायले घटनाको छानविन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिईनु उपयुक्त हुन्छ । जसबाट त्यस्ता बिकृत मानसिकता बोकेकाहरुले भुलेर पनि अर्को अपराध गर्न सयपल्ट सोच्नु परोस् ।
एकल महिला हुनु अपराध कसरी भयो ? एकल महिला हुँदा नै मन्दिरमा पूजा गर्न अयोग्य हुने मापदण्ड हो भने यस अघिका राष्ट्रपतिहरु कसरी योग्य भए ? यो एक्काईसौं शताब्दीको सभ्य, समाजका नागरिक भनेर गर्व गर्ने हामी सबैका लागि संकिर्ण र लज्जास्पद कुरा हो । महिला अधिकार वा अधिकारसँग सरोकार राख्ने अधिकारकर्मीलाई यो प्रश्न, उनीहरुले सोच्नुपर्ने हो कि राष्ट्रपतिजस्तो गरिमामय पदमा आसिन भएकी महिलाको त यो अवस्था छ भने दुर दराजमा छरिएर रहेका विधवाहरुको अवस्था कस्तो होला ? यसबारेमा उहाँहरुको ध्यान जान्छ कि जाँदैन ? एकल महिलाहरुको दर्दनाक र अन्तहिन दुखान्त कहिलेसम्म ? कति दिन महिलाहरु कथित पितृसत्ताको अन्याय, अत्याचार, भेदभाव सहेर बाँच्ने ? महिलाहरुको हितमा बनेका नियम ऐन कानुन र नजीरहरु खोई ? कथित महिला आयोगहरु खोई ? नारी हकहितका वकालत गर्ने महिला मानव अधिकारकर्मीहरु कुन संसारमा भुमिगत भएर निदाईरहेका छन् ? कथित महिला आयोगले पीडित महिलाहरुका मुद्दामा सक्रियतापूर्वक काम गरेको खोई ?
समाज विकासको सूचक भनेको सकारात्मक सोचको विकास पनि हो । सामाजिक सञ्जाल, पत्रपत्रिका, मोबाईल, कम्युटरजस्ता सूचना प्रविधीका साधन प्रयोग गर्दैमा त्यो मानिस विकसित भन्न सकिंदैन । बिचार विकसित हुनु जरुरी छ । जो मानिस आफुले पाएको सुबिधाको दुरुपयोग गरी नकारात्मक बिचार र ब्यक्तिको चरित्रहत्या गर्नमामात्र त्यसलाई लगाँउछ भने त्यो ब्यक्ती सभ्य नभई बिकृत मानसिकताको उपज हो । शान्ति र अमनचयनमा खलल पु¥याउने यी बिकृतीहरुलाई चारैतिरबाट बहिष्कार गर्न जरुरी छ । विधवालाई रंगिचंगी बस्त्र लगाउन र पोषणयुक्त खानेकुरा खानदिंदा उसको बैंस उर्लिन्छ र मात्तिएर ‘पोईला जान्छे’ भनेर उनिहरुलाई यी सबै चिजहरुबाट बन्चित गरी निरस, उदास र शुन्य जीवन बाँच्न बाध्य गराउने कुरिती र कुसंस्कारले ग्रसित केहि मुठ्ठिभर ब्यक्तीहरुबाट बिधवालाई गरिमामय पदसम्म पुगेको सजिलै ग्रहण गर्न अझै कति समय लाग्ला ? देशमा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन कहिले आउला ?
कलिलो उमेरमा पति गुमाएर प्रत्येक क्षण गाँउ, टोल, परिवार र समाजका हजारौं लान्छना, दुब्र्यवाहार, लैंगिक बिभेद, तिरस्कार, हिंसा सहदासम्म रत्तिभर नडगमगाई पहाडजस्तो अटल रहेर गृहस्थिको कठिन यात्रा, कुनै सहयात्रीको कल्पनासम्म नगरी एक्लै जीवनका उकाली ओरालीहरु पार गरेर आफ्ना सन्तान हुर्काउने बढाउने अनि सुनौलो भविष्य दिने नेपालका महिलाहरु साँच्चे नै मन्दिरमा प्रवेश निषेध गर्न लायक छन् या पुजिन लायक छन् ? पुरुषहरुले राम्रोसँग बुझ्न जरुरी छ कि उनलाई जन्माउने पनि नारी नै हुन् । संस्कृतमा एउटा श्लोक छ ,
यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता
यत्र नार्यस्तु नपुज्यन्ते सर्बथा त्रफला क्रिया
जसको अर्थ जहाँ नारीहरुको पूजा हन्छ त्यहाँ देवताहरु रमाउँछन् । जहाँ नारीहरुको अपमान हुन्छ त्यहाँ कुनै काम गर्छ भनेपनि असफल हुन्छ ।बेदले पनि नारीशक्ती को पूजा गर्नु भनेको अवस्थामा नारीहरु बिटुला कसरी भए ? नारी धर्ती हुन्, माता हुन्, जननी हुन् आदिशक्ती हन् । तसर्थ नारी बिना यस संसारको सृष्टि सम्भव छैन । नारी बिनाको संसार निरर्थक छ । नारीमाथी अत्याचार गर्ने, दुब्र्यवहार गर्ने व्यक्तिहरु वास्तवमा मानिस भन्न पनि लायक छैनन् । त्यस्तालाई त पशुको दर्जामा राख्दा अत्युक्ती नहोला ।

सम्बन्धित समाचार