मनाङका उम्मेदवार मतदाता रिझाउन काठमाडौंमा

November 7, 2017

मनाङ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन् ।
मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौंमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवार काठमाडौंमा प्रचार गर्न गएका हुन् ।

काठमाडौंमा बसोबास गर्ने मनाङीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौं पसेका हुन् । विशेष गरेर माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौं बसोबास गर्दै आएका छन् ।  काठमाडौंवासी मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौं पुगेका हुन् । मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई ठूला दल काँगे्रस र एमालेका उम्मेदवार मतदाताको घरदैलोमा मत मागिरहेका छन् ।

काँगे्रसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश ‘क’ का चिन्तबहादुर घले र प्रदेश ‘ख’ का कर्म गुरुङलगायतका प्रचार टोली अहिले काठमाडौंमा प्रचारप्रसारमा खटिरहेको नेका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए ।  त्यस्तै, एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश ‘क’ का धोर्जे ढिन्दुल गुरुङलगायतका प्रचारप्रसार टोली भने प्रचारप्रसार सकी मनाङ फर्किएको एमाले पार्टी स्रोतले जनाएको छ ।

मनाङका आधाभन्दा बढी मतदाता काठमाडौँैमा बसोबास गर्ने भएकाले उम्मेदवार मतदाताको मन जित्न काठमाडौँ गएका हुन् । रासस

सम्बन्धित समाचार