दोस्रो पाँचपोखरी हाफ म्यारथन भदौ १० मा हुँदै

August 10, 2018

काठमाडौं: सिन्धुपाल्चोकको पाँचपोखरी थाङपलधाप गाउँपालिकामा यसपटक पनि दौड प्रतियोगता हुने भएको छ ।

भदौ १० गते दोस्रो हाफ म्यारथन हुन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो । ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर दौड हुने आयोजकले जनाएको छ ।

नाम दर्ताका लागि सो गाउँपालिकाका सबै वडा, क्षेत्रपालेश्वरी माध्यमिक विद्यालय तिपेनी, मेलम्ची क्याफे इन मेलम्ची बजार, जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोक र गाउँपालिकाको फेसबुक पेजमा गएर फारम भर्न सकिनेछ । प्रतियोगितामा पहिलोलाई ५० हजार दोस्रोलाई ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्ने सगरमाथा आरोही एवं कार्यक्रम संयोजक कान्छीमाया तामाङले जानकारी दिइन् ।

कार्यक्रममार्फत पाँचपोखरी, आमायाङ्ग्री, ड्रायागन गुफा, अबेली, रैथानेश्वरी, च्याङ्बोडाँडा लगायतका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा प्रचारप्रसार गर्नु रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

पहिलोपटक गत वर्ष साउन २३ गते पाँचपोखरी मेलाको अवसर पारी पवित्र तीर्थस्थल पाँचपोखरीमा आयोजना गरिएको २४ किलोमिटरको ट्रेल दौड सुमन कुलुङले २ घन्टा १७ मिनेटमा पुरा गरेका थिए । समुन्द्री सतहबाट ४१०० मिटरको उचाई पाँचपोखरीबाट ओरालो बाटो हुदैं थाङपालको रैथाने आइपुगी टुंगिन्छ ।

यस्तो देखिएको थियो पहिलो पाँचपोखरी ट्रेल रेस

सम्बन्धित समाचार