सानैदेखि साहसी रहेछु–मीरा राई, अल्ट्रा धाविका

May 18, 2017

नेसनल जियोग्राफीको ‘एड्भन्चर्स अफ दि एअर’ अवार्डको मनोनयनमा परेकी अल्ट्रा धाविक मीरा राई निकै जोशिएकी छन् । अवार्ड लगभग मीराकै हुने पक्का भइसकेको अवस्था छ । नेसनल जियोग्राफीले यस अवार्डमा मनोनयनमा परेपछि उनको दैनिकी पहिलेभन्दा फरक भएको छ । दौडको क्रममा खुट्टामा चोट पुगेर आराम गरिरहेकी उनी केही दिन अघि जितका लागि खटेका नेपालीहरुसँग भेट्न भ्याइनभ्याई थियो ।
खुट्टामा चोट पुगेपनि उनी दौडमा रुचि भएका दिदीबहिनीलाई सिकाउने काममा व्यस्त छिन् । १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेसनल जियोग्राफीले मीरासँगै अन्य नौ जनालाई सूचीमा राखेको थियो । भोजपुरको सानोदुम्मामा जन्मिएकी २७ बर्षीय मीराले आफुलाई सानैदेखि साहसी रहेको बताउँछिन् । आफ्नो प्रकृति अनुसारको अवार्डमा मनोनयनमा परेकाले पनि उनी निकै खुसी छिन् ।
नेपालमै जन्मेर आफु विश्वमाझ चिनिएको र नेपालीकै भोटले यस वर्षको साहासिक व्यक्ति बन्नेमा उनी ढुक्क छिन् । उनै अल्ट्रा धावक मीरा राईसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंलाई अल्ट्रा धाविक भनेर सम्बोधन गरिन्छ, खास अल्ट्रा भनेको के हो ?
लामो दुरीको दौडलाई ट्रेल रन वा अल्ट्रा रन भनिन्छ । अहिलेसम्म मैले ११० किलोमिटरको दौड पुरा गरेकी छु । लामो दुरीमा उकालोओरालो, उखटबखट बाटो पर्छ । यस्तो दौड निकै मुश्किल खालको खेल हो । यही दौडमा सामेल भएकीले मलाई अल्ट्रा धाविक भनिएको हो ।

तपाईंलाई यस खेलले कसरी आकार्षित ग¥यो ?
म बलाजुमा गुरु धुब्रविक्रम मल्लकोमा कराते सिक्न जान्थे । कराते खेलमा म लोसे भएको र दौडमा राम्रो रहेको भन्दै गुरुले दौडमा सहभागी हुन प्रोत्साहित गर्नुभयो । त्यसपछि काठमाडौंमै ५० किलोमिटर अल्ट्रा दौडमा सहभागी हुने मौका पाएँ । त्यसपछि मनास्लु माउन्टेन रेसमा सहभागी भएँ । यसमा पनि जितेपछि यस खेलका आयोजक निर्देशक रिचर्ड बलले मलाई आजसम्म सहयोग गर्दै आउनुभएको छ । उहाँ बेलायतको हुनुहुन्छ । उहाँकै सहयोग पाएर अहिलेसम्म हङकङ, अस्ट्रेलिया, इटाली, नर्वे, फ्रान्स, स्पेनलगायत १२ देशमा यस्तै खेलमा सहभागी हुने मौका पाएँ । एसियान च्याम्पियन बनें । स्पेनमा १,१० किलोमिटरमा दोस्रो भएँ । फ्रान्समा ८० किलोमिटर दौडमा पहिलो भए र विश्व च्याम्पियन बनें ।
तपाईं यसै साहसी हुनुहुदों रहेछ, एड्भन्चर्स अफ दि एअरको मनोनयनसम्म चाहि कसरी पुग्नुभयो ?
यसको लागि आवेदन खुलेको रहेछ । रिचर्ड बलकै सहयोगले यहाँसम्म पुगियो । उहाँले मेरो कथा छान्नुभयो र यस मनोनयनमा परे । विश्वका साहसिक व्यक्तिको अन्तिम सूचीमा पर्दा निकै खुसी लागेको छ । मैले जुन प्रयास गरें, त्यसको मुल्याङ्कन भएको जस्तो लागेको छ । आज एक चेली यस्तो सूचीमा पर्दा सम्पूर्ण नेपालीले हरेक दिन भोट दिएको देखेर मलाई अझै हौसला मिलेको छ । आशा छ आउँदो जनवरीमा यो अवार्डसहित सम्पूर्ण नेपालीको शिर उचो बनाउन पाउनेछु ।
अल्ट्रा दौड नेपाली पहाडीमार्गमैत्री रहेछ, आफ्नो गाउँमा घरखेत, घाँसपात गर्दाका बेला कतिको दौडनुहुन्थ्यो ?
भोजपुर दुर्गम जिल्ला हो । त्यसमा पनि हाम्रो गाउँ सानोदुम्मा त्यसै दुर्गममा परिहाल्यो । म स्कुल जाँदा होस या खेतबारी पुग्दा छोरामान्छे सँगसँगै दौडेर पुग्थें । यसले पनि यो दौडमा सहभागी हुन सजिलो गरायो ।

जनयुद्धमा पनि सेना बन्नुभएछ, प्राय महिलाहरु सांस्कृतिक विभागमा बढी सक्रिया हुने र यस्तै जिम्मेवारी दिइने गरिन्छ, तपाईंलाई त्यतातिर ध्यान गएन ?
मलाई सानै देखि दौडने, लडाकु बन्ने रहर थियो । जनयुद्धमा जनताको सेना बन्ने मौका आइप¥यो । मलाई त्यो अवसर छाड्न मन लागेन । त्यसैले म युद्धमा बन्दुक बोकेर पूर्वदेखि पश्चिमसम्म पुगें । तर, शान्तिप्रक्रियामा आइपुगेपछि भने मलाई अयोग्य भनियो । परिवारलाई सुखसँग पाल्छु भनेर सेना बनेको मेरो मन मरेर आयो । तैपनि आफुमा भएको साहसी प्रकृतिले मलाई छाडेन । म पैसा कमाउन मलेसिया जान तयार भएकी थिएँ । तर, गुरुहरुले मलाई रोक्नुभयो र आफ्नो साहसको प्रयोग नेपालमै भयो ।
भोजपुरमा पनि लाहुरे संस्कृति छ, आफ्नो छोरीलाई लाहुरे खोजेर अन्माइदिने चलन छ, तपाईंका बाआमाले यस्तो कुरामा कर गर्नुभएन ?
हामीतिर त्यति लाहुरे पनि छैनन् । त्यसमा पनि म माओवादीमा गएकीलाई कुन लाहुरेले मन पराउँछन् होला र ? यसो भन्दैमा मेरो बाआमा लाहुरेको खोजीमा कहिल्यै निस्कनुभएन । उहाँहरु छोरीकै निर्णयलाई स्विकृति दिनुहुन्थ्यो । गाउँमा म एक्लै माओवादीमा लाग्दा पनि उहाँहरुले छेक्नुभएन । अहिले दौडका लागि काठमाडौंमा आएर बस्दा पनि खुसी हुनुहुन्छ ।

सम्बन्धित समाचार