मोदीको चुनावी हत्कण्डा कश्मीर

March 21, 2019

बीके नेवा

भारतमा सन् २०१४ मा अत्यधिक बहुमतसहित सत्तामा आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पकड भारतीय राजनीतिमा बलियो भएको छ । तर पाकिस्तानमाथिको पछिल्लो कारबाही र पाकिस्तानले गरेको जवाफी कारबाहीमा भारतीय लडाकु विमान खसालिदिनु साथै विमान चालकलाई पक्राउ गर्नुले मोदीका लागि ठूलो झट्का भयो । यस अवधिमा पाकिस्तानी प्रधानमन्त्री खानले तनाव कम गर्न वार्ता गर्ने प्रस्ताव गरी भारतीय विमान चालकलाई रिहा गर्नुले उहाँले धैर्यवान् छवि बनाउन सफल हुनुभयो । उहाँकै कारण सम्भावित युद्ध रोकियो । उहाँलेवार्तामार्फत् पाकिस्तानले समस्याको समाधान गर्न चाहेको सन्देश दिनुभयो । भारतीय विमान चालकलाई फिर्ता पठाइदिने प्रम खानको घोषणाले धेरैलाई आश्चर्यमा पार्यो ।

लेखक

यता भारतीय मिडियाको एउटा ठूलो समूहले चालक अभिनन्दनको रिहाइलाई मोदीको जितको रूपमा प्रस्तुत गर्यो । यद्यपि पाकिस्तानले यसपटक भारतसँग टक्कर लिनसक्ने आफ्नो क्षमता प्रदर्शन गर्यो । दशकौँदेखि उपेक्षा र कम बजेटका कारण भारतीय सेनाको स्थिति सोचेजस्तो बलियो छैन । यो अवस्थामा मोदीले पाकिस्तानमाथि कुनै ठूलो कारबाही गराउन गाह्रो हुने सम्बद्ध विज्ञ बताउँछन् । अर्कोतर्फ भारतीय लडाकु विमानहरूले बालाकोटमा बम खसालेको ठाउँमा कति विद्रोही लडाकु मारिए भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन । भारतले आधिकारिक रूपमा सो कारबाहीमा कतिजना मारिए भन्ने बारेमा केही आएको छैन।

भारत र चीनजस्ता आर्थिक रुपमा उदयीमान शक्ति राष्ट्रका कारण पनि पछिल्ला वर्षहरुमा यस क्षेत्रको महत्व बढिरहेको छ। यो क्षेत्रको महत्व बढ्दै गएका कारण पश्चिमा मुलुकले समेत यतातिर आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्। भारत आसन्न लोकसभा निर्वाचनको तयारीमा छ । यो बेला जम्मु कश्मीरमा भएको आक्रमणको दोष भारतले पाकिस्तानमा आश्रय लिइरहेका आतङ्ककारी सङ्गठनलाई लगाएको छ । त्यसलगत्तै भारतले फेबु्रअरी २६ मा पाकिस्तानतर्फ रहेका बालाकोटमा हवाइ आक्रमण गरी तीन सयभन्दा बढी आतङ्ककारी मारिएको दाबी गर्यो । पाकिस्तानले भने त्यस्तो कुनै हताहती नभएको र भारतले जङ्गल क्षेत्रमा बम खसाएको जनायो । दुई देशबीचको आरोप÷प्रत्यारोपकै बीच फेबु्रअरी २७ मा बिहान पाकिस्तानले भारतीय वायु सेनाका एउटा विमान खसालेको दाबी गर्यो। भारतीय वायु सेनाका एकजना पाइलटलाई नियन्त्रण लियो र भारतलाई फिर्ता गर्यो । यस घटनाले पाकिस्तान आत्मरक्षा गर्न सक्षम रहेको तर युद्ध नचाहेको भन्ने सन्देश दियो ।

वास्तावमा भारत र पाकिस्तानबीच सन् १९४७ मा विभाजनदेखि नै एकअर्काबीच तिक्ततापूर्ण सम्बन्ध छ । यसबीच यी दुईले आपसमा तीन ठूला युद्धसमेत गरिसकेका छन । अहिले फेरि अर्को युद्ध भड्किने स्थिति देखेपछि अन्तर्राष्ट्रिय समुदायले समेत शान्ति स्थापनार्थ आवाज उठाइरहेको छ। कुनै बेला पाकिस्तानसँग निकट रहेको अमेरिका यतिबेला भारत निकट छ। चीन, रुस आदि मुलुक पाकिस्तानको पक्षमा छन् । तथापि यी सबै मुलुकले दुवै मुलुकलाई शान्तिपूर्ण समाधानकै निम्ति आग्रह गरिरहेका छन् । भारत र पाकिस्तान दुवै मुलुकका सत्तापक्षमाथि युद्धको दबाब छ । आसन्न निर्वाचनसम्म भारतीय प्रधानमन्त्री मोदीमाथि जति ठूलो दबाब छ, त्यति नै पाकिस्तानी प्रधानमन्त्री खानमाथि त्यहाँको सेनाको पनि छ । राजनीतिक लाभका निम्ति युद्धको धमास दिन जति सजिलो छ, त्यति नै त्यसले ल्याउने संकटको सामना गर्नु कठिन छ । युद्ध सुरु भइसकेपछि रोकिन सजिलो छैन । त्यसैले कुनै वहानामा युद्धको बाटोमा जानु हुँदैन, शान्तिपूर्ण बाटोबाटै दुबैले समस्याको समाधान खोज्नुपर्छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बनेका हुन् । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

भारत र पाकिस्तान स्वतन्त्र भएको दुई महिना सन् १९४७ को अक्टोबरमा कश्मीरलाई लिएर युद्धमा होमिए । सन् १९६५को अगस्तमा कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध भयो । सन् १९७१ को डिसेम्बरमा भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बङ्गलादेश) मा अतिक्रमण ग¥यो । इस्लामावादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतले समर्थन ग¥यो । भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण गरियो । बङ्गलादेशको स्थापनासँगै युद्धको अन्त्य भयो ।

सन् १९८९मा कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी भयो । सन् १९९९ को फेबु्रअरीमा भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर जानुभयो । तर कुनै सम्झौता भएन । सन् १९९९ को मेमा पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा गरे । सीमित द्वन्द्व सुरु भयो । भारतद्वारा हवाई तथा स्थल आक्रमणपछि अतिक्रमणकारीहरू फिर्ता भए ।

सन् २००१ को मेमा भारतको आगरामा भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता भयो । यस पटक पनि कुनै सम्झौता हुन सकेन । सन् २००१ को अगस्तमा श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण भयो जसमा ३८ जनाको मृत्यु भयो ।

सन् २००१ को डिसेम्बर १३ मा नयाँदिल्लीस्थित भारतीय संसद्मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु भयो । सन् २००७ को फेब्रुअरीमा भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट हुँदा ६८ जनाको मृत्यु भयो । सन् २००८ को नोभेम्बर २६ मा विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेसन, पाँचतारे होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण भयो । ६० घन्टासम्म भिडन्त भयो । १६६ जनाको मृत्यु भयो । भारतद्वारा पाकिस्तानमा रहेको लस्कर ए तोइबा समूहमाथि दोष लगायो ।

सन् २०१६ को जनबरीमा पठानकोटस्थित भारतीय वायुसेनाको अखडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनिक र छ विद्रोहीको मृत्यु भयो । सन् २०१६ को सेप्टेम्बर १८ मा भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखडामा विद्रोहीद्वारा गरिएको आक्रमणमा १९ सैनिकको मृत्यु भयो । सन् २०१६ को सेप्टेम्बर ३० मा भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक’ ग¥यो । सन् २०१९ को फेबु्रअरी १४ मा कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट गराउँदा अर्धसैनिक बल सीआरपीएफका ४६ जनाको मृत्यु भयो ।

पाकिस्तानमा रहेको जैश ए मोहम्मदद्वारा जिम्मेवारी स्वीकार गर्यो । सन् २०१९ को फेबु्रअरी २६ मा भारतीय हवाईसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण गरी तीन सय लडाकु मारेको र लडाकु समूह जैस ए मोहम्मदको शिविर नष्ट गरिएको भारतले दाबी गर्‍यो । सन् २०१९ को फेबु्रअरी २७ मा पाकिस्तानद्वारा कश्मीरमा एउटा भारतीय लडाकु विमान खसालिदियो । सोही क्रममा पाकिस्तानले एक जना भारतीय चालकलाई नियन्त्रण गर्यो । पाकिस्तानले सकुशल भारतीय चालकलाई फिर्ता गरेपछि तनाव मत्थर भयो ।