अनलाइनबाटै अमेरिकी युनिभर्सिटीका कोर्स यसरी सित्तैमा गर्न सकिन्छ

May 18, 2017

वामन घिमिरेलाई सन् २०१४ मा अमेरिकी सरकारले ‘टिचर एक्सीलेन्सी’ अवार्ड प्रदान गरेको थियो । यही साल उनलाई अस्ट्रेलिया सरकारले पनि उत्कृष्ट शिक्षकको अवार्ड प्रदान ग¥यो । २०१२ मा उनी कास्की जिल्लाकै उत्कृष्ट अंग्रेजी विषयका शिक्षक बने । पोखरास्थित मदरल्यान्ड बोर्डिङका अंग्रेजी शिक्षक घिमिरेले यही क्रममा अस्ट्रेलिया र अमेरिका पुगेर त्यहाँका विद्यार्थीहरुलाई पनि पढाइसकेका छन् ।
घिमिरे यतिबेला नेपालमा ‘मुकिङ’ अर्थात ‘म्यासिभ ओपन अनलाइन कोर्स’ अभियानमा छन् । नेपालमा इन्टरनेटको पहुँच विस्तार भएपनि यसको उपयोग नभएको र दुरुपायोग बढी भएकोले मुकिङ अभियान थालेको उनले बताए । मुकिङमार्फत विद्यार्थीले घरमै बसेर विश्वका उत्कृष्ट विद्यालयका कोर्सहरु छानीछानी गर्न पाइने र घरमै प्रमाणपत्र आइपुग्ने गर्छ । रिजनल इङलिस ल्याङ्ग्वेज अफिसर(नेलो) र नेपालस्थित अमेरिकी दुतावासको आर्थिक सहयोगमा सञ्चालन भएको मुकिङ कार्यक्रम नेपालको धरानदेखि धनगढीसम्म दस स्थानमा सञ्चालन भएको छ । यो कार्यक्रम पोखरास्थित मदरल्यान्ड हाइस्कुल, रिजनल इङलिस ल्याङ्ग्वेज टिचर एसोसिएसन(नेल्टा)र अमेरिकन कर्नरको सहयोगमा सञ्चालन भएको हो ।

टिच फर नेपालको #OneDayInAClassroom अभियानमा #MOOC बारे पढाउदै नेपालका लागि अमेरिकी राजदुत अलाइना बि तेप्लिज । फोटोः अमेरिकी दुतावासको फेसबुक पेज ।

वामन घिमिरे

मुक सबैभन्दा पहिले पोखराकै मदरल्यान्ड हाइस्कुलबाट सुरु भएको हो । यस कार्यक्रममा आफ्ना विद्यार्थीहरु सहभागी भएपछि नेतृत्व विकास र सिकाइ पद्धतिमा आएको परिवर्तनले मदरल्यान्डका प्रिन्सिपल नारायणप्रसाद बराल दंग छन् । भन्छन्, ‘हाम्रोमा सन् २०१४ मा मुक सुरु भयो, हाम्रा विद्यार्थीमा यसले नेतृत्व विकास भएको छ, विश्वको मागअनुसारका सिकाई बानी परेको छ, यस्तो अध्ययन शैली र दृष्टिकोण अरु विद्यालयमा पनि माग हुन थालेको छ ।’ मदरल्यान्डकै कक्षा १० की विद्यार्थी सोनिया गौतमले अनलाइन कोर्समार्फत ३० वटा प्रमाणपत्र लिइसकेकी छन् । अहिले उनी कक्षामामात्र छैनन्, मुक अभियानमै देशका विभिन्न ठाउँ पुगिरहेकी छन् । पोखराकै सगुन पराजुलीले २५ वटा विभिन्न कोर्सहरु गरेकी छन् । कक्षा १० पढ्दै गरेका काठमाडौंका वीरेन्द्र तामाङले कम्प्युटर साइन्ससम्बन्धी ५ वटा यस्ता प्रमाणपत्र लिइसकेका छन् ।

विष्णु मेमोरियल हाइस्कुल, धरानमा कक्षा ६ पढ्दै गरेका रिसभ भट्टराइले युनिभर्सिटि अफ क्यालिफोर्नियाबाट हालै सम्पन्न गरेको कोर्स र उनले प्राप्त गरेको प्रमाणपत्र ।

यस अभियानमा मुकिङ कसरी गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने र कार्याशालामा सहभागी विद्यार्थीले अरु विद्यार्थीलाईसमेत प्रशिक्षण दिन सकिने गरी तयार पारिने घिमिरेले बताए । एक स्थानमा सरकारी र नीजिका ३०÷३० गरी ६० विद्यार्थी सहभागी हुन्छन् । तीमध्ये ३० जना किशोर र ३० जना किशोरी हुन्छन् । प्रत्येक स्थानमा दस विद्यालयका ६÷६ जना विद्यार्थी सहभागी हुन्छन् । यसै विषयमा एभरेस्ट टाइम्सले मुकिङको प्रभावकारिताबारे यसका अभियानकर्ता घिमिरेसँग कुराकानी गरेको थियो । प्रस्तुत छ यही कुराकानीको सम्पादित अंशः

मुकिङ कोर्सको वास्तविक उद्देश्य के हो ?
यसको खास उद्देश्यचाहिँ नेपालमा इन्टरनेटको विकास द्रुत गतिमा भइरहेको छ । इन्टरनेट धेरै प्रयोग गर्ने विद्यार्थीहरु नै हुन् । एकजना वयस्कलेभन्दा विद्यार्थीले कैयौं गुणा बढी इन्टरनेटको प्रयोग गर्छ । तर, उसले इन्टरनेट केमा प्रयोग गर्छ त ? हामी अन्जान छौं । फेसबुकमात्र होइन अनेकौ च्याटिङदेखि खराब आचरण बनाउने खालका वेबसाइटहरुमा उनीहरुले प्रवेश पाइरहेका छन् । यस्ता खराब विषयमा विद्यार्थीको प्रवेश रोक्न र उनीहरुलाई विश्वव्यापी प्रतिस्पर्धामा उतार्न यो कोर्स थालिएको हो । इन्टरनेटमा पहुँच भएकाले जतासुकैबाट यहाँ उपलब्ध कोर्सहरु सित्तैमा लिन पाइन्छ ।
यसका फाइदाहरु यति मात्रै हो ?
मानिसले आफुले चाहेको विषय पढ्न नपाउँदा कति नमज्जा लागिरहेको हुन्छ । कतिपयले आफ्नै विषयमा पनि चाहे जति ज्ञान पाइरहेका हुदैन । यस्ता विद्यार्थीका लागि यो लाभदायी छ । ज्ञान लिने र विदेशी विश्वविद्यालयको सर्टिफिकेट पाउने त भइ नै हाल्यो । यहाँका विद्यार्थीको उत्तर संसारभरका जोसुकैले परीक्षण गर्ने भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध बढ्छ । एकआपसमा सांस्कृतिक आदनप्रदान हुन्छ । यहाँका विद्यार्थीले पनि संसारभरका उत्तर परीक्षण गर्न पाउने भएकाले उसलाई अमेरिका र यूरोपका साथीहरुसँग सम्बन्ध बढाउने र उनीहरुको लेखाइ, पढाइको स्तर र नयाँ आइडियाहरु सिक्ने मौका हुन्छ । यहाँबाट शिक्षण सामग्री लिएर कक्षा कोठामा पढाउन पनि सकिन्छ ।
यी कोर्सहरु कसले दिन्छ त ?
यो कोर्स संसारभरका सयौं विश्वविद्यालयले दिने कोर्स हो । सर्टिफिकेट पनि विश्वविद्यालयकै निर्देशकले सोही विद्यार्थीले गरेको हो भनी निरीक्षण गरी दिन्छन् । यस्ता कोर्स दिने सस्ंथाहरु पनि पचासौं बढी छन्, उनीहरुले वेबसाइटमा गएर कोर्स लिने हो । कुन–कुन विश्वविद्यालयहरुले कस्ता–कस्ता कोर्स दिएका छन् भनेर छानेर मनपरेको विश्वविद्यालय र विषयको कोर्स गर्न सकिन्छ । इन्टरनेट चलाउने धेरै विद्यार्थी जमात हामीहरुसँग छन् । फेसबुक चलाउने त्यही समयबाट केही समय यसलाई दिए विश्वविद्यालयको सर्टिफिकेट भित्तामा टाँस्न पाइन्छ । मोबाइलबाट समेत यो कोर्स गर्न पाइन्छ । चाइना, अमेरिका, बेलायत, अस्ट्रेलिया र भारतका धेरै विद्यार्थीहरु यसमा सहभागी भएको पाइन्छ । यो विश्वविद्यालयको डिग्री नभइ विश्वविद्यालय प्रवेश सहज बनाउने बाटो हो । यो कोर्स गरेकाहरुले सजिलै विश्वका जुनसुकै विश्वविद्यालयमा प्रवेश पाउँछन् ।
मुक गरेपछि पाउने सर्टिफिकेटको मान्यता के हुन्छ ?
यो शिक्षाको तहगत डिग्री हासिल गर्ने कोर्स होइन । पश्चिम देशहरुमा पनि १२ र विश्वविद्यालयको बीचमा ग्याप छ । १२ पास गरे पनि विश्वविद्यालयको प्रवेश परीक्षामा फेल हुने गर्दछन् । यी कोर्सहरु विश्वविद्यालयमा आएर पढ्न सजिलो होस् भनेर डिजाइन गरिएका हुन्छन् । यसले विद्यार्थीको ज्ञानको क्षेत्र फराकिलो बनाउँछ । उनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा गएर प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ । यो कोर्सले पक्कै पनि प्रतिस्पर्धीहरुबीचमा प्लस प्वाइन्ट भने बढाउँछ नै ।

नेपालमा कसरी सुरु भयो ?
यस्ता कोर्सहरु गर्न विश्वमा १९६० बाटै शुरु भएको पाइन्छ । तर २००८ बाट चाहिँ यसले व्यापकता पाएको पाइन्छ । २०१४ मा मलाई अस्ट्रेलियन अमेरिकन उत्कृष्ट शिक्षणको अवार्ड प्रदान गरियो । मैले उता गएर पढाएँ । त्यहाँ हेर्दा सयौं विद्यार्थीहरुले यो कोर्स गरेको पाएँ तर नेपालीहरु एकजना पनि थिएनन् । मलाई नेपालमा पनि यो कोर्स सजिलै गराउन सकिन्छ भन्ने लाग्यो । नेपाल फर्किएर यो कोर्सबारे धेरै साथीहरुलाई भनें तर कसैले वास्ता गरेनन् । पछि विद्यालयमा विद्यार्थी र अभिभावकहहरुको कार्यशाला गरें यस कोर्सबारे । अनि तयारीका साथ सन् २०१४ को अन्त्यतिर मेरो विद्यालयमा यो कोर्स गराउन सुरु गरें । मेरा २७ विद्यार्थीहरुलाई यो कोर्स गर्न लगाएँ जसमा १८ जनाले सर्टिफिकेट पाउन सफल भए । उनीहरुको फोटो अमेरिकन राजदूतावासको फेसबुक साइटमा राखिएपछि यसको चर्चा चुलियो । सबैले जान्न र लिन खोजे बिस्तारै यो विस्तार हुँदै गयो । हाल हाम्रो विद्यालयबाट १४ जना विद्यार्थी ट्रेनरको रुपमा देशभर पुगेर कार्याशाला सम्पन्न गर्ने गरेका छन् ।
नेपालमा कतिजनाले मुकिङमार्फत प्रमाणपत्र पाएका छन् ?
मदरल्यान्डमा मात्र सातसय प्रमाणपत्र आइसकेका छन् । एकजना बहिनी सोनिया गौतमले त ३० वटा प्रमाणपत्र लिइसकेकी छन् । सोनिया अहिले कक्षा १० मा पढ्दैछिन् । कक्षा ५ का साना भाइहरुले पनि यस्तो कोर्स लिएर प्रमाणपत्र पाइसकेका छन् । आशा छ यो मुकिङ अभियानबाट धेरै लभान्वित हुनेछन् ।
अब मुकिङ प्रोजेक्ट सकिन लागेछ, यसपछि कसरी निरन्तरता दिनुहुन्छ यो कोर्सको लागि ?
फेसबुकमा अनलाइन ग्रजुएट क्लब, नेपाल भन्ने पेज छ । यसमा अहिले दुइहजारभन्दा बढी सदस्य छन् । यहीमार्फत म मुकिङ अभियानमा सक्रिय नै रहेनछु । विभिन्न विश्वविद्यालयले अफर गर्ने कोर्सबारे पनि यहाँ अपडेट हुन्छ । मुक गर्न कुनै अप्ठेरो परेमा वा कुनै जिज्ञासा भएमा म यहाँ उपलब्ध हुनेछु ।

सम्बन्धित समाचार