‘माउन्ट एभरेस्ट वे’ घोषणामा पर्वतारोहीलाई उपेक्षा!

March 21, 2019

-ङिमा पाख्रिन

गत मार्च ९ तारिख ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको ३१ एभिन्युको कर्नरमा पुग्दा चहलपहल निकै थियो । सवारी गुड्ने एकतिरको बाटो गरेर सबै समुदायहरू भेला भएको त्यो शनिबारको वातावरण भिन्नै थियो ।

चिरपरिचित मात्र नभई सबैजसो बाटो छेउमा फोटो खिच्न व्यस्त थिए । सबैले सजिलै देखिन गरी उभ्याएको सगरमाथासँगै सगरमाथा आधार शिविरको पुजा थान र टाँगेको पाल देखिने गरी तस्बिर खिच्नेहरूको भिडभाड बढ्दै गइरहेको थियो ।

सबैको मन छुने त्यो आकर्षक डेमो युएस नेपाल क्लाईम्बर्स एसोसिएसनका सदस्यहरूले तयार पारेका थिए । त्यो आर्कषणसँगै सगरमाथा हिमालसहित हिमाल आरोहणमा प्रयोग हुने टेन्ट, डोरी तथा अन्य औजारहरू राखेर प्रदर्शनी नै जस्तो बनाएका थिए ।

त्यो प्रर्दशनीसँगै हिमालको आधार शिविरमा बसेर आरोहणका लागि व्यवस्थापन गर्दै गरे झैँ सगरमाथा आरोही साथीहरू यताउता गर्दै थिए । त्यहाँ पटक पटक सगरमाथाको शिखर चुमेका आरोहीहरू देखि सगरमाथाको शिखरबाट लाइभ रिपोर्टिङ गर्ने दक्षिण एसियाकै पहिलो पत्रकार आरोही आङछिरिङ शेर्पासम्म सहभागी थिए ।

त्यहाँको वातावरणमा नेपालको पर्वतारोहणको झझल्को दिनुमा पहिलो पटक ज्याक्सन हाइटको ७५ स्ट्रिटको केही खण्डलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गर्ने औपचारिक समारोह थियो । हिमालसँग भावनात्मक सम्बन्ध गाँस्दै आएका आरोहीहरूले त्यो विशेष दिनको खुसीयाली साट्न सगरमाथा बनाउनका साथै कार्यक्रम सफल बनाउनमा खटिरहेका थिए ।

पर्वतारोहण निकै जोखिमपूर्ण कार्य हो । पर्वतारोहणमा बर्सेनी धेरैले ज्यान गुमाएका छन् । नेपालमा धेरै विदेशीहरू सोखले र नाम कमाउन पर्वतारोहण गर्न आए पनि अधिकांश नेपालीहरू पेशागत बाध्यतामा पर्वतारोहण गर्दछन् ।

जोखिम भएकैले धेरै अनुभवी नेपाली पर्वतारोहीहरू अमेरिकामै बसोवास गरेर आफ्ना सन्तानलाई जोखिमपूर्ण पेशा अँगाल्नबाट टाढा राख्न प्रयासरत छन् । पर्वतारोहण क्षेत्रमा विभिन्न विश्वविख्यात रेकर्डहरू कायम गरेर नेपाल र नेपाली विश्व सामु चिनाउने काममा अग्रपंत्तिमा शेर्पाहरु पर्दछन् ।

थुप्रै यस्ता रेकर्डहरू गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता छन् । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्नेदेखि सबैभन्दा छोटो समयमा सगरमाथाको शिखर चुमेका रेकर्डमा शेर्पा नै छन् । त्यति मात्र कहाँ हो र सबै भन्दा बढी पटक सगरमाथाको शिखरमा पुगेदेखि सगरमाथाको शिखरबाट समाचार सम्प्रेषण गर्नेमा शेर्पा नै पर्दछन् ।

त्यसैले पनि उनीहरूको हिमालसँग गहिरो भावनात्मक सम्बन्ध रहेको छ । उनीहरू जहाँ बसे पनि हिमालको नाम सुन्ने बित्तिकै र यससँग सरोकार राख्ने हरेक काममा महत्त्वपूर्ण भूमिका खेल्दछन् । त्यसको ज्वलन्त उदाहरण त ‘माउन्ट एभरेस्ट वे’ को औपचारिक घोषणासभा र सडक महोत्सवलाई सफल बनाउन सबैको ध्यान केन्द्रित भएर उनीहरूले रातारात निर्माण गरेको हिमाललाई नै लिन सकिन्छ ।

न्युयोर्कमा पहिलो पटक ऐतिहासिक रूपमा औपचारिक घोषणा सभा भयो । अमेरिकाका लागि नेपालका राजदूत डाक्टर अर्जुन कुमार कार्की, महा वाणिज्यदूत पुष्पराज भट्टराई, नेपाल जनजाति महासंघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, न्युयोर्क सिटी काउन्सिल सदस्य कोस्टा कोन्स्टान्टिनिडेस्लगायत बोले ।

सडक महोत्सवमा नागरिक अभिनन्दनपछि नेपालमा बिजुलीको उज्यालो छरेर जनहिरो भएका कुलमान घिसिङ पनि बोले । नेपालका हिमालहरूको चर्चा गरिए । कार्यक्रमस्थलमा बनेका आकर्षक हिमालको प्रशंसा भए ।

तर नेपालका ती हिमालसँग जीवन संघर्ष गरेका र कार्यक्रमस्थलमा आकर्षक हिमाल उभ्याई सबैको नजर तानेका ती पर्वतारोहीहरूलाई भने सबैले बिर्से । माउन्ट एभरेस्ट भन्ने बित्तिकै सगरमाथा चुम्नेहरूलाई सम्झन्छु तर त्यत्रो सगरमाथाको नामकरण हुँदा सगरमाथा चुम्नेहरूको बारेमा एक शब्द पनि कसैबाट नखर्चेको देख्दा अचम्म लाग्यो ।

मेरो मनले मान्दै मानेन अनि कार्यक्रमपछि मनको आदेश अनुसार सगरमाथा चुम्ने आरोहीहरूलाई भेटेर मैले भनेँ, ‘तपाइहरूले ज्यानको बाजी लगाएर माउन्ट एभरेस्ट चढ्नको साथै विदेशीलाई पनि शिखरमा पुर्‍याएर नेपालको नाम विश्वमा राख्नु भएर पो हामीले न्युयोर्कमा सडकको उपनाम ‘माउन्ट एभरेस्ट वे’ राख्न पाएको हो । यसर्थ, तपाइहरू धन्यवादको पात्र हुनुहुन्छ ।’