‘मिस एन्ड मिस्टर शेर्पा २०१८’ को अडिसन सम्पन्न

December 9, 2018

काठमाडौं । शेर्पा समुदायका युवा युवतीलाई लक्षित गर्दै आयोजना गरिएको ‘मिस–मिस्टर शेर्पा २०१८’ को अडिसन सम्पन्न भएको छ ।

डिपास इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका तीन दर्जन भन्दा बढी सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।

अडिसनमा आयोजक संस्थाकी अध्यक्ष पासाङ शेर्पा (छेल्हमु), संचारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक तेन्डुप शेर्पा, संचारकर्मी प्रियंका भण्डारी र मिस शेर्पा २०१७ सोनाम डोमा शेर्पा लगायतका थिए ।

यस प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाक शक्तिलाई अब्बल बनाउँदै संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्था डिपासका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिइन् ।

डिपास इन्टरनेशनलले यसै वर्षदेखि मिस्टर शेर्पाको पनि आयोजना सुरु गरेको छ । अडिसनबाट छनौट भएकाहरुलाई केही दिन पछि विभिन्न चरणको प्रशिक्षण दिइनेछ ।

विभिन्न चरण पार गरेपछि प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाबाट एक जना मिस शेर्पा र एक जना मिस्टर शेर्पा छानिनेछ । यही डिसेम्बरको अन्तिममा काठमाडौँमा हुने अन्तिम प्रतिष्पर्धाबाट मिस र मिस्टर शेर्पाको छनौट गरिनेछ ।

मिस शेर्पाको विजेताले आगामी वर्ष अप्रिलमा क्रोयसियामा हुने मिस टुरिज्म वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुने अवसर पाउने आयोजक संस्थले जनाएको छ ।

सम्बन्धित समाचार