मुख्यमन्त्रीमा ईन्द्रेणी अनुहार: यी हुन् नेपालका पहिलो सात मुख्यमन्त्री

February 18, 2018

एभरेस्ट टाइम्स/काठमाडौै

संघीय लोकतन्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपालले पहिलोपटक प्रदेशको अभ्यास गर्दैछ । निर्वाचन सम्पन्न भएसँगै सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । सातैजना नेपालका पहिलो मुख्यमन्त्री हुन् । मुख्यमन्त्रीमा ईन्द्रेणी अनुहार देख्न पाइन्छ ।

प्रदेश १ः शेरधन राई

शेरधन राई एमालेको संसदीय दलको नेता बनेसँगै मुख्यमन्त्री बन्ने बाटो खुल्यो । भोजपुरबाट प्रदेश सभामा विजयी उनले चुनाव अघि नै प्रदेश १ को मुख्यमन्त्री आफू हुने बताएका थिए ।

तर एमालेकै नेता तथा पूर्वमन्त्री भीम आचार्यले संसदीय दलमा दाबी गरेपछि भने संसदीय दलमा समेत निर्वाचन भएको थियो । निर्वाचनमा आचार्यलाई २ मतान्तरले पराजित गर्दै केपी ओली गुटका मानिएका राईले मुख्यमन्त्री बन्ने बाटो खोले ।

भोजपुरको पसलभञ्ज्याङमा २०२७ सालमा जन्मिएका शेरधनले २०४४ मा अनेरास्ववियूबाट राजनीतिक यात्रा थालेका थिए । अखिलको जिल्ला अध्यक्ष र पूर्वाञ्चल संयोजक हुँदै पार्टी राजनीतिमा उनको पदार्पण भएको हो । र, २०५६ सालको संसदीय निर्वाचनमा कान्छो सांसदका रुपमा निर्वाचित भए ।

२०६४ सालमा चुनाव हारेका उनी दोस्रो संविधानसभामा विजयी भए । केपी ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता बने । हाल एमाले वैकल्पिक पोलिटब्युरो सदस्य रहेका उनी अविवाहित छन् ।

 

प्रदेश २ः लालबाबु राउत

फोरम र राजपाबीच मिलेर सरकार बनाउने सहमति भए अनुसार फोरमले मुख्यमन्त्री पाउने भएपछि लालबाबु निर्विरोध छानिए । उनी पर्सा १ ‘ख’ मा विजयी भएका हुन् ।

५१ वर्षअघि जन्मिएका राउत राजनीतिमा प्रवेश गरेको भने धेरै भएको छैन । २०६३÷०६४मा भएको पहिलो मधेस आन्दोलनपछि मात्रै उनी राजनीतिमा प्रवेश गरेका हुन् ।

पर्साको जगरनाथपुरस्थितमा मुस्लिम परिवारमा उनी जन्मिएका थिए । स्नातकसम्म वीरगंजमै अध्ययन गरिसकेपछि स्नातकोत्तर पढ्न उनी २०४९ मा उनी काठमाडौँ गए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन पूरा गरिसकेपछि वीरगंज फर्केर २०५० सालदेखि आफै पढेको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गर्न थाले ।

अध्यापन सँगसँगै वीरगंज नगरमा प्रशासनमा आवेदन दिएर परीक्षामा पास भएपछि उनी नगरपालिकाको जागिरे पनि भए ।

लालबाबु क्याम्पस जीवनमा नेपाल विद्यार्थी संघसँग आबद्ध थिए । पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको केन्द्रीय सचिव भएर काम गरे । महाधिवेशनपछि उनी केन्द्रीय सदस्य तथा राष्ट्रिय उपाध्यक्ष समेत भए ।

प्रदेश नं २ मा राजपासँग गठबन्धन गरी मधेस केन्द्रित दललाई प्रदेश २ मा शानदार विजय हासिल गराउन प्रमुख भूमिका खेलेका नेता मध्येमा एक हुन् लालबाबु ।

 

प्रदेश ३ः डोरमणि पौडेल

प्रदेश ३ मा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुने चर्चा थियो । तर, उनै शाक्यलाई चुनाव हराएर मुख्यमन्त्रीको बागडोर सम्हाले ।
पार्टीमा उनी केन्द्रीय कमिटी सदस्यसम्म पनि भएनन् तर जनप्रतिनिधिका रुपमा सफल नेताको परिचय स्थापित गरेका छन् । पौडेल एमालेमा केपी गुटका नेता मानिन्छन् भने शाक्य माधव गुटका ।

पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर बनेका थिए । नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष भएर १५ वर्ष काम गरेका पौडेल स्थानीय शासन प्रणालीको विज्ञका रुपमा पनि परिचित छन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्यसमेत रहेका उनले शुरुमा सोही हैसियतमा सभा पनि सञ्चालन गरे ।

१५ चैत २००२ मा काठमाडौंको फर्पिङमा जन्मिएका पौडेल बसाइँसराईंसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा बनेका हुन् । ०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लागेका थिए ।

 

प्रदेश ४: पृथ्वीसुब्बा गुरुङ

प्रदेश ४ मा एमालेका नेता किरण गुरुङले मुख्यमन्त्री बन्ने आकंक्षा राखेका थिए । तर, पृथ्वीसुब्बा गुरुङ प्रदेशमा झरेपछि उनी पन्छिन बाध्य भए । अन्तिम समयसम्मको प्रयासमा मात्र किरणले संसदीय दलको नेतामा पृथ्वीसुब्बलाई मान्न तयार भएका थिए । पृथ्वीसुब्बा ओली गुटकै हुन् ।
२०१४ फागुन १ गते जन्मेका विज्ञानमा स्नातक गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । शुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए ।

लमजुङबाट प्रदेशसभा जितेका उनी जिल्ला सचिव हुँदै पार्टीको केन्द्रीय कमिटीमा आए ।

र, २०५४ सालदेखि एमाले केन्द्रीय कमिटीमा छन् । उनी हाल पार्टीको केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पनि हुन् । २०६४ मा संविधानसभा सदस्यको चुनाव जितेका उनी २०७० मा पराजित भए । यसपटक प्रतिनिधिसभा सदस्यको दाबेदार थिए ।

 

प्रदेश ५ः शंकर पोखरेल

यसपटक सहजै मुख्यमन्त्रीमा बाटो खुलाउने व्यक्ति बने शंकर पोखरेल । एमाले स्थायी कमिटी सदस्य उनी ओलीनिकट नै हुन् ।

दाङ प्रदेश सभाबाट विजयी भएका उनी ०५१ सालमा पहिलो पटक दाङबाट सांसद निर्वाचित भएका थिए । ०६४ मा समानुपातिक सभासद् हुँदै सूचना तथा सञ्चारमन्त्री बनेका उनी मुख्यमन्त्री पाउने भएपछि प्रदेशमा झरेका हुन् ।

२०१९ फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा जन्मेका पोखरेल मदन भण्डारीसँग निकट रहेर काम गरेका थिए ।

 

प्रदेश ६ः महेन्द्रबहादुर शाही

 

पूर्वसभासद् महेन्द्रबहादुर शाही माओवादी प्रदेश ६ को संसदीय दलको नेतामा चयन भएसँगै मुख्यमन्त्री बन्ने बाटो खुल्यो ।
वाम भागबण्डामा प्रदेश–६ को मुख्यमन्त्री माओवादीको भागमा परेपछि शाहीलाई सहज भयो । उनी कालीकोट ‘ख’बाट प्रदेशसभामा विजयी भएका हुन् ।

२०३३ माघ १५ मा कालीकोटको विकट पचाल झरना गाउँपालिकामा जन्मिएका शाही माओवादी पोलिटब्युरो सदस्य तथा भेरी, कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन् ।

सशस्त्र विद्रोहका क्रममा डिभिजन कमान्डर रहेका शाही अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराउँदा प्रस्तावक बनेर एकाएक चर्चामा आएका थिए ।

 

प्रदेश ७ः त्रिलोचन भट्ट

 

त्रिलोचन भट्ट डोटी प्रदेशसभा ‘क’ बाट विजयी सांसद हुन् । जिल्लाको केआईसिंह गाउँपालिका ६ फलेडीका भट्ट भारतमै छँदा माओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएका थिए ।

४८ बर्षिय त्रिलोचन भट्टको स्थायी ठेगाना डोटी जिल्लाको साविक भूमिराजमाण्डौ गाविस वाड नं ८ फलेडी हो । निम्न आयस्रोत भएको परिवारमा जन्मेका त्रीलोचनले गरीबीकै कारण ८ कक्षाको पढाई छोडेर १४ बर्षमै भारत पसेका थिए । उनले भारतमा चौकीदारी गरेका कारण चुनावताका उनलाई धेरैले चौकीदारले नेतृत्व लिन सक्दैनन् भनी प्रचार गरेका थिए ।

उनको राजनीतिक यात्रा पनि सोही समाजबाट शुरु भएको हो । र, ०६१ सालमा स्वदेश र्फकेर सक्रिय राजनीतिमा लागेका हुन् । हाल उनी माओवादी पोलिटब्युरो सदस्य छन् ।

सम्बन्धित समाचार