मुलधारमा नअटेका विषय मेरो प्राथमिकतामा-नवीन सुब्बा

June 2, 2017

करिब ३ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत लाग्दै आएका चलचित्र निर्देशक नविन सुब्बा न्युयोर्क आइपुग्दा दर्जनौं युवा निर्देशकहरुले घेरिरहेका थिए । नेपाली र विदेशी चलचित्र क्षेत्रमा रुचि राख्ने युवाहरुले उनीसँगको भेटमा नेपालको वर्तमान र भविष्यको चलचित्रको समीक्षा गरेका थिए । आधुनिक नेपाली चलचित्र क्षेत्र एकेडेमिक कन्सेप्टबाट अघि बढ्नु पर्ने सोचका साथ फरक ढंगको चलचित्र निर्माण गर्दै आएका सुब्बाले नेपालको मौलिक विविधतालाई प्रथामिकता दिएर बनाएको चलचित्रहरुले राष्ट्र र अन्तराष्ट्रिय पुरस्कारहरु जित्न सफल भएका छन ।

सन १९८८ ताका कला क्षेत्रमा वर्षकै उत्कृष्ट कलाकार कहलिएपछि चलचित्र क्षेत्रमा लागेका सुब्बाले अहिलेसम्म दर्जन बढी चलचित्र निर्माण गरिसकेका छन् । भारतीय चलचित्रको नक्कल गर्ने पुरानो सोचबाट माथि उठेर उनले बनाएको फरक धारको चलचित्रले आदिवासी जनजाती र दलित समुदायमा परिवर्तन ल्याएको छ । विशेष गरेर पछिल्लो समय राज्यको मुलधारमा पुग्न नसकेको आदिवासीको चलचित्रलाई अन्तराष्ट्रिस्तरसम्म पु¥याएर मुलुकमा आदीवासी जनजाती फिल्मको संग्रह र आदिवासी चलचित्र महोत्सवसमेत आयोजना गर्दै आएका छन् । शेर्पा समुदायको पहिलो चलचित्र खाङरी, लिम्बुको समुदायको तरेवा, नुमाफुङ र दलित समुदायको कथामा बनेका टेलिश्रृखला दलानका निर्देशक सुब्बासँग आङछिरिङ शेर्पाले गरेको कुराकानीः
तपाईंको अनुभवमा चलचित्र के हो ?
मेरो बुझाईमा चलचित्र भाषा, कला र साहित्यको समिश्रण हो । यो हाम्रो अभिव्यक्तिको माध्यम पनि हो । हामीलाई लागेको कुरा अथवा समग्र मानवलाइ नै लागेको कुरा दिने माध्यम चलचित्र भएकोले चलचित्र बनाउनु अघि धेरै अध्ययन गरेमा सफलता हुन्छ ।
नेपालमा चलचित्रको अवस्था कस्तो छ ?
पहिला हामी कन्टेन्ट र कलाकारको मात्र काम गथ्र्यौ । तर आज विविधतालाई बुझेर चलचित्र बनाउन थालेका छौ । हिजो हलमा चलचित्र चलाउन गाह्रो हुन्थ्यो । तर अहिले हामीले बनाएको विविधताले भरिएको चलचित्रहरु दर्शकको रुचिमा रुपन्तरण भएकोले चलचित्र हलमा राम्रारी प्रर्दशन भएको छ । स्वाभाविक रुपमा हिजो हामीले जुन रुपमा फिल्म बनाउथ्यौ आज समय सापेक्षित रुपमा दर्शकले चाहे अनुसारको बनाउन खोजिरहेका छौ ।
तपाईले बनाउदै आउनु भएको फरक धारको चलचित्रले नेपाली चलचित्र क्षेत्रमा कस्तो प्रभाव परेको छ ?
बास्तबमा मैले बनाउने चलचित्र फरक धार त होइन । सोच र बनाउने तरिका मात्र फरक हो । अहिले हाम्रो समाजमा जुन प्रकारका फिल्म बनेका छन त्यसमा मेरो केही असहमति हो । हुन त कसैले मनोरञ्जनको लागि चलचित्र बनाउछु भन्छ भने त्यो उसको व्यक्तिगत सोचाई र रुचि हो । तर त्यस्ता चलचित्रले समाजलाई कति फाइदा गरेको छ भनेर हामी त्यसमा सचेत हुनुपर्छ जस्तो लाग्छ । अहिले हामीले जुन प्रकारले सिनेमा बनाइरहेका छौ, भोलिका दिशा भनेको त्यही नै हो । अहिलेकोे ग्लोबल युगमा जो कसैले तुरुन्तै अन्तर्राष्ट्रिय चलचित्रहरु हेर्न सकिरहेको अवस्थामा हाम्रा दर्शकहरु हामी भन्दा बढी शिक्षित भइसकेका छन् । अबका दिनमा उनीहरुको रुचि र भावनालाई जित्ने किसिमको चलचित्रहरु कसरी बनाउने भन्ने शिक्षा अबको चलचित्र निर्देशकहरुमा हुनुपर्छ । सबैको भावनालाई बुझेर बनेको चलचित्रले धेरै परिवर्तन ल्याएको छ ।
तपाई आदिवासीवासी र दलितकै चलचित्र निर्माणमा मात्र बढी लाग्नुको कारण के हो ?
हाम्रो देश विविध जातजाती भाषा र संस्कृतिको धनी मुलुक हो । समग्रमा वृहतर मानवीय हितकै लागी विविधता र भाषा सस्कृतिको संरक्षणको लागि यो क्षेत्र रोजेको हो । विशेष गरी मानवीय विकाससँगै हाम्रो विविधतालाई सम्मान गर्नुको साथै मुलधारमा जान नसकेको ती महत्वपूर्ण विषयबस्तुलाई माथि उठाई समावेशिता र समनताको लागि आदिवासी र दलित चलचित्र निर्माणमा लागी परेको हो । समाजमा जबसम्म समानता हुदैन विविधताको सम्मान हुदैन तब मानवीय विकास हुदैन भन्ने सोचले यसमा लाग्न बाध्य भए ।
आदिवासी जनजातीको चलचित्र निर्माण गर्दा कतिको समस्या भोग्नु पर्दो रहेछ ?
आदिवासी जनजातीप्रति राज्यको हेर्ने दृष्टिकोण हिजो पनि र आज पनि फेरिएको छैन । अहिले पनि राज्यले हाम्रै्र अनुहारको व्यक्तिलाई लगेर शासन गर्न खोजिरहेका छन् । हामीले आदिवासी जनजातीको चलचित्र निर्माणका लागि दर्ता गरेर पनि फिल्म सुटिङमा जाँदा दुःख दिने कामहरु भइरहेको छ । फिल्म बनाइसकेपछि पनि सेन्सरबोर्डमा कुनै जातीय भाग संस्कृतिको बारेमा ज्ञान नै नभएको कर्मचारीहरुले दुःख दिने कामहरु भइरहेको छ । उदाहरणको लागि शेर्पा भाषाको चलचित्र बनेको खण्डमा सेन्सर बोर्डले शेर्पा समुदायको प्रतिनिधिलाई संलग्न गराई सेन्सर गर्नुपर्छ किनकि त्यो फिल्मले दिन खोजेको मर्म त्यही समुदायले मात्र बुझने भएकोले अरुले नबुझी सेन्सर गर्नु हुदैन भन्ने हाम्रो माग हो ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले म नेपाली फिल्ममा एकेडेमिक कुराहरु ल्याउनका लागि अघि बढेको छु । चलचित्र निर्माणकै क्रममा ५ देखि ७ वर्ष लगाएर गुड बाइ काठमाडौ बनाएको छु । यसको साथै चाडै लिम्बु जातिकै कथासंस्कृतिमा बन्न लागेको लाहुरेको जुत्ता र केही प्रोजेक्टमा व्यस्त छु ।
तपाईहरुकै पथमा अघि बढ्न लागेको युवा पुस्तालाई के भन्नुहुन्छ ?
यस पटक अमेरिका आउदा चलचित्र क्षेत्रमा लागेका धेरै नेपाली युवाहरुलाई भेट्ने मौका मिल्यो । उनीहरुको संघर्ष र मेहेनत देखेर निकै खुसी लाग्यो । तर उनीहरुको लागि सामुदायिक संस्थाहरुले लगानी र सहयोग गर्न नसकेको देखेर अलि खल्लो लाग्यो । देशभित्र युवाहरुका लागि जुन परिस्थिति छ त्यसलाई अब थेग्राउने काममा हामी लाग्ने सोच बनाएका छौ । विशेष गरी आदिवासी जनजाती र अल्पसंख्याकलाई माथि उठाउन आउन लागेका युवा फिल्म निर्माताहरुसँग मिलेर काम गर्ने सोच बनाएका छौ । अबको दिनमा चलचित्र निर्माणमा ठुलो संख्यामा आउन लागेको युवाहरुले चाहेमा धेरै परिवर्तन ल्याउन सकिने भएकोले हामी अबको युवाहरुलाई अघि बढ्न प्रोत्साहन दिन र सहयोग गर्न चाहान्छौ ।

सम्बन्धित समाचार