नदियाको “नदिया लहर” लोकार्पण

June 17, 2018

एभरेष्ट टाईम्स, न्युयोर्क

साहित्यकार नदिया लिवाङको पहिलो कविता संग्रह “नदिया लहर” न्युयोर्कबाट लोकार्पण गरिएको छ । नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत एवं साहित्यकार कृष्ण कुमार क्षेत्रीले गत शनिबार न्युयोर्कको ज्याक्सन हाईटमा एक कार्यक्रम बीच उक्त कविता संग्रहको विमोचन गरेका थिए ।

विगत लामो समयदेखि साहित्य सिर्जनाका बिभिन्न आयाममा कलम चलाई रहेकी लिवाङका थुप्रै कविताहरु विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भैसकेका छन् । तिनै प्रकाशित र अप्रकाशित कविताहरुको संग्रह नै ‘नदिया लहर’ हो भनेर कार्यक्रममा लिवाङ्ले बताइन् । उनले भनिन्, “प्रत्येक मानिससँग कविता हुन्छन् । कवितालाई कतिले शब्दमा उतार्छन् त कतिले आफैभित्र राख्छन् । फरक यति हो ।” छपन्न वटा कविताहरु समावेश संग्रहबाट आफू अत्यन्तै उत्साहित रहेको बताउँदै आफ्नो हरेक पाइलामा साथ दिने पतिका कारण आफ्नो साहित्यिक पाटोले अझ मौलाउने अवसर पाएको उनले बताइन् ।

‘नदिया लहर’ लोकार्पण समारोहमा सहभागीहरु ।

वाणिज्यदूत एवं साहित्यकार क्षेत्रीले “नदिया लहर”मा समावेश कविताहरुको समिक्षात्मक प्रशंसा गरेका थिए । उनले साहित्यकार लिवाङका कविताहरुमा अत्यन्तै मन छुने भावहरु समेटिएको उल्लेख गरे ।

कार्यक्रममा देखाईएको ‘एउटी छोरीको प्रतिज्ञा’ शिर्षकको भिडियो फर्म्याट कवितालाई उपस्थित दर्शकहरुले निकै रुचाएका थिए ।

सम्बन्धित समाचार