अमेरिकामा नेपाली नर्सहरूको अनुभव साटासाट

November 5, 2018

एभरेस्ट टाइम्स/न्युयोर्क

न्युयोर्कको स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली स्वस्थ्यकर्मीहरुले अध्ययन गर्दाको संघर्ष र कार्य क्षेत्रमा भोग्नु परेको समस्याबारे आफ्नो अनुभव आदानप्रदान गरेका छन् ।

नेपालीज अमेरिकन नर्सेस एसोसिएसन (नाना)ले आयोजना गरेको एक दिने कार्यशाला गोष्ठीमा उनीहरूले आफ्नो अनुभव आदानप्रदान गरेका हुन् ।

कार्यक्रममा डा मञ्जु प्रधानले भिन्नै संस्कृति र भूगोलबाट आएर पनि नर्सिङ पेसा रोज्नु सजिलो नभए पनि मेहनतसँगै र सही व्यवस्थापन गरे सजिलै सफलता हासिल हुने धारणा राखिन् । ‘नर्सिङ क्षेत्रमा लाग्नेहरूले धेरै मेहनत र संघर्ष गर्नु परेको यथार्थ भएकोले यो पेसालाई सफलतापूर्वक अघि बढाउन परिवारको सहयोग र व्यवस्थापन हुन जरुरी देखिन्छ,’ डा प्रधानले भनिन्, ‘भिन्नै संस्कृतिबाट आएको हामीले यो भूमिका धेरै सफलताहरू हासिल गर्न सकिने संभवनाहरु भएकोले सबैले मेहनत र संघर्षसंगै योजनाहरू बनाउनु आवश्यक देखिन्छ ।’

उनी कार्यक्रमको प्रमुख वक्त रूपमा उपस्थित थिइन् । नर्थ वेल हेल्थ अस्पतालको नर्स म्यानेजर अञ्जन मानन्धरले आफूले नर्स अध्ययन पुरा गरुन्जेल पाएको दुःखको कथाहरू र काम गर्दाको कठिन संघर्षको कथाहरू निकै रोचक ढंगले प्रस्तुत गरे । गोष्ठीमा नानाका सचिव आरएन सुजाता गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने आरएन सुनिता भण्डारी, आरएन निमा शेर्पा, आरएन हरि जोशी, आरएन संगीता पुडासैनी आदिले नर्सिङ विषय अध्ययनसँगै कार्य क्षेत्रमा प्राप्त गरेको अनुभवहरू सुनाएका थिए ।

त्यस्तै संस्थाका कोषाध्यक्ष पूर्ण महर्जनले संस्थाको आर्थिक प्रगति विवरण सुनाएका थिए । संस्थाको लक्ष्य र उद्देश्य अनुरूप हरेक वर्ष नेपाली स्वस्थ्यकर्मीहरुलाई एक ठाउँमा भेला गरेर नर्सहरूको व्यक्तित्व र व्यवसायिक विकासको लागि यस्तो गोष्ठी आयोजना गर्दै आएको नानाकी अध्यक्ष ङिमा शेर्पाले बताईन् । ‘न्युयोर्कमा बढ्दो नेपाली स्वास्थ्यकर्मीलाई संगठित गर्दै आपसी अनुभव आदानप्रदान गर्दै व्यक्तित्व र व्यवसायिक क्षमता अविबृद्धि गर्दै नेपाली समुदायको हितमा हामी अघि बढ्दै आएको छौ,’ नानाकी अध्यक्ष शेर्पाले भनिन् । उनले दुई वर्ष नेपाली अमेरिकन नर्सहरू र समुदायको हितमा सफलतापूर्वक नेतृत्व गरेकी छन् । नानाले नेपालमा भूकम्प गएलगतै स्थलगत रूपमै सहयोग गर्नुको साथै नेपाली समुदायको विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार