पौडीमा पाँच स्वर्ण जित्दै एनआरएनएको शिर उँचो बनाए १५ वर्षे नाथनदोर्जे शेर्पाले

May 3, 2019

एभरेस्ट टाइम्स/नेपालगन्ज

यसपटक भएको आठौं राष्ट्रिय खेलकुदमा गैर आवासीय नेपाली संघ(एनआएनए)ले पनि सहभागिता जनायो । नेपालगञ्जमा भएको पौडी खेलमा एनआरएनबाटै प्रतिस्पर्धामा उत्रिए अमेरिकाबाट आएका नाथनदोर्जे शेर्पा ।

वैशाख ५ गते औपचारिक रुपमा उद्घाटन भएको प्रतिस्पर्धामा यस पटक पौडीबाटै धेरै स्वर्ण जित्नेमा नाम दर्ज भयो ।

नाथनले एक कीर्तिमानसहित ५ स्वर्ण जिते । आठौँकै लागि भनेर अमेरिकादेखि नेपाल आएका उनले ५ स्वर्णसहित १ रजत र १ कास्य जिते ।
पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको एनआरएनएको डेब्युलाई शानदार बनाउन नाथनले सहयोग गरे । एक्लैले ५ स्वर्ण जित्दै एनआरएनएको नाम उचो बनाए ।

खासमा उनी पहिले आर्मीबाटै खेल्न चाहन्थे । तर आर्मीले अस्विकार गरेपछि संयोगवश उनले अर्को टोली पाए एनआरएन ।

नाथनको ५ स्वर्णसहित एनआरएनले राष्ट्रिय खेलकुदको डेब्युमै ६ स्वर्ण, २ रजत र ६ कास्य जित्यो । ‘एनआरएनएलाई धन्यवाद । उहाँहरुकै सहयोगले मैले नेपालमा राष्ट्रिय खेल खेल्न पाएँ । ५ स्वर्ण जित्दा एकदमै खुशी छु,’ न्युयोर्कबाट नेपालगञ्ज आइपुगेका नाथनले भने ।

आठौँमा एनआरएनएलाई पहिलो स्वर्ण लनटेनिस खेलाडी संरक्षक भुषण बज्राचार्यले बैशाख २ गते दिलाएका थिए । त्यसपछि अर्को स्वर्ण थप्न एनआरएनएलाई ६ दिन लाग्यो । त्यसपछि भने नाथनले प्रत्येक दिन स्वर्ण जित्दै एनआरएनएको सहभागितालाई अर्थपूर्ण बनाइदिए ।

यसपटक एनआरएनएबाट ७ देशका १९ खेलाडीले विभिन्न ८ खेलमा प्रतिस्पर्धा गरेका थिए ।

‘यो मेरो पहिलो सहभागिता हो नेपालमा । रमाइलो भयो सबै रेस । नेपालका रहेका अन्य खेलाडीले पनि राम्रो खेले,’ नाथनले भने । नेपालमा खेल्न आएका नाथनलाई नेपाली भने कममात्र आउने रहेछ । हामीसँग उनले अंग्रेजीमै कुराकानी गरे ।

पौडीपोखरी तय नभएपछि पौडीका प्रतिस्पर्धा होटल सिग्नेटमा भयो । बैशाख ८ देखि ११ गतेसम्म भएको पौडीमा नाथनले ५ स्वर्ण १ रजत र १ कास्य जिते । पौडीतर्फ पुरुषमा धेरै स्वर्ण जित्नेमा नाथन नै अगाडि रहे ।

पहिलो दिनमै घरेलु पौडीका उत्कृष्ट खेलाडीहरुलाई पछि पार्दै २ स्वर्ण जिते । पहिलो दिन सहभागी भएका दुवै स्पर्धामा स्वर्ण जितेपछि नाथनको चर्चा हुन थाल्यो । त्यसलाई कायम राख्दै उनले दोस्रो दिन पनि २ स्वर्ण नै जिते । यस्तै तेस्रो दिन १ स्वर्ण र १ कास्य पदक आफ्नो नाममा थपे ।

चौथो दिन भने उनले कीर्तिमानसहित १ स्वर्ण जिते र एक स्पर्धामा दोस्रो हुँदै रजत पदक जिते ।

पहिलो दिन ८०० मिटर फ्रिस्टाइलमा ९ मिनेटमा १७ सेकेन्डको टाइमिङ निकाल्दै पहिलो स्वर्ण जिते । पहिलो दिनै उनले २०० मिटर बटरफ्लाइमा पनि स्वर्ण जिते । हिटमा २ मिनेट २३.५५ सेकेन्ड मा दुरी तय गरेका उनले २ मिनेट १८.१० सेकेन्डको टाइमिङका साथ स्वर्ण जिते । यस स्पर्धामा उनले एपीएफका अनुभव सुब्बा र पुलिसमा शायहद हाजालई पछि पारे ।

नाथन यति मै रोकिएनन् । चौथो दिनसम्म स्वर्ण जित्ने क्रमलाई जारी राखे । दोस्रो दिन उनले ४०० मिटर फ्रिस्टायलमा ४ मिनेट ३३.०९ सेकेण्डको टाइमिङमा स्वर्ण जिते ।

यस्तै तेस्रो दिनपनि एक स्वर्ण थपे कास्य पनि जिते । चौथो दिन भने नाथनले १ स्वर्ण १ रजत र पदक थपे ।

तेस्रो दिन नाथनले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जिते । हिट चरणमा मा २ मिनेट २८.१० को टाइमिङ निकालेका फाइनलमा चरणमा २ मिनेट १६.५० सेकेन्डको टाइमिङ निकाले । तेस्रो दिन नाथनले प्रतिस्पर्धा गरेको अर्को स्पर्धा १०० मिटर बटलफ्लाईमा भने कास्यमै चित्त बुझाए ।

चौथो दिन नाथनले १०० मिटर ब्याकस्ट्रोकमा नयाँ कीर्तिमानसहित स्वर्ण जिते । उनले यसमा हिटमै १ मिनेट ०७.०६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरे । उनले अन्तिम चरणमा १ मिनेट ०४.०६ को टाइमिङ निकाले ।

नाथन न्युयोर्कमा बस्छन् । अमेरिकामै जन्मेका उनको परिवार विगत २८ वर्षदेखि अमेरिकामै बसिरहेको छ ।

आमा छिरिङ शेर्पाका अनुसार नाथनले ७ वर्षको उमेरदेखि नै पौडी खेल्न थालेका हुन् ।

यस पटक एनआरएनएले पनि खेलुकदमा सहभागिता जनाउने भएपछि नाथनका परिवारले एनआरएनएसँग समन्वय गरेर सहभागिता पक्का गराए ।

‘मेरो प्यारेन्ट्सले चेक गरिरहनु भएको थियो । संयोगवस त्यसबेला यो इभेन्टको बारेमा थाहा भयो । त्यसैले मेरो प्यारेन्ट्सले मेरो नाम दर्ता गर्नुभयो,’ नाथनले भने ।

१५ वर्षे छोराको सफलता देखेर दंग छन् छिरिङ, ‘म एकदमै खुशी छु नाथनको सफलतामा । आई फिल प्राउड । नाथनको ट्विन्स ब्रदर पनि छ । नाथन खेल्नमा चलाख छ अर्को पढ्नमा ।’

न्युयोकोस्थित ट्वीन्स एभिएसन स्कुलमा पढिरहेका नाथन एभिएसन इन्जिनिएरिङका विद्यार्थी हुन् ।

अमेरिकामा पनि विभिन्न स्विमिङ इभेन्टहरुमा उनले प्रतिस्पर्धा गरिसकेका छन् । आठौँमा प्रतिस्पर्धा गरेर ५ स्वर्ण जितेका नाथन सागको लागि छनोटमा पर्ने पक्का छ । आगामी डिसेम्बरमा नेपालमै हुने सागको लागि आठौँ छनोट प्रतियोगितासमेत हो ।

अब नाथनसहितका खेलाडीहरु सागका लागि पौडीको छनोटमा पर्नेछन् । त्यसबाट उत्कृष्ट भएका खेलाडीहरुले नै नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।

सागको लागि आफू छनोट भए पक्कै खेल्न आउने र त्यसका लागि अझै मेहनत गर्नुपर्ने उनको बुझाई छ । ‘अब सागसम्म म अझै कडा मेहनत गर्नेछु । अहिलेसम्म मैले त्यति धेरै मेहनत गरेको छैन ।’

पाँच स्वर्ण जितेर चर्चित भएका उनको आगामी योजना के छ त ? जवाफमा नाथनले भने, ‘पौडीमा मेरो कुनै अल्टिमेट गोल छैन । म स्विम गर्न चाहन्छु । अरु जस्तै र आनन्द लिन चाहन्छु । इट्स फन फर मी ।’

सम्बन्धित समाचार