किन भएन नवराज सिलवालको बढुवा ?

July 16, 2017

काठमाडौं । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन (कासमु) मा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक (आईजी) बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी नायब निरीक्षक (डीआईजी) नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेन।

गृहसचिव अध्यक्ष, महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिले ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्दा सरकारसँग मुद्दा खेपिरहेका सिलवाल समेटिएनन्।

तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित सबै एआईजी (प्राविधिकबाहेक) ले सेवा अवधिका कारण एकसाथ अवकाश पाएपछि डीआईजी सोझै आईजी बन्ने अवस्था आएको थियो।

सरकारले चौथो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजी नियुक्ति गरेपछि सिलवाल ज्येष्ठता र कासमुलाई मिचेर नियुक्ति भएको भन्दै आफूलाई बनाइनुपर्ने दाबीसहित सर्वोच्च पुग्नुभएको थियो।

सर्वोच्चले चन्द नियुक्तिको निर्णय बदर गर्दै घुमाउरो पारामा सिलवाललाई नै नियुक्त गर्न आदेश दिएको थियो। तर, आफ्नो पनि कासमु हेरिनुपर्ने भन्दै डीआईजी प्रकाश अर्याल सर्वोच्च पुगेपछि आईजी नियुक्ति प्रकरणले नयाँ मोड लिएको थियो।

सरकारले कासमुमा डीआईजी प्रकाश अर्याल पहिलो नम्बरमा रहेको बताउँदै आइजीमा बढुवा गरेको थियो। सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा चन्दलाई आईजी बनाउनुपर्ने पक्षमा थिए। चन्द आईजी नहुने अवस्था आएपछि देउवा कुनै पनि हालतमा सिलवाललाई आईजी बनाउन नहुने अडानमा रहेका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

सम्बन्धित समाचार