ह्युस्टन अधिवेशनपछिको नेतृत्व र नेजाले सिक्नुपर्ने पाठ

May 18, 2017

सन्दर्भ प्रेस स्वतन्त्रता दिवस र नेजा अधिवेशन

अाङछिरिङ शेर्पा

‘सूचनाको पहुँच र आधारभुत स्वतन्त्र तपाईको अधिकार,’ भन्ने मुल नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभरि नै मनाइएको छ । संयुक्त राष्ट्र संघले हरेक वर्षको मे ३ तारिखको दिनलाई विश्व प्रेस स्वतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । यस अवसरमा विश्वभरिका सञ्चारकर्मीहरु विभिन्न स्थानमा भेला भई पेसागत हकहित र अधिकारसँगै प्रेस स्वतन्त्रताको वकालत गदै आइरहेका छन् । सञ्चारकर्मीको हैसियतले यो विशेष दिनको अवसरमा सबैलाई हार्दिक शुभकामना दिन चाहान्छु ।
विशेष गरी यो दिवसले विश्वमा जहाँ सूचनाको पहुँच पुग्न सकेको छैन त्यहाँ सजिलैसँग सूचनाको पहुाच पुगोस र प्रेस स्वतन्त्रता हनन भएको मुलुकमा प्रेस स्वतन्त्रताको बाहली होस भन्ने कामना गर्न चाहान्छु ।
सञ्चार क्षेत्रमा क्रियासिल हामी सञ्चारकर्मीहरु जहाँ भएपनि हरेक वर्ष प्रेस स्वतन्त्रता दिवस मनाउदै आएका छौ । तर गत वर्ष नेपालमा गएको भूकम्पको कारण सिंगो मुलुकनै शोकमा डुबेकोले प्रेस स्वतन्त्रता दिवस मनाउन सकिएन । प्रवासमा भने नेपालले भोग्नु परेको भूकम्पको पीडालाई सम्झेर मनाएका थिए ।
मुलुकको लामो जनयुद्ध र शाही शासनको दमनको बेला आफुले पत्रकारिता गर्दाका ती पीडादायिक दिनहरु प्रेस स्वतन्त्रता दिवसको यो अवसरमा सम्झन चाहान्छु । जतिखेर राज्य र विद्रोही पक्षले प्रेस जगतमाथि दमन र अन्यायपूर्ण ढंगबाट मानसिक र भौतिक आक्रमणहरु गरेका थिए । प्रेस स्वतन्त्रतामाथिको त्यो दमन र अत्याचारको विरुद्धमा नेपाल पत्रकार महासंघमार्फत सडक आन्दोलनमा निस्कदाँ घाइते भएको सम्झनाहरु ताजै जस्तो लाग्छ । देशमा निस्वार्थ रुपमा पेसागत पत्रकारिता गरिरहेको कतिपय पत्रकारहरुले भोग्नु परेको विभिन्न किसिमका पीडाहरु सम्झदा अहिले त्यतिखेर मुलुकमा प्रेस स्वतन्त्र नाम मात्रको थियो जस्तो लाग्छ । विगतमा बिर्सन नसकेका ती प्रेस स्वतन्त्रता हननका कुनै पनि कार्यहरु अबको दिनमा कहिल्यै नहोस भन्ने कामना गर्दछु ।
करिब डेढ दशक लामो नेपालको पत्रकारितापछि परिवर्तित समयसँगै प्रवासमा पत्रकारिता गदै आइरहेको छु । विदेशमा आए पनि पत्रकारितालाई निरन्तरता दिने क्रममा नेपालको सञ्चार क्षेत्र र सञ्चारकर्मीसँगको भावनात्माक सम्बन्ध दिनहु बढ्न थालेको थियो । त्यही भावनालाई अमेरिकामा स्थापित पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ नेजाले थप मद्दत र प्रोत्साहित तुल्याएको छ । नेपालमा केही संस्थाहरुले आफ्नो क्षेत्रमा गरेको प्रभावकारी भुमिको मुल्याङ्कन गर्ने हो भने कुनै पनि क्षेत्रको हितमा संस्था आवश्यक देखिन्छ । त्यही अनुभवलाई लिएर प्रवासको बसार्इं र सामुदायिक पत्रकारितासँगै नेपाली पत्रकारिता क्षेत्रको हितको लागि नेजामा महासचिव हुदै संस्थाको नेतृत्व गर्ने मौका मिल्यो ।
९ वर्षअघि अमेरिकामा स्थापित नेजा सुरुको दिनमा नेपालबाट आएका पत्रकारहरु भेला भई सुखदुःख साटासाट गर्ने मञ्च जस्तो थियो । विस्तारै पेसागत रुपमा सक्रिय पत्रकारको संख्या बढ्दै गएपछि अहिले त्यो उद्देश्य भेटघाटमा मात्र सिमित नभई संस्थागत रुपमा सामाजिक सेवा र हकहितको लागि परिणत भएको छ । आफुले नेतृत्व गर्दैगर्दा नेजाबाट अलग्गिएर अलग्गै संस्था खोलेर बाहिरिएका न्युयोर्कका दर्जनौं पत्रकारहरुलाई समेटेर संस्थाभित्र ल्याउन पाउनु संस्थाको हितमा ज्यादै सकारत्माक पक्ष थियो । त्यस्तै नेपाल पत्रकार महासंघ र नेजाले सधंै मिलेर साझेदारी कार्य गर्ने भनेर तत्कालीन महासंघका सभापति शिव गाउलेसँग सहमति गरेकै कारण अहिले महासंघ र नेजाको सम्बन्ध समुधुर भएको हो । यसको साथै भर्जिनियाबाट सुरु भएको संस्थालाई न्युयोर्कमा विधिवत रुपमा दर्ता गरेर संस्था यहाँसम्म आइपुग्दा नेतृत्वको दायित्व पुरा गरे झैं लागेको छ ।

सबैलाई समेटेर प्रभावकारी रुपमा संस्थागत सम्बन्ध विस्तारदेखि आर्थिक रुपमा पनि बलियो बन्न सफल नेजा गत टेक्सासको ह्युस्टन अधिवेशनमा नेतृत्व परिवर्तनपछि विवादित हुदाँ धेरै दुःख लाग्यो ।

 

दुर्भाग्य नै भनुँ आफनै नेतृत्वका वरिष्ठ उपध्याक्ष तथा वर्तमान अध्यक्ष गौतम दाहालले निजी स्वार्थमा मान्छे झिकाएका खबरहरु पढ्दा आश्चर्य लाग्यो । त्यसपछि उनीप्रति मनभरि धेरै प्रश्नहरु गर्न थाले । नेतृत्वमा पुगेको व्यक्तिको गैरजिम्मेवारीपूर्ण कार्यको परिणामस्वरुप न्युयोर्कका करिब आधा दर्जन पत्रकारहरुले फेसबुकमार्फत संस्थाबाट राजीनामा दिए । त्यसो त राजीनामा दिएका मित्रहरुले पनि व्यक्तिको प्रवृतिको कारण संस्थालाई अनुदार गरेजस्तो लाग्यो । समाजमा व्यक्ति जति ठुलो भएपनि संस्था व्यक्तिभन्दा अझ बढी हो । व्यक्तिहरु मिलेर बनेको संस्थामा कसैले छोडेर जाँदैमा संस्था कमजोर हुदैंन बरु संस्थामा मान्छेहरु आइरहन्छन् बुझ्नुपर्छ ।

आफुलाई मन परेन भने सम्बन्धित निकायमा विरोध गर्नुपर्छ । राजीनामा दिएर हिड्दैमा केही पाउने होइन । कसैलाई कोही मन पर्दैन त्यो बेग्लै कुरा हो । तर संस्थागत रुपमा नेतृत्वले गरेको गलत कार्यको विरोध गरेर त्यस्ता व्यक्तिलाई निरुत्साहीत बनाउन सक्नुपर्छ ।

ह्युस्टन अधिवेशनपछि नेजामा कसैले गलत कार्य गरियो भन्दैमा संस्थाबाटै बाहिरिने प्रवृत्ति र संस्थामा मैले जे गरेपनि हुन्छ मलाई कसैले पनि केही गर्न सक्दैन भन्ने दुबै मानसिकता बोकेको व्यक्तिहरुले संस्थालाई माथि उठाउन सक्दैन ।
संस्थामा रहदा मान्छे झिकाएको विवादमा अल्झेको संस्थाको नेतृत्वको विवाद सेलाउन नपाउदै कहिले एएनएको विवादमा कहिले एनआरएनको निर्वाचनको सम्बन्धमा र कहिले राजनितिक दलको पछि लागेको आरोप लागेको सुन्दा आफुलाई निकै खल्लो महसुस भयो । पछिल्लो समय कार्यसमितिमा नेजाको पुरस्कार व्यक्तिको नाममा दिने की संस्थाको नाममा दिने भनेर नेतृत्वबाट निम्ताएको विवाद पनि राम्रो थिएन । विवादकैबीचमा बाहिरिएका पत्रकारहरुलाई समेटन नसक्नु र संशोधित विधानअनुसार कार्यसमितिमा एक कार्यकाल पनि नबसेको व्यक्तिलाई संस्थाको नेतृत्वमा ल्याउन खोज्नु यो कार्यकालको सुखद पक्ष मान्न सकिदैन ।
अन्तमा यो नेतृत्वले गरेको कमीकमजोरीबाट अब आउने नयाँ नेतृत्वले पाठ सिक्नुपर्छ र यस्तो विवादबाट टाढा रहेर नेजाको विधान प्रक्रिया सम्मत रुपमा सबै पत्रकारहरुको भावनाअनुरुप अघि बढ्न सकोस भन्ने शुभकामना दिन चाहान्छु ।

–लेखक नेजाका पूर्व अध्यक्ष हुन ।

सम्बन्धित समाचार