सियाटालमा भेला हुदैं नेपाली अमेरिकी पत्रकार

July 18, 2018

एभरेस्ट टाइम्स/न्युयोर्क

प्रवासमा रहेका नेपाली पत्रकारहरु जुलाइको २१ र २२ तारिख वासिङट्न राज्यको सियाटालमा भेला हुदैंछन् । प्रवासी नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले यो अवसर जुराएको हो । नेजाको १२ साधारण सभा तथा छैटौं अधिवेशनको अवसर पारेर यो भेला आयोजना गरिएको हो ।

हरेक वर्ष मे महिनाको पहिलो साता प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुँदै आएको भेला यस पटक भने जुलाईमा पारेको छ । दुई वर्षको कार्यसमिति रहेको संस्थाले यही भेलामार्फत नयाँ नेतृत्वसमेत चयन गर्ने छ । नेजाले अमेरिकाको विभिन्न राज्यमा रहेको नेपाली समूदायसँग हातेमालो गर्दै भेला गराउँदै आएको हो । यसअघिको अधिवेशन लस एन्जलसमा भएको थियो भने त्यसअघि टेक्सासको ह्युस्टन, न्युयोर्क, एटलान्टिी सिटि र भर्जिनियामा भएको थियो ।

नेजाले नेपाल पत्रकार महासंघसँग गरेको आपसी सम्झौता अनुरुप नेजाको हरेक अधिवेशनमा प्रमुख अतिथिको रुपमा महासंघको अध्यक्षलाई प्रमुख अतिथिको रुपमा बोलाउँदै आएको छ । यस पटक महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आथित्यमा दुई दिने कार्यक्रम हुने छ । पहिलो दिन उद्घाटन र दोस्रो दिन बन्दसत्रसँगै नयाँ कार्यसमिति चयन । ‘प्रवासमा रहेका हामी पत्रकारहरुको साझा यो संस्था समय सापेक्षित रुपमा व्यवसायिक पत्रकारको उपस्थितिले नयाँ आयाम थापिदैछ,’ नेजाका अध्यक्ष भोला आचार्यले भने, ‘यही उपस्थितिले नेपाली समूदायको साथै मुलधारको पत्रकारितालाई जोड्न सकिने देखिएको छ ।’

यस ऐतिहासिक कार्यक्रममा भेला हुन सबै सदस्य साथीहरुलाई उपस्थितिका लागि पनि अध्यक्ष आचार्यले अनुरोध गरेको छ । कार्यक्रममा सहाभागी प्रतिनिधिहरुलाई कार्यक्रम अवधिभर नेजाले बस्नखानाको व्यवस्था गदै आएको छ ।

नेजा पत्रकारिता पुरस्कार

नेजाले नेपालको ग्रामीण भेगमा उत्कृष्ट पत्रकारिता गर्दै आएको एक जना पत्रकारलाई हरेक दुई वर्षमा नेजा उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान आएको छ । यसअघि १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार यस पटक बढाएर २ लाख २२ हजार २ सय २२ रुपैयाँ पु¥याएको छ । पुरस्कार नेजाले नेपालमा नेपाल पत्रकार महासंघको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति र अमेरिकामा नेजा पुरस्कार छनोट समिति गठन गरी प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले आयोजना गदै आएको कार्यक्रममा वितरण गर्दै आएको थियो भने यसपटक अधिवेशनपछि विशेष कार्यक्रमकोवीच प्रदान गर्ने भएको छ ।

नेपालमा महासंघका महासचिव रमेश विष्टको सयोजकत्वमा बनेको समितिमा सचिव रामप्रसाद दाहाल, आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्ष दण्ड गुरुङलगायत छन् भने अमेरिकामा नेजाका छनोट समितिमा पूर्व अध्यक्ष आङछिरिङ शेर्पाको संयोजकत्वमा विजय घिमिरे र ज्योति देवकोटा रहेका छन् ।

छनोट समितिले ३ जना छानेर पठाएकोलाई अमेरिकास्थित नेजाको छनोट समितिले १ जना छानेर अधिवेशनमा घोषणा गर्ने छ । पुरस्कृतलाई नेपालमा कुनै एक कार्यक्रम आयोजना गरी पत्रकार महासंघमार्फत पुरस्कार प्रदान गरिने छ । नेजाले नेपालको साथै अमेरिकामा कार्यरत पत्रकारहरुलाई पनि विभिन्न व्यक्तिद्वारा प्रयोजित पुरस्कार दिने गरेको छ । यसको लागि संस्थामा २ हजार डलर जम्मा भएको नेजाका महासचिव तोया दाहालले बताए । उनका अनुसार यो कार्यकालमा पुरस्कार सम्बन्धी कार्यविधि र आर्थिक कार्यविधि बनाएर ११ औं साधारण सभाबाट अनुमोदन गरिएको छ । ‘संस्थाले आपतकलीन कोष खडा गर्नुको साथै अरु संघसस्थासग कसरी मिलेर काम गर्ने र अघि बढ्ने बारेमा पनि स्पष्ट कार्यविधि पनि बनाएका छौ,’ महासचिव दाहालले भने ।

नेजाको सदस्यता बन्न अमेरिकामा दुई वर्ष पत्रकारिता अनिवार्य

नेजामा गैरपत्रकारहरुले पनि सदस्यता लिँदै आएको भनी टीकाटिप्पाणीहरु भइरहेको बेला नेजामा विगत केही वर्षदेखि सदस्यता लिन पत्रकार हुनुपर्ने र समाचार र लेख लेखेको आधारमा सदस्यता दिँदै आएको थियो । तर, अब नेजाको सदस्यता लिन कम्तीमा दुई बर्ष अमेरिकामा पत्रकारिता गरेको र नेपालको हकमा ४ वर्ष काम गरेर आएको साथमा पत्रकार महासंघको र सुचना विभागको पास भएको हुनुपर्ने मापदण्ड राखेको महासचिव दाहालले बताए । उनकाअनुसार यसपटक १ सय ४४ जनाले सदस्यताका लागि आवेदन दिएकोमा १ सय ३६ जना पत्रकारहरुले आबद्धता पाएका छन् ।

सम्बन्धित समाचार