अमेरिकी जनप्रतिनिधिसँग नेजाको अन्तरक्रिया

November 5, 2018

न्युयोर्क । नेपाली समुदायले अमेरिकामा छोटो अवधिमासमेत उल्लेखनीय उपस्थिति जनाउन सकेको भन्दै अमेरिकी जनप्रतिनिधिहरूले त्यसको प्रशंसा गरेका छन् ।

अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभए पनि पछिल्ला केही वर्ष यता धेरै क्षेत्रमा नेपालीले महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको भन्दै अमेरिकाका जनप्रतिनिधिहरूले त्यसको प्रशंसा गरेका हुन् ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले शुक्रवार न्युयोर्कमा आयोजना गरेको अमेरिकामा दक्षिण एसियाली समुदायको अवसर र चुनौती विषयक अन्तरक्रियामा सहभागी अमेरिकी सरकारका विभिन्न अंगका जनप्रतिनिधिहरूले आप्रवासीहरूका लागि अवसरको देश अमेरिकामा नेपाली समुदायले समेत त्यसबाट लाभ लिन सक्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा न्यूयोर्क सिटी काउन्सिलका सदस्य रोरी ल्यान्सम्यानले अन्य आप्रवासीहरूको तुलनामा नेपाली समुदायले छोटो समयमै लोभलाग्दो प्रगति गरेको बताए । उनले नेपाली समुदायले सदैव इमान्दारिता र लगनशीलताको परिचय बनाएको बताउँदै त्यसलाई जोगाएर भविष्यमा धेरै उपलब्धि हासिल गर्न सक्ने दिशामा नेपाली समुदाय अगाडि बढ्नेमा आफू विश्वस्त रहेको जनाए ।

अर्का काउन्सिल सदस्य कोस्टा कन्सटेन्टिनीडेसले अमेरिका सबैको निम्ति अवसरको भूमि भएको बताउँदै एक आप्रवासीको रूपमा आफ्ना पुर्खाहरूले गरेको संघर्ष सुनाउँदै समय लागे पनि अमेरिकामा सबैले अवसरको उपयोग गर्न सक्ने बताए । उनले नेपाली र समग्र दक्षिण एसियाली समुदायले भाषिक र सांस्कृतिक चुनौतीहरूका बावजुत प्रशस्त सफलताका कथाहरू कोर्न सफल भएको बताए । ‘यहाँ अवसरहरू यत्रतत्र छन्, तर हामीले चुनौतीलाई मात्र देख्ने हो भने केही गर्न सक्दैनौ,’ उनले भने । कोस्टाले आफ्नो चुनावी क्षेत्र, डिस्ट्रिक २२, मा १ सय १९ भाषा भाषी बोल्नेहरू रहेको जानकारी दिदैं भने – यो अमेरिकामै सबैभन्दा धेरै विविधता युक्त डिस्ट्रिक हो ।

कोीटाले नेपाली सामुदायिक भवन निर्माण अभियानमा आफूले सक्दो सहयोग गनसमेत प्रतिबद्धता जनाए ।

ज्याक्सन हाइट्सको बेम्बो हाउस एन्ड बारको सभाहलमा सम्पन्न कार्यक्रममा एनआरएनए अमेरिकाका महासचिव बाबुराम लामाले नेपाली समुदायले अमेरिकन मूलधारमा आफ्नो पहिचान स्थापित गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै फरक भाषा र संस्कृतिको कारण धेरै चुनौती व्यहोर्नु परेको बताए ।

उनले स्थानीय प्रशासन र सामाजिक संयन्त्रहरूमा पहुँच कमजोर हुँदा धेरै अवसरहरूबाट वञ्चित हुनु परेको बताए । क्विन्स कम्युनिटी बोर्ड सदस्य तथा हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवालीले स्थानीय राजनीतिक गतिविधि र सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागी नभएसम्म समुदायका सरोकारहरू सम्बन्धित निकायमा पुग्नै नसक्ने बताए ।

उनले राजनीतिक सहभागितामा विशेष जोड दिदैं यसले हाम्रो समस्या र सरोकार बारे यहाँको अमेरिकी समुदायलेसमेत जान्ने मौका पाउने जनाए ।

अर्का कम्युनीटि बोर्ड सदस्य नवराज केसीले सामुदायिक एकता नै अवसरको पहिलो शर्त भएको बताए । कार्यक्रममा अर्का सहभागी, बंगाली समुदायका अगुवा जोय चौधरीले ट्याक्सी चालकदेखि अमेरिकन आर्मी भेट्रान्ससम्मको आफ्नो कथा सुनाएका थिए । नेपाल विद्यार्थी संघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटाले नेपाली विद्यार्थीहरूले भोग्नु परेका विविध समस्याहरूका बारे प्रकाश पारेका थिए ।

सो अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूयोर्क च्याप्टर सभापति रामहरि अधिकारीले नेपाली मौलिक पहिचान स्थापित गर्न एनआएनएले गरेका विविध प्रयासका बारेमा जानकारी दिएका थिए । नेजाका महासचिव किरण मरहठ्ठाले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाहरूको सिटी काउन्सिल सदस्य रोरी र कोस्टाले सहभागीहरूले जवाफ दिएका थिए ।

सम्बन्धित समाचार