एकल जातीय सोचले बन्दैन नयाँ नेपाल

January 2, 2018

फुरल्हाक्पा शेर्पा

हाम्रो देश नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । जहाँ मिश्रित समाज र समूदाय लामो समयदेखि बसोबास गर्दै आइरहेका छन् । फरक भूगोल र फरक हावापानीका कारण नेपालका सबै समूदायको मौलिक संस्कृति र रहनसहन भिन्नभिन्नै रहेको छ ।

भिन्नभिन्नै समूदायका भाषा र संस्कृतिका कारण नेपालमा अनेकतामा एकता छ । सबैको फरक भाषा र संस्कृतिले नेपाल रंगीचंगी फुलबारी जस्तो सुन्दर देशको रुपमा चिनिएको छ । समय परिस्थितिसँगै नेपालमा अहिलेसम्म विभिन्न कालखण्डहरुमा धेरै परिवर्तनहरु भइसकेका छन् । जनताको संघर्षले भएका ती परिवर्तनहरुमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको छ । तर विडम्बना नै भन्नुपर्छ त्यतिका परिवर्तन भएपनि अझै पनि देश एक जात, एकै भाषा, एकै संस्कृति मान्ने समुदायले नै हालीमुहाली गर्दै आएको देख्दा दुःख लाग्छ ।

सीमित जातले लामो समयदेखि राज्य सत्ता चलाउदै आउनुको साथै उनीहरुले गर्दै आएको एकात्मक शैलीका कारण देशले सोचेजस्तो मुहार फेर्न सकेको छैन ।

विश्व समुदायमाझ नेपाल प्राकृतिक सुन्दरता र विविध जातजातिको संस्कृतिको कारण परिचित भए पनि सीमित शासक वर्गको साँघुरो सोचको कारण देश अघि बढ्न सकेको छैन । बास्तवमा देशमा अहिलेसम्म सबै भाषा बोल्ने, भिन्न संस्कृति मान्ने सबै समुदायका जनतालाई समान अवसर प्रदान गरी अगाडी बढाउनु पर्नेमा अहिलेसम्म जातमा खस र आर्य, धर्ममा हिन्दु धर्म मान्ने समुदायको जीवनस्तर उकास्ने सोच मात्र बढेको पाइयो ।

मुलुक धर्मनिरपेक्ष राष्ट्रको रुपमा घोषणा भइसके पनि अझै पनि षड्यन्त्रपूर्ण ढंगबाट नेपाल हिन्दु राज्य हुनुपर्छ भन्नेहरु छन् । नेपालका सरकारी कार्यालय, सुरुक्षा निकाय, प्रहरी, सेना र राजनीतिक दलका कार्यलयहरुमा झुण्डाइरहेको हिन्दु भगवानका तस्बीरहरु, जागिर खादा अनिवार्य रुपमा धर्ममा हिन्दु धर्म लेखिनुपर्ने, सपथ खादा गीतालाई छुनु पर्ने, नागरिकता लिदा ढाका टोपी लगाउनुपर्ने र अनिवार्य खस भाषा बोलिनुपर्ने जस्ता बाध्यात्मक ब्यवस्था अझैपनि लागु गरिनु अन्याय कार्य हो । यी बाध्यात्मक सोचहरु नहटेसम्म मुलुकका सबै जातजाति र सबै धर्म सम्प्रदायको भावनामाथि खेलवाड गरेको देखिन्छ । मुलुकमा हिन्दु धर्मलाई महत्व दिनु, संस्कृति शिक्षा र खस आर्य भाषालाई प्रथामिकता दिनले पनि एकात्माक बाध्यकारी ब्यवस्था सिर्जना भएको छ । राज्यसत्तामा बस्नेहरुको संकुचित सोचकै कारण हिन्दु र खस आर्य भाषा बोल्नेबाहेक अरु भाषाभाषी समूदाय र धार्मिक समुदाय राजनीतिक, सरकारी सेवा र सञ्चार जगतमा आउन नसकेको देखिन्छ ।

यस किसिमको सोचबाट अझै पनि बाहिर निस्कन सकेन भने अबका दिनमा अन्य समुदायले आफ्नो भाषा, धर्म र संस्कृति बाध्यताले बिर्सनु पर्ने देखिन्छ । यदि नेपालमा रहेका विभिन्न समुदायले बोल्दै आएका भाषा र धर्मसंस्कृति हराउँदै गए नेपालको परिचयमाथि संकट आउने देखिन्छ ।
लामो समयदेखि राज्यसत्ताको एकल जातीय सोचकै कारण नेपालमा हिन्दु संस्कृति संरक्षणका लागि निर्माण गरिएका संस्कृत अध्ययन केन्द्र, विश्वविद्यालय, मठमन्दिर र पण्डितको नाममा राज्यकोषबाट करोडौ बजेट निकासा हुदै आएको छ । तर त्यही अनुसार अन्य भाषाका समूदायको धर्म संरक्षणका लागि अध्ययन केन्द्र त के अन्य भाषाभाषी र धर्मको नामसमेत लिन नचाहनु दुर्भाग्य हो । नेपालमा हिन्दु धर्म र खास आर्यन भाषासँगै बौद्ध, ईसाई, मुस्लिम, किरात धर्मलम्बीहरुको साथै कैयौ मौलिक भाषा बोल्ने जातजाति सदियौदेखि बस्दै आएका छन् ।

उनीहरुको धर्मको आस्थाको केन्द्र स्तुपा, गुम्बा, चर्च, मस्जिद जस्ता धर्मिक स्थलमा राज्यले सहयोग गर्न नसक्नु एकात्मक सोचकै रुपमा लिनुपर्छ । राज्यले यी धार्मिक आस्थाका केन्द्रहरुमा सहयोग गर्नु त परै जाओस बेलाबेला विभिन्न बाहनामा दुःख दिनु अत्यन्तै गलत कार्य हो । यस्तै साँघुरो सोच र गतिविधिको कारण हाम्रो भाषा र धर्म संस्कृतिलाई एकात्मकवादी राज्य सत्ताले हत्या गर्न खोजिएको देखिन्छ ।

यसरी नै हाम्रो पहिचानलाई क्षति गर्दै गए राज्यपक्षले यसको सवै क्षती बेहोर्नुपर्दछ । राज्यको यी गैरन्यायीक विभेदपूर्ण सोच र व्यवहारको कारण जनजातिले नेपालमा र विदेशमा समेत आप्mनो भाषा बोल्न र प्रयोगमा ल्याउन कठिन भइरहेको छ । जुन अन्यतै दुखद पक्ष हो । अबको नयाँ नेपालमा देशबासी सबै नेपाली जनताले मान्ने सबै धर्म र बोलिने सबै भाषालाई समान अधिकार दिदैं राष्ट्रको विकास निर्माणमा सबै नेताहरु र पार्टी अघि बढ्नुपर्छ । सबै जाति जनजाति र समूदायको सम्मानजनक सहभागिता र साझा भावनाले मात्र देशको विकास गर्न सकिन्छ भन्ने सोच र चिन्तन अबको जन प्रतिनिधिहरुमा हुनुपर्छ । लामो समय एकात्मक सोचबाट गुज्रेको मुलुकमा अब नयाँ सोचका साथ परिवर्तन आउनु जरुर देखिएको छ ।

 

सम्बन्धित समाचार