नेपाल यात्रा-नुम्बुर हिमालको स्वागत र सोलुको माया

December 5, 2017

आङछिरिङ शेर्पा

जन्मभूमि सोलुखुम्बु जाने योजना अनुरुप त्यसदिन हामी बिहानै तयार भयौं । बिहान ५ बजे नै जिप आइपुगेछ । यात्रामा चालकसहित हामीहरु ६ जना थियांै । घरबाट निस्कँदा उज्यालो भएको थिएन । बौद्धको पिपलबोट हुदैं भित्रभित्रको बाटोबाट जिप अघि बढ्यो । दुध बोक्ने ट्रकका कामदारहरु बाटोका छेउकुना दुधका क्रेटहरु झार्दै थिए । पत्रिका बोक्नेहरु साइकल कुदाइरहेका थिए ।

कोटेश्वर हुदंै भक्तपुर पुग्दा बल्ल उज्यालो हुन लागेको थियो । १० वर्षपछि त्यो बाटोमा यात्रा गर्दा आसपासमा घरहरु थपेको, बाटोहरु केही फराकिलो भएको र कही कतै ट्राफिक बत्ती राखेको देख्दा केही परिवर्तन भएझैं लाग्यो । त्यही बाटोमा धेरै पटक साथीहरुसँग बनेपा र धुलिखेलसम्म बाइकमा घुम्न गएको यादहरु आए । समय कति छिटो बित्छ, अस्ति जस्तै लाग्ने त्यतिखेर घुम्न गएका मित्रहरु विपिन, सुवोध, उजिर र देवेन्द्रलाई सम्झें ।

बनेपा पुगियो । कुनैबेला जिल्लासम्म सडक सुविधा नहुदाँ जिरीसम्म बसमा, त्यसपछि दुई दिन हिडेर गाउँमा पुग्थ्यो । तर अहिले सडक पुगेर निकै सुविधा भएको पाइयो । यही बाटोबाट पूर्वको विभिन्न जिल्ला जाने मोटरहरु कुदिरहेका थिए । मौलिक गाउँबस्ती आसपासको डाँडापाखा र खोलानदी तर्दै त्यसदिन हामी साढे ११ बजे हर्कपुरमा खाना पुगियो । सोलुबाट फर्कनेहरु र सोलु जान लागेका यात्रुहरुले हर्कपुरको होटल पुरै भरिएका थिए । खानापछि ओखलढुंगा सदरमुकामतिर उक्लियौ ।

लेखक

तलदेखि माथिसम्म घुमाउरो ढंगले बनेको बाटोमा मास्तिर उक्लिदा तलतिरको दृष्यहरु निकै रमाणीय देखिन्थ्यो । सानोमा बुबासँगै घोडा चढेर कटारीसम्म घुम्न जाँदा ओखलढुंगा बजारमा बास बसेको याद आयो । बुवा घोडामा चढेपछि चपक्क समातेर मलाई अगाडि राख्नुहुन्थ्यो । अनि कटारी बजारसम्म घोडामा चढेर जान पाइन्थ्यो । बेलुकी त्यही ठाउको दुध, दही र भात फलफूल ख्वाउनुहुन्थ्यो । जीवन यस्तै रहेछ, अहिले बुवा अदृश्य हुनुभइसकेको छ । यतिखेर आफै बुवा बनेको छु । बुबाले गर्नु भएको माया सम्झदै छोराहरुलाई म बुवाले जस्तै माया गर्छु । बुबा सम्झिदाँ मन यसै यसै बहकियो, सम्हाल्न उहाँलाई मनमनै ढोगे ।

त्यतिखेरको ठाउँ त्यही भएपनि बसेको होटल परिवर्तन भएछ । फलफूलहरु बाहिर सजाएको थिएन । केही छिनको आरामपछि पुन मास्तिर उक्लेर माने भन्ज्याङमा रोकियो । डाँडामा सोलुको चिसो हावा चलिरहेको थियो । त्यहाबाट नुम्बुर हिमाल र अन्य हिमश्रृखला र काखमा रहेको धार्मिक तथा सामाजिक महत्वको सोलु प्रष्टै देखिन्थ्यो । प्रकृति सुन्दरताले भरिएको आकर्षणले सबैको मन निकै प्रफुल्लित बनायो । त्यसपछि हामी अघि बढ्यौं । अब ओरालोतिर झर्दै साल्मे पाखाको सिस्नेको बाटोमा जिप रोकियो । साँघुरो त्यो बाटोमा विस्तारै गुडीरहेको जिप झ्यालबाट हेर्दा खोलामा खस्छ कि झै लाग्थ्यो । यात्रा भरीकै सबैभन्दा कठिन र जोखिमयुक्त त्यही बाटो लाग्यो । कही कही रोकेपनि त्यसदिन ४ बजेनै हामी सोलुखुम्बु सदरमुकाम सल्लेरी आइपुग्यौ । काठमाडौंबाट, भक्तपुर, काभ्रे र विभिन्न जिल्ला हुदै जन्मस्थल सोलुखुम्बुसम्मको बाटोमा ओखलढुंगा पुग्न अगावैको खोलाको बाटो र साल्मे सिस्नेको ओरालो बाटो ज्यादै जोखिम लाग्यो ।

यो बाटोहरुको बारेमा सम्बन्धित निकायले बेलैमा सुधार गर्न नसके कुनै पनि बेला सोलु जाने यात्रुहरु त्यो बाटोहरुमा अलपत्र पर्ने देखियो । नुम्बुर हिमालको काखको सोलुखुम्बुसम्म मोटरमा पुग्नुको साथैसँगै पढेका र इष्टमित्रहरु भेट्न पाउँदा निकै खुसी लाग्यो । मोटर बाटो पुगेपछिको त्यो मेरो यात्रा थियो । लामो समयपछि पुगेकोले होला कतिपय सदरमुकामबासीहरु अपरिचित झै लाग्यो । बेलैमा पुगेपनि त्यो दिन सल्लेरीमै बास बस्यौ । भोलिपल्ट बिहानै हामी दाजुभाईसँगै गाउँतिर उक्लियौ । गाउँ जाने त्यही बाटो कुनैबेला ससानो झाडी मात्र थियो तर अहिले जंगलकै रुप लिन थालेछ । करिब १५ मिनेटको उकालो हिडेपछि गाउँ पुग्न अगावैको च्यार्तेनमा पुग्यो । गाउमा पुर्खाले ढुङगामा खोपिराखेको माने र गत वर्ष बनेको च्याङसुब छोर्तेन (स्तुपा)ले गाउमा उज्यालो थपे झै लाग्यो । सदरमुकामको शिरानीमा रहेको यो गाउ अझै पनि सदरमुकामको दृष्टि कम परेको देख्दा मन खल्लो भयो । समय परिवर्तनसंगै आफुले केही सहयोग गर्न पाएको सेर्गा बागम प्रथामिक विद्यालयको रुप फेरिएको देख्दा खुसी लाग्यो । विद्यालयमा पुगेपछि गाउलेले दिएको न्यानो स्वागतले मलाई थप जिम्मेवारीबोध गरायो ।

त्यसो त अग्रज आफन्तले दिएको आर्शीवादले हौसला पनि उतिकै मिल्यो । गाउलेहरुसँगको भेटघाट र भलाकुसारीपछि दिउँसो २ बजेतिर सल्लेरी झ¥यौं । सदरमुकाम सल्लेरी भएपनि मालपोत र नापी शाखा पछिल्लो समय दोर्पु बजारमा सरेको पाइयो । दुबै कार्यालय टाढा सरेपनि कर्मचारीहरुको कार्यशैलीमा केही परिवर्तन देखेन । नापी र मालपोत दुबैमा कार्यरत कर्मचारीहरुमा अझै पनि जनताबाट ‘अतिरिक्त’ रकम लिउ र चिया खाजा खाउ भन्ने सोच नहटेको देख्दा दिक्क लाग्यो ।

गाउलेसँगको भेटघाटसँगै घरयासी काम सकेपछि काठमाडौ फर्कनका लागी फाप्लु तिर गयौ । हामी मात्र थिएन फाप्लुमा काठमाडौ फर्कने पर्यटकहरुको उतिकै ठुलो हुल थियो । त्यति धेरै पर्यटकहरुको वीचमा हामीले कुनै पनि विमानको टिकट पाउन त्यति सजिलो थिएन । त्यसदिन तारा एयरमा कार्यरत मित्र अशोक थुलुङले हेलिकप्टर मगाइदिएर काठमाडौ आउने योजना पुरा गराइदियो । दुर्गम सोलुमा मोटर बाटो पुगेपनि फाप्लु विमानस्थलमा अझै पनि टिकट नपाएर छटपटिएका यात्रुहरु धेरै देखियो । त्यस दिन विहानै विमानस्थलको धावनमार्गमा कुकुरले बाटो काट्दा तारा एयरले अवतरण गर्न पाएन । यो आकस्मिक घटनामा पनि विमान कुशलतापूर्वक फर्काएर अवतरण गरेको चालक दललाई मनमनै धन्यवाद दिए ।

लुक्लापछिको व्यस्त फाप्लु विमानस्थलको धावनमार्गको दक्षिणतिर सरकारले अहिलेसम्म पनि सुरक्षाको दृष्टिले पर्खाल लगाउन नसकेको देख्दा निकै खल्लो बनायो । एक सुरक्षाकर्मी भन्दै थिए ‘के गर्नु सर हामी त उभिएर सुरक्षा दिने हो पर्खाल नभएपछि कतिखेर कुकुर स्याल छिर्छ थाहै हुदैन ।’ उनको कुरा सुनेपछि नागरिक उड्डयानको हेलचेक्राई सम्झें । विमानस्थलको अस्तव्यस्त हेरेपछि दिउँसो आमासँगै काठमाडौ पुगियो । सफा मौसमको वीच विभिन्न गाउँबस्ती छिचोल्दै र नियाल्दै काठमाडांै आईपुग्दा गाउँलेले दिएको माया झलझली भयो । आफ्ना जन्मगाउँ, आफूसँगै हुर्केकाहरुको मायाको स्वाद बेग्लै छ नै । ती मायाको स्वाद लिन, ती मायाको पैंचौ तिर्न फेरि फर्केर आउनेछु ।

क्रमशः

अघिल्ला ब्लगहरू

मेरो नेपाल यात्रा-१

जोकर फाल्तु बनेको एनआरएन अमेरिका

सम्बन्धित समाचार