अमेरिकामा छैटौं नेपाली लेडिज साँझ, प्रस्तुत गरे प्रतिभा

June 6, 2018

मच्छे गुरुङ/न्युयोर्क

न्यूयोर्कलगायत आसपासमा बसोबास गर्दै आएका नेपाली महिलाहरुले मनाउँदै आएको नेपाली लेडिज साँझको छैटौं संस्करण गएको शनिबार सम्पन्न भएको छ । महिलाका लागि महिलाद्धारा क्वीन्सको ज्याक्सहनहाइटमा आयोजित लेडिज साँझ कार्यक्रममा नेपाली महिलाहरुले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

नेपाली पहिरन सारी, राई जातिको पहिरन र विभिन्न फेसनका पहिरनमा युवती तथा प्रौढ महिलाहरुले फेसन शो गरेका थिए । सन् २०१२ देखि निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रमका संयोजक मुना राई गुरुङले जानकारी दिइन् । हरेक बर्ष नयाँ नयाँ अवधारणाको साथ हुने लेडिज साँझ यस बर्ष फेसन सोमा केन्द्रित रहेको संयोजक राइको भनाइ छ । फेसन शो को कोरियोग्राफ नेपालकी पूर्व मोडल डेइजी शेर्पाले गरेकी हुन् ।

यसैबीच,  यस्ता साँझ आयोजना गरेर प्रवासमा रहेका नेपाली महिलालाई एकै ठाउँमा ल्याएर महिलाको सशक्तीकरणमा योगदान पुर्‍याएको र मानवीय सहयोग गरेको भन्दै न्यूजर्सीको जर्सी सिटीका काउन्सिल प्रेसिडेनट रोलाण्डो लाभारोले लेडिज साँझ आयोजक टिमलाई सिटी साइटेसनद्धारा सम्मान गरेको छ ।

उक्त सम्मान जर्सी सिटी मेयरकी सल्लाहकार तथा महिला अधिकारकर्मी विष्णु माया परियारले संयोजक मुना राईलाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा २ सय ७६ महिला सहभागी थिए । लेडिज साँझ टिमले बालबालिकाको लागि आयोजित चिल्ड्रन ट्यालेन्ट शो गर्न सहयोग गरेको संयोजक राईले जानकारी दिइन ।

फेसन शो को कोरियोग्राफ नेपालकी पूर्व मोडल डेइजी शेर्पाले गरेकी हुन् । पूर्व मोडेल डेजी शेर्पाले कोरियोग्राफी गरेको फेशन शोमा, डेजी शेर्पा, कविता, सोनु, डोल्मा, साङ्गे, हिशि, बसन्ती, एलिजा, बिनि, सुजु, डेजि, करुणा र ऐस्वर्याले नेपाली सारी पहिरन र आधुनिक ड्रेसमा फेशन शो गरेका थिए ।कलाकार बसन्ती राई, मेलिशा राई र अलिशा राईले किराती राईको  परम्परागत पहिरन  लगाएर साकेला गीतमा साँस्कृतिक फेशन शो गरेका थिए ।

कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुले नृत्य गरेर उपस्थित महिला दिदी बहिनीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । साहित्यकार गीता खत्री, नायिका बिनिता बास्कोटा पौड्याल,सुजाता श्याङ्देन र अर्चना मगरले नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली लेडिज साँझ आयोजक समितिले हरेक वर्षको मुनाफाबाट नेपाल र अमेरिकामा सामाजिक सेवामा सहयोग पुर्‍याउँदै आएको आयोजकले जनाएको छ  ।

सम्बन्धित समाचार