नेपाल प्रहरीको आईजीमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

April 10, 2018

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकमा सर्बेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डीअाईजी खनाललाई अाइजीमा बढुवा गरेको हो । यसैगरी सरकारले सशस्त्र प्रहरीको महानिरिक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।

कार्यसम्पादन मूल्यांकनमा सर्वेन्द्र खनाल पहिलो नम्बरमा थिए । प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधि पूरा गरेर बुधबारदेखि अवकाश पाउँदैछन् ।
प्रहरी महानिरीक्षकको दौडमा खनालसँगै डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धी थिए । २०४६ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेको सर्वेन्द्र खनालले आफ्नो करिअरमा कुख्यात भारतीय अपराधी बब्लु दुबेको पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर लगायत अन्य थुप्रै अपराधको सफल अनुसन्धान गरेका थिए । नेपाली फुटबल इतिहासमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा नेपाली टिमका कप्तान सागर थापा ,विकास राई, अन्जन क्षेत्री लगायतलाई कानूनी कठघरमा ल्याएका थिए ।
नेपाल प्रहरीको प्रवक्ता हुँदै उनी महानगरीय ट्राफिक प्रहरी प्रमुखमा कार्यरत थिए ।

 

 

सम्बन्धित समाचार