Everest Times

अाङरिताका परिवारद्वारा सहयोग संकलन तत्काल रोक्न अनुरोध

काठमाडाैं । हिउँचितुवाका नामले परिचित अाङरिता शेर्पाका छोरा छेवाङ दोर्जे शेर्पाले बुवाको उपचारका लागि शुभेच्छुक र सहयोगीहरूले चन्दा संकलन थालेको भए तत्काल रोक्न अनुरोध गरेका छन् ।

बिनाअक्सिजन १० पटक सगरमाथा अारोहण गरिसकेका शेर्पा बिरामी भएपछि काठमाडाैंको न्युरो अस्पतालमा उपचार गराइरहेका छन् । उनको स्वास्थस्थिति सुधारोन्मुख रहेको र समाचारहरूमा अाएजस्तो उपचार खर्च अभाव नरहेको  अमेरिकामा रहेका उनका छोरा छेवाङले बताए ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो बुबालाइ शुभेच्छुकहरूले सम्मान व्यक्त गर्दै उपचारका लागि चन्दा संकलनसमेत गर्न थाल्नु भएको समाचार सामाजिक संजालमा अाउन थालेको छ । हमा्रो बुवाले सरकारबाट पाउने सेवा सुविधा पाउँदै अाउनु भएको छ तर स्वास्थ्य उपचारकाे शीर्षकमा भने सरकारबाट सहयोग प्राप्त नभएको सत्य हो । तथापि नेपाल पर्वतारोहण संघबाट निरन्तर रूपमा सहयोग प्राप्त भइ रहेको छ । संघले अावश्यताअनुसार थप खर्च गर्न तयार रहेको वचन समेत दिएको छ । भाग्यबश हामी परिवारका सदस्यहरू पनि अाफ्नै स्रोत र साधनले बुवाको उपचार गर्न सक्षम छाैं ।’

सरकारले सहयोग नगरेको कुरा सत्य भएको स्विकार्दै उनले नेपाल पर्वतारोहण संघले निरन्तर सहयोग गरिरहेको र थप सहयोग प्रतिबद्धतासमेत जनाएको अवस्थामा सहयोग तत्काल अावश्यक नरहेकोले भविष्यमा काबु बाहिर गएमा सहयोग माग्ने उल्लेख गर्दै छेवाङले सहयोग रोक्न अनुरोध गरेका हुन् ।

उनले बुवाको स्वास्थस्थितको कामना गर्ने र सहयोग गर्न चाहने सम्पूर्णमा कृतज्ञता व्यक्त गरेका छन् ।

यसैबीच अाङरितालाइ सरकारले सहयोग गर्ने वचन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस्