Everest Times

पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २५० पुग्यो, ४३ जना बालबालिका

मोकोआ । कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या २५० पुगेको छ ।

मोकमोआमा भएको घटनामा परी मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् । अन्य २०० जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिनसक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन् ।

राष्ट्रपति जोन म्यानुअल सान्तोषले ठूलो स्वास्थ्य समस्या देखिनसक्ने भन्दै पानी र औषधिको तत्कालीन व्यवस्था गर्न निर्देशन दिएका छन् । विद्युत् र खानेपानीको सेवा अहिलेसम्म पनि सुचारु हुन सकेको छैन ।

विद्युत् वितरणका संरचना फेरि बनाएर विद्युत् सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीले बताएका छन् । तत्कालका लागि भने त्यहाँ बोतलको पानीको व्यवस्था गरिदैँछ ।
सरकारसँग ऐतिहासिक शान्ति प्रक्रियामा रहेको बामपन्थी विद्रोही समूह रिभोलुस्नरी आर्मड फोर्स अफ कोलम्बिया (एफएआरसी)ले पनि विपद्मा परेकालाई अनपेक्षित सहयोग गरेका छन् ।

उनीहरुले बाढीपहिरोले क्षतिग्रस्त ठाउको पुनःनिर्माणका लागि पनि योजना बनाइरहेको बताएका छन् । स्थानीय बासिन्दाले विपद्का लागि कुनै पूर्व तयारी नभएको बताएका छन् ।

गत शुक्रबार अबेर भिषण वर्षा भएपछि बाढीपहिरोको सामान्य चेतावनी भने दिइएको थियो । पहिरोले हजारौ घर, पुल, सवारी साधन, रुख ढलाएको तथा बगाएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताउनुभयो । विशाल हिमपहिरोका कारण मोकोआ नदीमा ठूलो बाढी आएका उनको भनाइ छ ।

राष्ट्रपति सान्तोषले त्यो नदीमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरिपरी बसोवास गर्नेहरुलाई सतर्क रहन भनिए पनि अनपेक्षित बाढी आएको बताए ।

सिएनन/फोटो-गेट्टी इमेज

प्रतिकृया दिनुहोस्