Everest Times

निर्वाचन एकै चरणमा तोकिएकै मितिमा गर्ने पाँच दलको निर्णय

काठमाडौं । प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका छन् ।

निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटारमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासहितको अाकास्मिक बैठक बोलाएका थिए ।

प्रमुख पाँच दलका नेताहरुले स्थानीय तहको निर्वाचनका सम्बन्धमा उठेका भ्रम चिर्दै निर्धारित मितिमा एकै चरणमा हुने पनि स्पष्ट पारे ।

बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवाले वैशाख ३१ मा कुनै पनि हालतमा निर्वाचन हुने बताउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने निश्चत भए केही स्थानमा दुई चरणमा निर्वाचन गर्न सकिने बारेमा छलफल भएको जानकारी दिए ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मोर्चाले निर्वाचनलाई अवरोध गर्ने गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको सम्बन्धमा छलफल हुनुका साथै मोर्चालाई सहमति ल्याई निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको बताए ।

निर्वाचनको सुरक्षामा कुनै कमी नरहेको बताउँदै उपप्रधानमन्त्री निधिले भने, “चारै सुरक्षा निकाय तयारी अवस्थामा छन् । कुनै पनी हालतमा वैशाख ३१ मा निर्वाचन हुन्छ ।”

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने र सकेसम्म सबैलाई सहभागी गराउन सत्ता र प्रतिपक्षबाट प्रयत्न गर्ने विषयमा छलफल भएको जानकारी दिए । नेता नेम्वाङले वैशाख ३१ गते एकै दिन एकै चरणमा देशव्यापी रुपमा निर्वाचन सम्पन्न गर्ने निष्कर्षमा बैठक पुगेको बताए ।

पाँच दलले मोर्चा र सङ्घीय गठबन्धनलगायत सबै दललाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म सत्ता पक्षले प्रयास जारी राख्ने र त्यसमा प्रतिपक्षले सकारात्मक सहयोग गर्ने निष्कर्ष निकालेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, नेता वर्षामान पुन ‘अनन्त’, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

प्रतिकृया दिनुहोस्