Everest Times

‘घामपानी’ फरक स्वादको फिल्म हो–दीपेन्द्र लामा, निर्देशक

रंग पत्रकारितामा झन्डै १८ वर्ष लगातार खटेका दीपेन्द्र लामा निर्देशक बनेका छन् । चलचित्र घामपानीबाट उनले निर्देशनमा डेब्यु गरेका हुन् । उनकै लेखनमा रहेको चलचित्र घामपानी वैशाख १ बाट नेपालभर प्रदर्शनमा आएको छ । चलचित्रमा दयाहाङ राई र केकी अधिकारीको मुख्य अभिनय रहेको छ । उनीहरुलाई अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, मणिराम पोखरेल, अमोघ पोखरेल, प्रेमवर्षा खड्का, सम्रान्त थापा, विजय राई लगायतले साथ दिएका छन् । घामपानीमा संगीतकार कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङले संगीत दिएका छन् । फिल्मलाई सिनेमेट्रोग्राफर शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् ।
सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल, असलेशा इन्टरटेनमेन्ट र टचलाइट प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् । जातीय मेलमिलापको कथा रहेको यस कथा नौलो स्वादको भएको निर्माण पक्षको भनाई रहेको छ । यसअघि दीपेन्द्रले नागबेली चलचित्रमा पटकथाको जिम्मेवारी सम्हालेका थिए ।
काठमाडौं स्वयम्भुमा जन्मेका दीपेन्द्र सुरुका दिनमा खेलकुदमा थिए । उसुमा डिप्लोमा गरेका उनलाई पत्रकारिताले आकार्षित ग¥यो । पत्रकारिताका सुरुकै दिनदेखि चलचित्रका विषयमा लेख्न थालेका उनी हकी समीक्षकका रुपमा प्रस्तुत हुन्थे । उनको समीक्षा पढेर दर्शक भड्किएको भन्दै नायक भुवन केसीदेखि दिनेश डिसीसम्म उनीविरुद्ध खनिएका थिए । अहिले उनै लामा फिल्म निर्देशनमा उत्रिएका छन् । प्रस्तुत छ उनै निर्देशक लामासँग गरिएको कुराकानीः

एउटा हकी समीक्षक अब चलचित्र निर्देशक भएको छ, कस्तो लागिरहेको छ ?
नेपाली चलचित्रमा जुन किसिमको स्वाद छ, जुन किसिमको प्रस्तुति छ त्यसलाई फरकपन प्रदान गर्न म निर्देशनमा उत्रेको हुँ । हिजो बनेका फिल्महरुमा यस्तो भएन उस्तो भएन भनेर लेखिरहदाँ आफैले बनाउँ भन्ने लागेर पनि यसमा हात हालें । अहिलेसम्म राम्रै भइरहेको छ, राम्रो हुनेछ भन्ने आशा पनि गरेको छु ।
तपाईंले धेरैजसो समीक्षाले शत्रु कमाएको छ, अहिले त्यसैको कारण तपाईंको चलचित्रलाई बाहेक गर्नेहरु पनि बढ्दो छ भन्छन् नि ?
चलचित्र पत्रकारितामा बिशुद्ध रुपमा पाठकको लागि मैले लेखेको छु । यस्तो बेलामा कतिपय निर्माण पक्षका साथीहरु रिसाउनु पनि भयो । आवेगमा जोकोहीलाई रिस उठ्छ । यो क्षणिक शत्रुता हो । स्थायी रिस होइन । त्यसैले मेरो फिल्मलाई बाहेक गरे भन्ने कुरा निराधार छ ।

साँच्ची तपाईंले अहिलसम्म कति चलचित्र हेर्नुभयो, अनि कतिको समीक्षा गर्नुभयो ?
नेपाली, अंग्रेजी, हिन्दीलगायतका विभिन्न भाषाका गरी हजारभन्दा बढी फिल्म हेरें । विसं २०५० देखि २०६० सालसम्मका नेपाली फिल्म त एउटै पनि छुटाइनँ । पत्रकारितमा लगेयता सयको हाराहारीमा समीक्षा गरें ।
यी समीक्षाहरुलाई दाँज्दा घामपानी कस्तो बनेको छ ?
मैले अघि नै भनें, नेपाली फिल्ममा फरकपनको स्वाद आएकै छैन । त्यसैले फरक खालको बहस जन्माउन यो फिल्म बनेको हो । मेरै कथामा मैले निर्देशन गर्नुको कारण पनि त्यही हो । त्यसैले यो फिल्ममा मैले गाली पाउँदिनँ भन्ने मलाई लागेको छ ।
नयाँ सालकै दिनबाट चलचित्र हलहरुमा लाग्नुको कारण ?
एक त नेपाली नयाँ वर्षमा दर्शकलाई फिल्म पस्कनु हो भने अर्को फिल्मका मुख्य पात्र दयाहाङ राईको जन्मदिन पनि यही दिन परेकोले नयाँ वर्षकै अवसरमा रिलिज गरिएको हो ।
कस्तो रह्यो प्रतिक्रिया ?
स्पेसल स्क्रिनिङमा धेरैबाट वाहवाही पाएँ । वरिष्ठ पत्रकार किशोर नेपाल, नारायण वाग्लेबाट फिल्म कुल रहेको प्रतिक्रिया पाएँ । पहिलो दिनमा म गोपीकृष्णमा भींडमा पसेर फिल्म हेरें । भींड बाक्लो थियो । हाउसफुल थियो । दर्शकले मिठो मानेर हेरे । यसरी दर्शकसँगै बसेर फिल्म हेर्न पाएकोमा खुसी लाग्यो ।
घामपानीमा हलसम्म गएर हेर्ने विषयवस्तु के छ ?
विशेषता प्रस्तुति हो । यसरी मेनस्ट्रिममा तामाङको विषयवस्तुलाई प्रस्तुति गरिएको पहिलोपटक हो । नेपाल विभिन्न जातजातिले सिंगारेको मुलुक हो । यहाँका जातजाति कसरी मिलेर बसेका छन् र यहाँ केमा द्वन्द्व भइरहेको छ भन्ने कुरालाई प्रस्तुत गरेको छु ।
अमेरिकामा कहिले आइपुग्छ घामपानी ?
अमेरिकामा सिनेम्याक्स कम्पनीले जिम्मा लिएको छ । मेमा नै प्रदर्शनको तयारी भइरहेको छ भन्ने छ । न्युयोर्कमा सबैभन्दा पहिले शो गर्ने तयारी कम्पनीले गरेको छ ।

प्रतिकृया दिनुहोस्