Everest Times

कविराजले ल्याए तामाङ बालगीत संग्रह ‘हक्कपक्कु’

भक्तपुर । तामाङ साहित्यमा निरन्तर कलम चलाउँदै आएका कविराज काल्तान तामाङको तामाङ बालगीत संग्रह ‘हक्कपक्कु’ सार्वजनिक भएको छ ।
शनिबार भक्तपुरका रोसम स्कुलमा उनको कृति पत्रकार एवं साहित्यकार फुलमन वल, तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङ, तामाङ घेदुङकी सचिव सञ्चु ब्लोनलगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
तामाङ गीत, कविता र हाइकुमा कलम चलाउँदै आएका कविराजको यो पहिलो बालकृति हो भने यसअघि उनका एक चिठी संग्रह र हाइकु संग्रह प्रकाशित छन् ।


तामाङ परिवेश र बालबालिकाका विषयलाई आफुले संग्रहमा उतारेको लेखक कविराजले बताए ।
नेपाली भाषामासमेत उल्था भएको उक्त संग्रह तामाङ बाल साहित्यमा उदाहरणीय रहेको पत्रकार फुलमान वलले बताए । उनले लेखकलाई तामाङ बाल साहित्यमा ग्रेटवालका रुपमा देखिन सुझाव दिदैं अबको दिनमा व्यवसायिक हुनुपर्ने बताए ।
तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङले तामाङ साहित्यमा कलम चलाउन चूनौतीपूर्ण रहेको र त्यसमा पनि बालबालिकाका लागि सामग्री कम भएको अवस्थामा कविराजले कृति ल्याएर गुण लगाएको बताए ।


उक्त कार्यक्रममा तामाङ डाजाङकी अध्यक्षसमेत रहेकी घेदुङकी सचिव सञ्चु ब्लोनले कविराजको कृतिबारे चर्चा गर्दै बाल गीतका केही भाकासमेत सुनाएकी थिइन् ।
सेमलेङ न्हानको नियमित कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा विभिन्न स्रष्टाहरुले आआफ्नो रचनाहरुसमेत वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस्