Everest Times

खुम्बु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा कमी, ६ करोड बढी राजस्व संकलन

अघिल्ला आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्यामा कमी आएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले उपलब्ध गराएको आ.ब. २०६४÷६५ देखिको तथ्याङ्कलाई नियाल्दा गत आर्थिक बर्षमा पर्यटकको संख्यामा कमी आएको हो ।

गत आर्थिक बर्ष बिभिन्न देशका २६ हजार ८ सय १३ जना पर्यटक खुम्बु क्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार जोरसल्लेले जनाएको छ । प्राप्त तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७२÷७३ मा सबैभन्दा बढी अमेरिकाबाट ३ हजार १ सय ९२, अष्ट्रेलियाबाट २ हजार ७ सय २७, बेलायतबाट २ हजार ५ सय ६, जर्मनीबाट २ हजार ७७, जापानबाट १ हजार २ सय ४३ तथा फ्रान्सबाट १ हजार २ सय २ जना पर्यटक भ्रमणका लागि सगरमाथा क्षेत्र पुगेका थिए ।

आर्थिक बर्ष ०७२÷७३ को तुलनामा आ.ब. ०६४÷६५ मा २७ हजार ४ सय ७५, ०६५÷६६ मा २९ हजार २ सय ७९, ०६६÷६७ मा ३१ हजार १ सय २६, ०६७÷६८ मा ३३ हजार ३ सय ९० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । त्यस्तै ०६८÷६९ मा ३५ हजार ५ सय ३१, ०६९÷७० मा ३६ हजार ६ सय ५०, ०७०÷७१ मा ३५ हजार १ सय ७१, ०७१÷७२ मा ३४ हजार ४ सय १२ जना पर्यटक खुम्बु पुगेको कार्यालयले श्रोतले जनाएको छ ।

गत आर्थिक बर्ष सगरमाथा राष्ट्रिय निकुञ्जले ६ करोड ७१ लाख ९५ हजार २ सय ५५ रुपैंया ९३ पैसा राजस्व संकलन गरेको छ । निकुञ्जको कार्यालयले पर्यटक प्रबेश शुल्क, पर्यटकिय भरिया शुल्क, काठ, मालिङ्गो, ढुङ्गा तथा वालुवा पुर्जि, निकुञ्ज क्षेत्रमा हेलिकोप्टर अवतरण, प्याराग्लाईडिङ, दण्डजरिवाना र अन्य बिबिध शुल्क अन्र्तगत राजस्व संकलन गरेको हो ।

कार्यालयका अनुसार गत आर्थिक बर्षमा पर्यटकको संख्यामा कमी आउनु २०७२ सालको भुकम्प, भारतीय नाकाबन्दी, राजनीतिक अस्थिरता नै प्रमुख देखिएको छ ।

प्रतिकृया दिनुहोस्