Everest Times

शेर्पा भाषाको अर्को चलचित्र “टिनछेन फमा” प्रदर्शनको तयारीमा

काठमाडाैं । शेर्पा म्युजिक वल्डको ब्यानरमा निर्माण भईरहेको शेर्पा भाषाको चलचित्र “टिन्छेन फमा” चाडै नै पर्दामा आउने भएको छ । गत फेब्रुवरी २ बाट काठमाडाैंको बौद्ध स्तुपामा धार्मिक पुजापाठबाट शुभ मुहर्त गरी छायांकन सुरु गरिएको यो चलचित्रको ८० प्रतिशत काम सकिएको र चाडै चलचित्र प्रदर्शनको तयारीमा रहेको चलचित्रका निर्देशक आङ ङिमा शेर्पा (कुङ्गा)ले बताईन ।

“टिन्छेन फमा” अर्थात “अभिभावक” चलचित्रको नाम झै एउटा मान्छेको जिवनमा अभिभावको कति महत्व रहन्छ भन्ने मूल कथाबस्तुमा आधारित रहेको यो चलचित्रले शेर्पा भाषा, कला संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने निर्माण पक्षको दावी रहेको छ ।

विविध कारणले लोप हुदै गईरहेको शेर्पा भाषालाई संरक्षण गर्न र युवा पुस्तामा शेर्पा भाषाको महत्व जगाउनका लागि चलचित्रका सबै सम्वादहरु शेर्पा भाषामा नै हुने र अंग्रेजी अनुवादमा सबटाईटल रहने बताईएको छ । साथै चलचित्रमा शेर्पा समूदायको पृथक चालचलन, रीतिथिती र कला संस्कृतिहरुलाई समेट्न विशेष गरी शेर्पाहरुको आदिम थाकथलो सोलुखुम्बुमा यस चलचित्रको छायांकन गरिएको छ ।

त्यसै गरी चलचित्रमा उस्तै प्राकृतिक सुन्दरताको समिश्रण गराउन नेपालका हिमाली जिल्लाहरु मनाङ र मुस्ताङमा समेत केही दृष्यहरु छायांकन गरिएको छ । चलचित्रका निर्देशक समेत रहेकी आङ ङिमा शेर्पा (कुङ्गा)को साथमा तेन्जी शेर्पा, आङ कुङगा शेर्पा र छोङ्बा शेर्पाको संयुक्त निर्माणमा रहेको “टिन्छेन फमा” मा शेर्पा समूदायका कलाकारहरुको मुख्य अभिनय रहेका छन् । यस चलचित्रको कथा/पटकथा र गीतका रचनाहरु पनि निर्माता/निर्देशक आङ ङिमा शेर्पा(कुङ्गा) कै रहेका छन भने चलचित्रमा १ श्यब्रु सहित ३ वटा शेर्पा गीत रहेका छन ।

प्रतिकृया दिनुहोस्