Everest Times

वर्ष २०७३ का चर्चित व्यक्ति

वर्ष २०७३ समग्रमा सुखमय देखिएको छ । नाकाबन्दीको घाउ आलै रहेपनि लोडसेडिङ हट्नु, संविधान संशोधन प्रस्ताव दर्ता हुनु, चुनाव घोषणा हुनु र स्वास्थ्य क्षेत्रमा सुधार देखिनुजस्ता विषयहरु यस वर्षका प्रगति हुन् । यसै सेरोफेरोमा यस वर्ष कोको चर्चामा रहे भनेर यहाँ प्रस्तुत गरिएको छ ।

कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको पद सम्हालेपछि कुलमान घिसिङ चर्चामा आए । उनले सुरुमा काठमाडौंमा लोडसेडिङ हटाए । १६ घन्टासम्म लोडसेडिङ सहन बाध्य काठमाडौंवासीलाई उनले राहत दिए । प्राधिकरणको नेतृत्व सम्हालेको सात महिनाको अवधिमा नै लोडसेडिङ हटाएर प्रशंसनीय काम गरेका छन् । कर्मचारीले नागरिकको अपेक्षाअनुसार काम नगरेको आरोप लागिरहेका बेला घिसिङले कुशल व्यवस्थापकको काम गरेर उज्यालो नेपाल अभियान चलाएका छन् । कुलमानको सर्वत्र चर्चा र प्रशंसा अहिले पनि कायमै रहेको छ । यद्यपि, बत्ती जानसाथ ‘कुलमान गयो’ भन्ने थेगो नेपालीमाझ चल्न थालेको छ ।
जनार्दन शर्मा, उर्जा मन्त्री
ऊर्जामन्त्री जनार्दन शर्माले जनताको मन जित्न सफल भएका छन् । मन्त्री भएको छोटो अवधिमा नै उनले देशभर व्याप्त रहेको लोडसेडिङ हटाएर जनतालाई ठूलो राहत दिन सफल भएका छन् । यस वर्ष धेरै चर्चाको पात्रका रूपमा शर्मा रहन सफल भए । मन्त्री शर्माको कामको कारण देशमा मात्र नभई विदेशमा समेत चर्चाको विषय बन्न पुगेको छ । एकजना कुशल व्यवस्थापन गर्नसक्ने कर्मचारी छान्न सकेकोमा उनी धन्यवादको पात्र बनेका छन् ।
गगन थापा, स्वास्थ्य मन्त्री
स्वास्थ्यमन्त्री गगन थापा पनि प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा सफल मन्त्री मानिएका छन् । उनले प्रत्येक स्वास्थ्य संस्थामा ५ बजेसम्म अनिवार्य रूपमा बस्नुपर्ने, त्यस अवधिमा निजी अस्पतालमा काम गर्न नपाइने नियम लागू गरे । थापाले मानसिक रोगीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेदेखि ७० प्रकारका औषधि निःशुल्क उपलब्ध हुने व्यवस्था मिलाए । थापाकै पहलमा राज्यका पूर्वविशिष्ट र विशिष्टहरूलाई राज्यले उपलब्ध गराउने सीमा तोक्न सफल भए । गाउँगाउँमा डाक्टर पठाउनेदेखि लिएर निःशुल्क मृगौला प्रत्यारोपण र गरिब तथा अशत्तःलाई परिचयपत्रको आधारमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने काम गर्न सफल भए । थापाले स्वास्थ्य क्षेत्रमा गरेको सुधारले पनि धेरै नागरिकहरूको मन छोएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री
आफ्नै सहमतिमा बनाएको केपी ओली सरकारलाई ढालेर कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्न बने । गठबन्धन निर्माणका क्रममा मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै करिब ८ महिनापछि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सबैभन्दा बढी रस्साकस्सी संविधान संशोधन विधेयक संसद्मा पेस गर्ने क्रममा भयो । जसका कारण ४० दिनसम्म संसद् बैठक चलेन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निकै घोचपेच भयो ।
गठबन्धन जोगाउन प्रचण्डले एक सिट भएका सांसदलाई पनि मन्त्रिमण्डलमा सहभागी बनाउने विषय पनि चर्चाकै विषय बन्न पुग्यो । गठबन्धन कायम गर्न राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाएपछि तीन सातासम्म मन्त्रिपरिषद्को बैठक बस्न सकेन । यस्तो अवस्थामा पनि सहज परिस्थितिबाट कांग्रेस–माओवादी गठबन्धले निरन्तता पाउँदै आएको छ । यसअवधिमा प्रधानमन्त्री दाहालले भारत र चीन भ्रमण गर्न भ्याएका छन् । दाहालले भदौ ३० गतेदेखि असोज २ गतेसम्म भारतको औपचारिक राजकीय भ्रमण गरे । भारतको गोवामा भएको विमेस्टक सम्मेलनमा सहभागी हुँदा प्रधानमन्त्री दाहालले एकैपटक चीनका राष्ट्रपति सि जिङपिङ र भारतीय प्रधानमन्त्रीलाई होटलमा भेटिएको कुरा पनि चर्चाको विषय बन्यो । त्यस्तै, यही चैत १० गतेदेखि १३ गतेसम्म प्रधानमन्त्री प्रचण्डले बोआओ फोरम फर एसिया सम्मेलनमा सम्बोधन गर्न चीनको औपचारिक भ्रमण गरे ।
सीताराम कुञ्जना
भूकम्पपछि पुनर्निर्माणको काममा लागेका हास्यकलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ यस वर्ष पनि चर्चामा रहे । धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकमा नमुना एकीकृत बस्ती निर्माण गरेर भूकम्प पीडितलाई हस्तान्तरण गर्न सफल भएका छन् भने बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन सफल भएका छन् । समाजमा केही गर्न सकिएन भन्नेहरूका लागि धुर्मुस–सुन्तलीले गतिलो जवाफ दिएका छन् । समाजमा राम्रो काम गर्न सकिन्छ र राम्रो काम गर्नेहरू पनि छन् भनेर देशमा मात्र होइन विदेशमा समेत धुर्मुस–सुन्तली उदाहरणीय भएका छन् ।
विद्यादेवी भण्डारी, राष्ट्रपति
यस वर्ष दश वर्षपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा दिएर राजनीतिमा तरंग ल्याउने काम गरिन् । राष्ट्रपतिको निम्तो मान्न पहिलोपटक पूर्वराजा शाह शीतल निवास जानु पनि निकै चासो र चर्चाको विषय बन्न पुग्यो । दुई महिना नबित्दै पुनः पूर्वराजाको नातिको व्रतबन्धको भोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुलाई राजनीतिमा चासोको साथ हेरिएको छ । दश वर्षपछि गणतन्त्र र राजतन्त्रको जम्काभेटको विषय निश्चय पनि चर्चाको विषय नै हो ।
केपी ओली, अध्यक्ष, एमाले
२०७३ सालमा नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी ओलीको निकै चर्चा भयो । असारमै प्रधानमन्त्रीको पदबाट मुक्त भए पनि उनी वर्षैभरि चर्चामा आए । आफू प्रधानमन्त्री हुँदा उनले गरेका भाषणले निकै चर्चा पाउने गरेको थियो । खासगरी विकासका विषयमा ओलीले गरेका नारा आमजनताका लागि चर्चाको विषय बन्ने गरेको थियो । आफू प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दी खोल्न लगाएर राष्ट्रवादी छवि कायम गरेका ओली मधेसी दलका केही नेताप्रति भने निकै अनुदार देखिन्छन् । जसका कारण उनको चर्चा र आलोचना दुवै हुँदै आएको छ ।

बाबुराम भट्टराई, हिसिला यमी
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई निर्वाचन आयोगमा निर्वाचन चिन्ह ‘आँखा’ माग्न जाने क्तममा पक्ताउ परे । तर प्रहरीले छोड्दा समेत प्रहरी हिरासतबाट बाहिर निस्किन नमान्दा प्रहरीले जबरजस्ती बाहिर निकालेको विषय पनि चर्चामै रह्यो । अझै रोचक त प्रहरी हिरासतमै रहेका भट्टराईलाई नेकपा क्तान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य नै भेट्न पुग्नु पनि थियो। त्यसै गरी नयाँ शक्तिकी नेतृ हिसिला यमी पनि वर्षको अन्तिममा चर्चाको पात्र बन्न पुग्नुभयो। निर्वाचन आयोग घेराउ गर्ने क्रममा भएको झडपमा यमीले यो देशलाई खारेज गर्नुपर्ने अभिव्यक्तिको सर्वत्र विरोध भएपछि गल्ती भएको भन्दै माफी मागेकी थिइन् ।
डिआइजीद्वय नवराज सिलवाल र जयबहादुर चन्द
वर्षको अन्तिममा प्रहरी प्रमुखको बन्ने भन्ने विषयमा डीआईजीद्वय नवराज सिलवाल र जयबहादुर चन्द पनि चर्चामा रहे । मन्त्रिपरिषद्ले जयबहादुरलाई आइजी बनाउने निर्णय गरेपछि नवराज सर्वोच्च गुहार्न पुगे । सर्वोच्चले तुरुन्त आदेश दियो–जयबहादुरलाई आइजी नबनाउ । धेरैपछि सर्वोच्चले जयबहादुरभन्दा नवराज उपयुक्त उम्मेदवार रहेको भन्दै मन्त्रिपरिषद्को निर्णय खारेज ग¥यो । र, तत्कालै आइजी नियुक्त गर्न सरकारको नाममा आदेश दियो । अन्ततः सरकारले चैत २८ गते डीआईजी प्रकाश अर्याललाई आइजीको फुली लगाइदियो । डिआइजी नवराज पुनः अदालत गएका छन् भने जयबहादुरले सरकारको निर्णयलाई स्वागत गरेका छन् । नवराजको निवेदनमाथि सुनुवाई गरेपनि सर्वोच्चले प्रकाशलाई काम गर्न भने रोकेनन् ।
लोकमानसिहं कार्की, अख्तियार प्रमुख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिपछि लोकमानसिंह कार्कीको पुनः चर्चा सुरु भयो । राजतन्त्रको समाप्तिपछि कार्की लगभग दृश्यमा थिएनन् । तर, जब दोस्रो संविधानसभा निर्वाचन गराउने बेला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएपछि लोकमानको चर्चा सुरु भएको हो । चौतर्फी दबाब भन्दै कार्कीलाई अख्तियार प्रमुख बनाइएयो । त्यसपछि कार्कीले एकपछि अर्को आफ्ना विरोधीलाई भ्रष्टाचार मुद्दा चलाउन थाले । धेरै सरकारी निकायमा अख्तियार आतंक बढ्यो । कतिसम्म भने उनी अब मुलुककै निर्विकल्प व्यक्तित्व झैं देखिन थालेपछि उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो । सर्वोच्च अदालतमा कार्कीलाई प्रमुख आयुक्त बनाउन योग्यता नपुगेको भन्दै रिट प¥यो । संसदमा उनलाई महाअभियोग लगाउन दलहरू विभाजित भए पनि सर्वोच्च अदालतले उनी अयोग्य ठहर गर्दै बर्खास्त गरिदियो । त्यसपछि एकाएक कार्की नेपाली राजनीतिक दृश्यबाट हराए ।
महावीर पुन
सामाजिक अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माणका लागि पोखरास्थिति आफ्नै २८ रोपनी जग्गा प्रदान गरेर केन्द्र स्थापनाको अभियानमा जुटे । नेपालको आर्थिक विकासलाई ध्यान दिँदै उनले आविष्कार केन्द्र सञ्चालन गर्नका लागि अभियान थालेका हुन् । हरेक सरकारले पटक–पटक आश्वासन मात्र दिएपछि उनले आफ्नै जग्गा बेचेर केन्द्र स्थापना गर्ने अभियान अघि बढाएका हुन् ।

 

कमल थापा, उपप्रधान तथा स्थानीय विकासमन्त्री, राप्रपा अध्यक्ष
राप्रपा नेपाल र राप्रपाबीच एकता भएको दुई साता नबित्दै कमल थापा सरकारमा सहभागी भएपछि पार्टीबाट डा. प्रकाशचन्द्र लोहनीले पार्टी फुटाएको विषयले पनि चर्चा पायो । उपप्रधानमन्त्री भएपछि निर्वाचन आयोग घेराउमासमेत गएका थापाको चर्को आलोचना भयो । हिन्दु राष्ट्र र राजतन्त्रलाई राप्रपाको विधानमा नराख्ने आयोगको निर्णयविरुद्ध उनी सडक पुगेका थिए । यता सरकारको वरिष्ठ उपप्रधानमन्त्री को ? भन्ने विषयमा पनि विवाद हुदाँ थापा चर्चामा रहे । अहिले भने प्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई नै वरिष्ठ उपप्रधानमन्त्री बनाएका छन् ।

विमलेन्द्र निधि, उपप्रधान तथा गृहमन्त्री
कांग्रेसबाट निधिको नेतृत्वमा सरकारमा सामेल भएपछि उनी चर्चामा आए । संविधानको विरोधमा रहेका मधेसी मोर्चालाई समेट्न कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सरकारमा कांग्रेसको तर्फबाट नेतृत्वमा पठाएका हुन् । यद्यपि देउवालाई सभापतिमा जिताउन निधिले निकै कसरत पनि गरेका थिए । सरकारमा सहभागी भएपछि छुट्टै चर्चा कमाएका निधि वरियताक्रममा सरकारका वरिष्ठ उपप्रधानमन्त्री थिए । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा निधि कार्यवाहक प्रधानमन्त्री भए । तर, चीन जाँदा भने उनले कावा पाएनन् । राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठको दाबी गरेपछि निधि विवादमा तानिए । उक्त विवाद विमानस्थलमासमेत देखिएको थियो ।
विनोद चौधरी, धनाढ्य
फोब्र्स पत्रिकाको अर्बपति सूचीमा परेका एकमात्र नेपाली धनाढ्य विनोद चौधरी पनि यसवर्ष चर्चामा रहे । अमेरिकाको चर्चित फोब्र्स पत्रिकाले सार्वजनिक गरेको २०१७ का अर्बपतिको सूचीमा उनी गत वर्ष १० स्थानमाथि उक्लेका हुन् । गत वर्ष उनी सो सूचीको १५ सय ७७ औं स्थानमा थिए ।
फोब्र्सका अनुसार, चौधरीसँग १.३ अर्ब अमेरिकी डलर सम्पत्ति छ । उनको सम्पत्ति गत वर्षको तुलनामा बढेको हो । गत वर्ष उनको सम्पत्ति १.१ अर्ब अमेरिकी डलर थियो । चौधरी ग्रुपका अध्यक्ष विनोद सन् २०१३ मा पहिलो पटक फोब्र्सको अर्बपतिको सूचीमा समावेश भएका थिए । यो मात्र होइन उनले नवलपरासीमा एक अर्ब खर्चेर ७ विघा जग्गामा शास्वत धाम बनाए । जुन कारणले पनि चौधरी चर्चामा रहे ।

गोविन्द गौतम, सहिद

पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहिद गोविन्द गौतम पनि चर्चामा रहे । फागुन २६ गते कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एसएसबीको गोली लागी गौतमको मृत्यु भएको थियो । गौतमलाई सरकारले सहिद घोषणा गरेको छ भने फागुन २९ गते राष्ट्रिय सम्मानकासाथ अन्त्यष्टि गरियो । उनलाई ११ तोपको सलामी समेत दिइएको थियो ।
उनको परिवारलाई सरकारले दस लाख, कांग्रेसले सात लाख, माओवादी केन्द्रले ६ लाख र एमालेले पाँच लाख सहयोग गरेको छ । राप्रपाले भने कञ्चनपुरमा सालिक बनाइदिने घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्