Everest Times

राष्ट्रपति भण्डारी आज भारत जाँदै, जाँदा–आउँदा सार्वजनिक बिदा

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणमा भारत जाँदै छिन् । ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर राष्ट्रपति भण्डारी सोमबार दिल्ली जाने तय भएको छ ।  ११ कात्तिक, २०७३ मा राष्ट्रपति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा उनी भारत जान लागेकी हुन् । उनीसँग परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपति कार्यालयका उच्च पदाधिकारी, परराष्ट्रसचिव शंकरदास बैरागीसहितका प्रतिनिधिमण्डल जाने तय भएको छ । नयाँ दिल्लीबाट राजदूत दीपकुमार उपाध्याय भ्रमण दलमा सामेल हुनेछन् ।

गत २७ वैशाखमा राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने तय भएको थियो । तर, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार फेरबदलको माहोल बनेपछि सरकारले राष्ट्रपतिको भ्रमण स्थगित गराएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीले १७ देखि १९ कात्तिकसम्म नेपालको राजकीय भ्रमण गरेका थिए । सोमबार दिल्ली पुगेर राष्ट्रपति भण्डारी होटेल ताजमान सिंहमा नेपाली राजदूत दीपकुमार उपाध्यायद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारत जाँदा र फर्कंदा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भारत जाँदा र फर्कंदा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति भण्डारीले सोमबारदेखि भारतको राजकीय भ्रमण गर्दै छिन् । उनी ८ वैशाखमा स्वदेश फर्कनेछिन् ।

प्रतिकृया दिनुहोस्