Everest Times

पृथ्वीनारायण क्याम्पसका सम्पूर्ण काम डिजिटल प्रविधिद्वारा गरिने

पोखरा । पृथ्वीनारायण क्याम्पसका सम्पूर्ण कार्य डिजिटल प्रविधिद्वारा गरिने भएको छ । सो कार्य तीन महीनाभित्र सम्पन्न हुनेगरी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. देबेन्द्रबहादुर लामिछाने र सफ्टवेयर कम्पनी (XL Soft Tech Pvt. Ltd., New Road, Pokhara)का तर्फबाट सि.ई.ओ. सुनिल पाण्डेका बीच हालै सम्झौता–पत्रमा हस्ताक्षर भएको छ।

सफ्टवेयर कम्पनीका सि.ई.ओ. पाण्डेका अनुसार सो कार्य तीन महीनामा सम्पन्न गरिने सम्झौता भएतापनि सो अवधीभन्दा पहिले नै काम सम्पन्न गर्ने प्रयास गरिनेछ । उनले भने, —“क्याम्पसको सम्पूर्ण काम कम्प्यूटर प्रणालीबाट गरिँदा कर्मचारी कम लाग्नुका साथै छिटोछरिटो र सटिक ढंगले सम्पन्न गर्न सकिनेछ ।”

एक्काइसौं शताब्दीको वरदानका रुपमा आएको सूचना प्रविधिको प्रयोगले क्याम्पसको परम्परागत काम गर्ने तरिकाबाट हुने गरेका ढिलासुस्ती र अस्तव्यस्ततालाई कम गरी क्याम्पस प्राज्ञिक उन्नयनतिर अग्रसर हुनेछ, पृथ्वीनारायण क्याम्पसअन्तर्गत कार्यरत रहेको QAA Unit का संयोजक तथा अंग्रेजी विभागका सह–प्राध्यापक डा. मीन पुनले भने । उनले डिजिटल प्रणालीको प्रयोगविना नेपालको उच्च शिक्षाको सुधार असम्भव हुने विचार पनि व्यक्त गरे ।

xlडा. पुनका अनुसार क्याम्पसलाई चाहिने डिजिटल प्रणाली तयार गर्नका लागि टेण्डर प्रक्रियाद्वारा सफ्टवेयर कम्पनीको छनोट गरिएको थियो जसमा पोखरा र काठमाण्डौंका गरी जम्मा १० वटा सफ्टवेयर कम्पनीहरुले निवेदन दिएका थिए । बोलकबोल रकम र डेमो प्रस्तुतीकरणका आधारमा XL Soft Tech कम्पनीलाई यो डिजिटल प्रणाली तयार गर्न छनोट गरिएको हो । सम्झौता–पत्रमा उल्लेख गरिएअनुसार क्याम्पसको सम्पूर्ण कामलाई तीन तह (शैक्षिक प्रशासन, आर्थिक प्रशासन र पुस्तकालय प्रशासन) मा विभाजन गरी सोही अनुसार सम्पूर्ण सूचना र डाटालाई कम्प्युटराइज्ड गरी पेपसलेस अफिसको अवधारणालाई अपनाईने छ । क्याम्पस सूत्रका अनुसार विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त गर्ने सन्दर्भमा डिजिटल प्रविधिको प्रयोगको आवश्यकता महशुस गरी यो डिजिटल प्रविधि को प्रयोग गने निर्णय गरिएको हो ।

प्रतिकृया दिनुहोस्