Everest Times

अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा बालमैत्री कथाको विमोचन

काठमाडौं । रबिराज बसौलाको बालकथा संग्रह  ‘बालमैत्री’ सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले विमोचन गरेका छन् ।

अन्तर्राष्ट्रिय बालदिवस मंसीर ५ का दिन मन्त्री कार्कीले भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको सभाहलमा  बालमैत्री कथा संग्रहको विमोचन गरेका हुन् ।

प्रमुख अतिथीसमेत रहेका सञ्चारमन्त्री कार्कीले बालबालिकालाई महत्व दिएर लेखिएको बालमैत्री कथासंग्रह बालबालिका, अभिभावक तथा सम्पूर्ण अभिभावक सहित बालमैत्री राष्ट्र निर्माणको अभियानमा अत्यन्त सहयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियाले बालबालिकाको सहभागितमा उनीहरुको सर्वोत्तम हितका लागि उपयुक्त वातावरण प्रदान गर्ने नीति निर्माणले बालमैत्रीको एउटा चरण पूरा हुने बताए ।

balmaitriयसैगरी पुस्तकको समिक्षा गर्दै बरिष्ठ बाल साहित्य सर्जक विनय कसजूले पोखरामा रहेर लामो समयदेखि बालबालिकालाई सञ्चार माध्यममा क्रियाशील गराउँदै अाएका पुस्तकका लेखक रबिराज बसौलाले बालबालिकाबाट प्राप्त गरेका उदाहरणहरुलाई समावेश गरी सिर्जना गरेको बालमैत्री कथासंग्रहले बालमैत्री अभियानलाई राष्ट्रव्यापी रुपमा अगाडी बढाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त  गरे ।
समालोचक साहित्यकार गीता त्रिपाठीले बालमैत्री कथासंग्रहमा संकलित आठ कथाहरुले परिवार, समाज, विद्यालय, वालक्लव, शहर, कार्यालय, यातायात र स्कूलवस बालमैत्री हुनलाई कस्तो हुनुपर्ने भन्ने व्यवहारिक ज्ञान प्रदान गरेको बताइन् ।

लेखक बसौलाले बालमैत्री भन्ने वित्तिकै बालमैत्री नीति, पूर्वाधार र व्यवहार हुनुपर्छ भन्ने बालमैत्री कथा संग्रहमा समावेश भएका कथाहरुले कसरी घर परिवार, कार्यालय र समाजका बिभिन्न निकायहरुलाई बालमैत्री बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिने बताए ।

प्रतिकृया दिनुहोस्