Everest Times

सामाजिक सञ्जालमा नेताहरुः कसलाई कतिले पछ्याउँदै

प्रविधिको विकाससँगै सामाजिक सञ्जाल व्यापक प्रयोगमा आएको छ । सर्वसाधारणदेखि नेता, व्यापारी, व्यवसायी, कलाकार र धनाढ्यहरुसमेत सामाजिक सञ्जालमा देखिन थालेका छन् । कलाकार , नेता र व्यवसायीले सामाजिक सञ्जाल आफ्नो मत, व्यवसाय र कला देखाउने डबलीका रुपमा लिन थालेका छन् ।
केही समययता पार्टीको महाधिवेशनको मुखमा, निर्वाचन नजिकिदाँ शीर्ष नेताहरुले पनि सामाजिक सञ्जाल प्रयोग गरी आफुलाई सक्दो प्रचारमा लागेको देखिन्छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा स्थानीयस्तरमा नेताहरुले पनि आफ्नो फलोअर बढाउन र प्रचारप्रसार गर्न सामाजिक सञ्जाल प्रयोगमा ल्याउन थालेका छन् । कांग्रेस महाधिवेशनताका सभापतिको प्रत्यासीद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलले ट्वीटर र फेसबुकमा खाता बनाएर आफ्नो फलोअर बढाएका थिए ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा नेपालका शीर्ष नेताहरुको फलोअर कतिको छ र उनीहरु कतिको अपडेट छन् भन्नेबारे हामीले चर्चा गरेका छौं ।

फेसबुकमा को अगाडि ?

फेसबुकमा सबैभन्दा बढी लाइक नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईको रहेको छ । हालसम्म उनलाई १२ लाख ४५ हजार भन्दा बढीले लाइक गरेका छन् । उनी आफ्नो दैनिक गतिविधि र विचारलाई फेसबुक पेजमार्फत नै सेयर गर्ने गर्दछन् ।

उनीपछि फेसबुकमा लाइक धेरै पाउने नेताका रुपमा रविन्द्र मिश्र देखिन्छ । भर्खरै बिबिसिको जागिर छाडेर साझा पार्टी निर्माण गरी यसको संयोजक बनेका मिश्रको पेजमा ६ लाख २६ हजारभन्दा बढी लाइक रहेको छ । उनले पनि आफ्नो दैनिक अपडेट यही पेजबाट गर्छन् ।

मिश्रपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पछ्याउनेहरु धेरै छन् । प्रचण्डले उनको पेजमा एकलाख ६० हजारभन्दा बढी लाइक पाएका छन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी सामाजिक सञ्जालमा सक्रिया रुपमा देखा परेका हुन् ।

प्रचण्डपाछि स्वास्थ्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य गगन थापाको लाइक धेरै देखिएको छ । युवाहरुको प्रिय नेताका रुपमा चिनिने उनले फेसबुकमा एक लाख ३७ हजारभन्दा बढी लाइक पाएका छन् । थापाले पनि दैनिक अपडेट फेसबुकबाट नै गर्ने गर्दछन् ।

गगनपछि राप्रपाका अध्यक्ष एवं वर्तमान उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा छन् । उनले फेसबुकमा झन्डै एकलाखको हाराहारीमा लाइक पाएका छन् । राप्रपामा युवाहरुको मन जित्न सफल नेता, हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गर्ने उनलाई पछ्याउनेहरुले अध्यक्ष थापाको दैनिक अपडेट फेसबुकबाटै पाइन्छ ।

देशकै ठुलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेसबुकमा पछाडि नै देखिन्छ । उनले हालसम्म ८७ हजार हाराहारी मात्र लाइक पाएको देखिन्छ । अपडेटमा पछाडि परेकाले पनि उनी लाइकमा पछाडि परेको हुनसक्छ ।

यता देशकै दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष र हाल संसदमा विपक्षी दलका नेताका रुपमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक लाइक ११ हजारमात्र रहेको छ । पछिल्लोपटक जनप्रिय काम गरी चर्चामा आएका ओलीबारे सामाजिक सञ्जालमा व्यापक बहस हुने गरेको छ । उखान टुक्का र कथाहरुमा निकै निपुण र भाषणकलामा एकदमै जोशिला ठानिने ओली सदाबहार चर्चित नेता भएपनि फेसबुकमा उनी आफै भने त्यति सक्रिया देखिदैनन् ।

ट्वीटरमा को अगाडि ?

फेसबुकमा झैं ट्वीटरमा पनि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई नै अगि छन् । उनलाई ट्वीटरमा फलो गर्नेको संख्या सात लाख ६८ हजारको हाराहारीमा छन् ।


उनीपछि ट्वीटरमा कांग्रेस नेता गगन थापा छन् । उनलाई ५ लाख ८० हजारभन्दा बढीले फलो गरेका छन् ।


थापालाई साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पछ्याएका छन् । मिश्रलाई ५ लाख ६५ हजारभन्दा बढीले फलो गरेका छन् । त्यसपछि राप्रपा अध्यक्ष कमल थापा छन् । उनलाई ३ लाख ३५ हजारभन्दा बढीले फलो गरेका छन् ।


थापापछि एमाले अध्यक्ष केपी शर्मा छन् । उनलाई २ लाख ४ हजारभन्दा बढीले फलो गरेका छन् ।


यता प्रधानमन्त्री पुष्पकमल दाहालको ट्वीटर फलोअर ५० हजारको हाराहारीमा रहेको छ ।


देशकै ठुलो पार्टीका सभापति शेरबहादुर देउवालाई भने अहिलेसम्म ४६ हजारको हाराहारीले मात्र फलो गरेका छन् ।

व्यक्तिगत वेबसाइटमा ककसको ?

शीर्ष नेताहरुले व्यक्तिगत प्रोफाइल राख्न वेबसाइट पनि बनाएका छन् । अहिले वेबसाइटमा सबैभन्दा सक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखिन्छ । सिएमप्रचण्ड डट कममा प्रधानमन्त्री प्रचण्डले दैनिक कार्यक्रम र प्रधानमन्त्रीको दैनिक समाचार वेबसाइटमा अपडेट गराउँदै आएका छन् । कतिपय समाचार संस्थाहरु अहिले उनको वेबसाइटमा समाचारका लागि भर पर्न थालेका छन् ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई धेरैअघि देखि नै वेबसाइटमा सक्रिया छन् । उनको बाबुरामभट्टराई डटकम नामक वेबसाइट रहेको छ । अहिले उनले यस आफ्ना रचना, अन्तर्वार्ताहरु राखेका छन् ।
एमाले अध्यक्ष केपी शर्पा ओलीको केपीशर्माओली डटकम नामक वेबसाइट रहेको छ । उनको वेबसाइटमा हाल त्यति धेरै अपडेट गरेको देखिदैन ।
रविन्द्र मिश्रले आफ्ना कामहरुको बारेमा रविन्द्रमिश्र डटकममा अपडेट गरेका छन् । उनको वेबसाइट भने अंग्रेजी भाषामा रहेको छ ।
गगन थापाले हालै गगनथापा डटकम डट एनपी वेबसाइट सुरु गर्न लागेका छन् । देशकै ठुलो पार्टी कांग्रेस सभापति शेरबहादुर देउवाको भने नीजि वेबसाइट सञ्चालनमा देखिदैन । सामाजिक सञ्जालमा सक्रिया देखिएका राप्रपा अध्यक्ष कमल थापाको पनि वेबसाइट देखिदैन ।

प्रतिकृया दिनुहोस्