Everest Times

बाैद्ध तेमाल जात्रामा तामाङ जुहारी, नोर्बु समूह पहिलो

काठमाडौं । बौद्ध तेमाल जात्राको अवसरमा भएको ‘तामाङ जुहारी ह्वाइ प्रतियोगीता–२०७३’ मा सिन्धुपाल्चोकका नोर्बु समूह पहिलो हुन सफल भएको छ ।

सोमबार बौद्धमा बौद्ध तेमालजात्रा मूल समारोह समितिको आयोजनामा भएको प्रतियोगितामा नोर्बु समूहका १७६.५ नम्बर ल्याउँदै पहिलो हुन सफल भएको हो । पहिलो भएको समूहले नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।  समूहमा सिन्धुपाल्चोक लिसंखुका नोर्वु योञ्जन तामाङ, पासाङ योञ्जन, सुनिता बल, पेमा मोक्तान थिए ।

त्यसैगरी १७१ नम्बर ल्याउँदै च्याङ्बा समूहका सन्दिप योञ्जन, गंगाबहादुर योञ्जन, संगीता थिङ र धनकुमरी घिसिङ दोस्रो भए । दोस्रो हुन सफल समूहले नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र पाए । १५२ नम्बर ल्याउँदै बिष्णु लोप्चन, ठुलीमाया थोकर र कान्छी थोकर तेस्रो स्थान प्राप्त गरे । तेस्रो समूहले नगद ५ हजार पुरस्कार प्रदान गरियो । ६ समूह सहभागी प्रतियोगितामा सैलुङे च्याङ्बा, कान्छी स्याङतान र लालबहादुर घिसिङको जोडीले सान्त्वानामा चित्त बुझाए । सहभागी प्रत्येक समूहले २५ मिनेट जुहारी खेलेका थिए ।

प्रतियोगीतमा पुरस्कृत भएका समूह र दोहोरी ह्वाइका बिजेतालाइ नगद र शिल्ड बौद्ध महासंघ नेपालका अध्यक्ष खेन रिन्पोछे गेशे निमा तामाङ, जात्रा संयोजक सम्पूर्णकुमार लामा र प्रयोजक, निर्णायक मण्डलहरुले वितरण गरेको थियो ।

प्रतियोगिताका निर्णायक मण्डलमा इन्द्रराम मोक्तान, ध्यानबहादुर मोक्तान, लालबहादुर योञ्जन, पासाङ मोक्तान र ताम्बा संघ नेपालको अध्यक्ष धावा वाङ्गेल मोक्तान थिए ।

अमेरिका न्युजर्सी निवासी ङिमा पाख्रिन, पेमा लामा योञ्जन, थोकर समाज दोलखा र सोनाम थोकर लामाले पुरस्कार ब्यवस्थापन गरेका थिए ।
पुरस्कार वितरणपछि बृहत सांगीतिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा इन्दिरा गोले, प्रेम लोप्चन, देवलाल मुक्तान, सोनामराज मोक्तान लगायतका कलाकारहरुले सेलो, नेपाली गीत प्रस्तुति राखेको थिए ।

प्रतिकृया दिनुहोस्