१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

न्युजिल्यान्डले चाल्यो साहसिक कदम


२० चैत्र २०७५, बुधबार  

0
Shares

बीके नेवा- 

एसिया—प्रशान्त क्षेत्रको शान्त, भ्रष्टाचारमुक्त र समृद्ध मुलुक न्युजिल्यान्डमा आतङ्कवादी आक्रमण भएपछि आतङ्वादी गतिविधि रोक्न कडा कदम चालिएको छ । जनताको जिउधनको सुरक्षालाई उच्च प्राथमिकता दिँदै सरकारले तत्काल नयाँ कदम चालेको हो । सबै प्रकारका हतियारमाथि प्रतिबन्ध लगाएर सरकारले ऐतिहासिक काम गरेको छ । देशमा रहेका सबै प्रकारका अर्ध–स्वचालित हतियार तथा राइफल राख्न प्रतिबन्ध लगाएसँगै जनताले सुरक्षित भएको अनुभव गरेका छन्  । क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएकाध्ये ५० जनाको नरसंहारबाट तर्सित आमजनतालाई विश्वस्त पार्न सरकारले नयाँ नियम घोषणा गरेसँगै सबै क्षेत्रबाट प्रशंसा पाएको छ  ।

 

लेखक

गएको मार्च १५ न्युजिल्यान्डको इतिहासमा कालो दिन हो । यस किसिमको क्रूर हत्या यसअघि यो मुलुकमा भएको थिएन । सरकारले यो घटनालाई अत्यन्तै गम्भीरतापूर्वक लिँदै तत्काल सम्पूर्ण हतियारमाथि बन्देज लगाएर थप सम्भावित आक्रमण रोक्ने प्रयास गरेको छ ।
प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुने गरी बन्देज लगाउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो इतिहास सदाका लागि परिवर्तन भएको छ । अब हाम्रो कानुन पनि ।’’ ‘‘मार्च १५ आतङ्ककारी आत्रमणमा प्रयोग गरिएजस्ता हरेक अर्ध–स्वचालित हतियारमाथि यस मुलुकमा प्रतिबन्ध लगाइएको छ ।’’ उहाँले भन्नुभयो, ‘‘उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको प्रयोगमा पनि बन्देज लगाइएको छ ।’’ यस्ता म्याग्जिन र डिभाइसको मद्दतले उच्च गतिमा गोली प्रहार गरी सामूहिक हत्या गर्न सकिन्छ । प्रधानमन्त्री आर्डर्नले सत्तारुढ गठबन्धनका नेता तथा उपप्रधानमन्त्रीको सहमतिमा स्वचालित हतियार प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको थियो ।

क्राइस्टचर्चका दुई मस्जिदमा मार्च १५ मा एक अस्ट्रेलियाली नागरिकले गरेको आक्रमणपछि न्युजिल्यान्डमा बन्दुकसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने आवाज उठेको थियो । २८ वर्षीय ब्रेन्टन हृयारिस टारन्टले आक्रमणमा अर्धस्वचालित सैनिक एसल्ट हतियारको प्रयोग गरेका थिए । आक्रमणकारीसँग भएका पाँचमध्ये एउटा बन्दुक स्वचालित भएको अधिकारीले बताएका थिए । आक्रमणकारी टारन्टलाई पक्राउ गरी अदालती कारबाही सुरु गरिएको छ ।

बन्दुकबाट निहत्था जनताको ज्यान गएपछि सरकारले बन्दुकमाथिको प्रतिबन्ध लगाउँदा त्यहाँका निजी बन्दुक उद्योग भने अप्ठेरोमा परेका छन् । हाल निजी क्षेत्रबाट उत्पादित करिब १५ लाख हतियार रहेका छन् । अब ती सबै हतियार सरकारलाई बुझाउन र उद्योग बन्द गर्न भनिएको छ । अब निजी क्षेत्रले हतियार उत्पादन, बिक्रीवितरण गर्न नपाइने भएको छ । सरकारको यो उदाहरणीय कार्य बन्दुकपीडित अमेरिकालगायतका देशका लागि अनुकरणीय छ ।

विभिन्न आरोह अबरोह पार गर्दै आज शान्त र सम्पन्नताको शिखर चुमेको न्युजिल्यान्डमा आउँदा दिनमा कुनै प्रकारको आतङ्कवादी गतिविधि हुन नदिन कडा सुरक्षा व्यवस्थाका मिलाएको छ । बन्दुकमाथिको प्रतिबन्धले आतङ्क मच्चाउन चाहने व्यक्ति वा समूहलाई ठूलो झड्का लागेको छ । शान्तिप्रेमी न्युजिल्यान्डवासीहरुले कुनै पनि प्रकृतिको आतङ्वादी गतिविधि नसहने बताएका छन् । उनीहरुले सरकारले चालेको पछिल्लो कदमको स्वागत गरेका छन् । बन्दुकमाथिको प्रतिबन्धप्रति आम जनसमर्थनले सरकारलाई थप सुरक्षा कदम चाल्न मार्गप्रशस्त भएको छ ।

बाह्रौँ—तेह्रौँ शताब्दीतिर अस्तित्वमा आएको न्युजिल्यान्ड विभिन्न युरोपेली मुलुकको अधीनमा रहँदै सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएको हो । बेलायतबाट स्वतन्त्र भए पनि अहिलेसम्म त्यहाँको राष्ट्राध्यक्ष बेलायतकी महारानी हुने व्यवस्था छ । पहिलो र दोस्रो विश्वयुद्धम भाग लिएको यो मुलुक स्वतन्त्र भएपछि संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनामा सहभागी भई विश्वका विभिन्न युद्धरत मुलुकमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ ।

सन् १९५०—५३ को कोरियाली युद्धमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्तिसेना पठाएको न्युजिल्यान्डले सन् १९६० मा भियतनाम युद्धमा अमेरिकी सहयोगार्थ सेना पठाएको थियो । सन् १९५१ म अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रशान्त सुरक्षा सन्धि भएको थियो । सोही सन्धि अनुसार न्युजिल्यान्डले भियतनाम युद्धमा अमेरिकालाई सहयोग गरेको हो । सन् १९९९ मा पूर्वी टिमोरमा शान्ति स्थापनार्थ पनि न्युजिल्यान्डले शान्तिसेना पठायो । सन् २००९ मा अफगास्तिानमा शान्तिसेना पठाएर न्युजिल्यान्डले अन्तर्राष्ट्रिय शान्तिका लागि भूमिका निर्वाह गर्दै आएको छ ।

शान्तिका लागि काम गर्दै आएको न्युजिल्यान्डले हतियारको होडबाजीका नलाग्ने भन्दै सन् १९८५ मा अमेरिकी आणविक युद्धपोत ‘रेन्वो वारिअर’ न्युजिल्यान्डको तटीय क्षेत्रमा राख्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेको थियो । सो युद्धपोतमा फ्रान्सेली जासुसले आक्रमण गरी विस्फोट गराएका थियो । यो घटनाले अमेरिका र न्युजिल्यान्डबीचको सम्बन्ध केही चिसियो ।

सन् १९८४ मा न्युजिल्यान्डमा लेवर पार्टी सत्तामा आयो । प्रधानमन्त्री डेभिड लङले अर्थतन्त्रमा सुधार गर्न स्वतन्त्र बजारमुखी आर्थिक नीति लागू गर्नुभयो । सोही नीतिको निरन्तरता न्युजिल्यान्डको अर्थतन्त्र फस्टाउन सहयोगी बन्यो ।

 

पोलिनेसियाबाट आएका माओरीका पूर्खाहरुले जग्गा आवादी गरी खेतीपाती सुरु गरेको यो मुलुकका आदिवासी माओरीहरु नै हुन् । युरोपबाट आएका अङ्ग्रेजहरु र अन्य एसियालीहरु मिलेर बहुजातीय, बहुधार्मिक तथा बहुभाषीय समुदाय बनेको न्युजिल्यान्डको मुख्य भाषा अङ्ग्रेजी र माओरी साथै मुख्य धर्म भने इसाई हो । सबै जातजाति, धर्म र समुदायबीचको मेलमिलाप यहाँको विशेषता हो ।

अत्यन्तै उर्वर भूमि रहेको न्युजिल्यान्डमा कृषि नै अर्थतन्त्रको मेरुदण्ड हो । यहाँ कृषि,पूर्वाधार तथा पर्यटन उद्योग फस्टाएको छ । सन् १९८५ देखि लिएको उदारवादी आर्थिक नीतिले गर्दा अर्थतन्त्र बलियो बन्दै गएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो मुलुकलाई भूकम्पले भने बारम्बार दुःख दिने गरेको छ । सन् २०११ , २०१३ र २०१४ मा आएको भूकम्पले जनधनको व्यापक क्षति भयो ।

४७ लाख जनसङ्ख्या रहेको न्युजिल्यान्डको क्षेत्रफल २ लाख ७० हजार ५३४ वर्ग किलोमिटर छ । औसत आयु पुरुषको ८० वर्ष र महिलाको ८३ वर्ष छ । यहाँका ठूला राजनीतिक दल लेवर पार्टी र नेसनल पार्टीको राजनीतिमा मुख्य भूमिका रहेको छ । कहिलो लेवर पार्टी त र कहिले नेसनल पार्टी सरकारमा पुगेका छन् । कहिले एकल त कहिलो गठबन्धन सरकार बन्ने गरेका छ । अहिले लेवर पार्टीका नेतृत्वमा गठबन्धन सरकार सत्तामा छ । गठबन्धन सरकारले मुलुकमा भएको आतङ्वादी आक्रमणलाई अत्यन्तै गम्भीरतापूर्वक लिँदै शान्ति सुरक्षा कायम गर्न प्रभावकारी कदम चालेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : ०२ बजे