१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनए अमेरिकामा चुनावी बहसः अध्यक्षका प्रत्यासीसँग सवालजवाफ


१७ जेष्ठ २०७४, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

नेप्लिज अमेरिकन मिडिया एन्ड रिसर्च सेन्टर र एबिसि टेलीभिजन नेपालद्वारा न्यूयोर्कमा एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीबीच बहस कार्यक्रम आयोजना गरियो । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु डा.केशव पौडेल, गौरीराज जोशी, रामसी पोखरेल, कृष्ण पोख्रेल, रबीना थापा र डिल्ली भट्टराइले आफ्नो चुनावी एजेन्डाहरु प्रस्तुत गर्नुका साथै सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।

आफ्नो अथक प्रयासले एनआरएन अमेरिकालाइ विभिन्न कानुनी र प्राविधिक समस्याहरुबाट मुक्त गर्नमैे कार्यकाल खर्च भएपनि संगठन निर्माण, आन्तरिक तथा बैदेशिक सम्बन्ध विकास, अमेरिका र नेपाल सरकारसंग दरिलो समन्वय गर्नमा आफ्नो कार्यकाल सफल भएको बताउदै वर्तमान अध्यक्षसमेत रहेका केशव पौडेलले एनआरएन शुद्धिकरण अभियान, २६ वटा च्याप्टरहरु गठन, र नेपालीलाइ टिपिएसको दर्जा दिलाउन आफ्नो कार्यकाल सफल भएको बताएका थिए । ‘मेरो कार्यकालको अधिकांस समय मुद्धा सल्टाउनैमा बित्यो, अब मैले सुरुवात गरेका केहि महत्वपुर्ण र नविन योजनाहरु कार्यन्वयन लागी मलाइ थप एकपटक मौका दिनुहोस,’ पौडेलले सहभागी समक्ष आग्रह गरे । उनले सामुदायिक भवन निर्माण लगायतका योजनाहरु कार्यन्वयन गर्दै आफ्नो कार्यकालमा एनआरएनए अमेरिकालाइ विश्वकै उत्कृष्ट एनसिसि बनाउने दाबी गरे ।
अध्यक्षका अर्का प्रत्यासी गौरीराज जोशीले नयाँ पुस्तामा एनआरएनए अमेरिकाप्रति देखिएको विकर्षण हटाउने, साना पुँजीले उद्यमशीलता बढाउने, अमेरिकी सरकारले अल्पसंख्यक आप्रवासीलाइ प्रदान गर्ने विभिन्न शैक्षिक, आर्थिक र सामाजीक आधिकारको लागि पहल गर्ने सीपमुलक तालिम संचालन गरि नेपालीलाइ दक्ष श्रमबजारमा प्रबेश गराउने आफ्नो मुख्य एजेन्डा रहेको बताए । उनले, च्याप्टरहरु गठन भएता पनि अधिकार र कार्यक्रम विहिन अवस्थामा राखिएको भन्दै च्याप्टरहरुलाइ स्वयत्तता प्रदान गर्ने, नेपाल र अमेरिकी सरकार विच व्यापार सम्झौताको लागी पहल गर्ने र दोहोरो कर प्रणाली हटाउन पहल गर्नु आफ्नो मुख्य उदेश्य रहेको बताए । ‘अमेरिकामा रहेका सबै नेपाली अट्न सक्ने नया एनआरएन बनाउन मलाइ सहयोग गर्नुहोस’ । जोशीले आग्रह गरे ।

कार्यक्रममा अध्यक्षका अर्का प्रत्यासी एवं बर्तमान उपाध्यक्ष रामसी पोखरेलले एनआरएनए हिजो गोजीमा थियो र आज हार्डड्राइभमा सिमित पारिएकोे छ भन्दै सदस्यता वितरणप्रति चर्काे असन्तुष्टि व्यक्त गरे । पोखरेलले एनआरएनएमा पद्धतिको विकास र पालना गर्न, राजनीतिक प्रभावबाट मुक्त राख्न, समुहिक लगानीको बढाउन र नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि आफ्नो उम्मेदवारी आएको बताए । पैसाको प्रभावले एनआरएनएको मर्मलाइ नष्ट पार्न लागीएको भन्दै अक्रोसित भएका पोखरेलले भने, ‘मेरो उम्मेदवारी एनआरएन बचाउन हो, एनआरएनए अमेरिकामा मैले दिएको योगदान र प्राप्त उपलब्धीको मुल्यांकन गरि नेतृत्व गर्ने मौका दिनुहोस् ।’

उडसाइडको सत्यनारायण मन्दिरको हलमा भएको कार्यक्रममा अर्का उम्मेद्धवार कृष्ण पोख्रेलले आकस्मिक कोषको स्थापना, सामुदायीक भवनको निर्माण र हेरक राज्यमा नेपाल डे परेड आयोजना गर्नु आफ्नो मुख्य एजेन्डा रहेको बताए । युवापुस्तामा एनआरएनप्रति आकर्षण बढाउन र अमेरिकामा नेपालीले सिकेको सिपलाइ नेपालमा लगी उपयोग गर्ने आफ्नो योजना रहेको उनले बताए । ‘हामीले आर्थीक सबलम्बन र क्षमता विकासमा ध्यान दिनु जरुरी छ, मेरो उमेदवारी यही कुराको सुनीस्चितताको लागी हो,’ पोखरेलले भने ।

वर्तमान उपाध्यक्ष एवं अध्यक्षका अर्का प्रत्यासी रबीना थापाले एनआरएनले महिलाको मुद्दालाई आजसम्म पनि गम्भिरतापूर्वक सम्बोधन नगरेकोले महिला आफँैले नेतृत्व लिनु आवश्यक भएको ठहर गर्दै उम्मेदवारी दिएको बताइन । ‘महिला सहभागीता, सशक्तिकरण तथा नेतृत्व विकासको लागी मेरो उम्मेदवारी हो,’ अध्यक्षका प्रत्यासी बाहेक अन्य पदका उम्मेदवारहरुले पनि संक्षिप्त एजेन्डा प्रस्तुत गरेको कार्यक्रममा अर्का प्रत्यासी डिल्ली भट्टराइले अमेरिकी मुलधारमा रहेको क्षमतालाइ नेपाली समुदायमा विकास गर्नको लागी आफुले उम्मेद्धवारि दिएको बताएका थिए । एनआरएनले मात्र सबै नेपालीको भावनाको साझा प्रतिनिधित्व गर्न सक्ने भन्दै उनले भने ‘ एनआरएनलाइ सबैकोे साझा संस्था बनाउ,’ आइसीसी सदस्यद्धय डा.विनोद शाह र खगेन्द्र जीसीले एनआरएनएबारे टिप्पणी प्रस्तुत गरेका थिए भने पत्रकार दिनेशजंग शाहले पैसाले एनआरएन अभियानमा पारेको नकरात्मक प्रभावको बारेमा प्रश्न गरेका थिए । त्यस्तै पत्रकार किरण मरहठ्ठाले संचालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्षका प्रत्यासि विश्वबहादुर शाह, महासचिवका प्रत्यासीहरु सुर्य लम्साल र बिआर लामा उपाध्याक्षका प्रत्यासीहरु राधा पौडेल, हरिशचन्द्र हमाल, मणि नेपाली पनेरु, महिला संयोजकका उम्मेद्धवार उमा त्रिपाठी, सदस्यका प्रत्यासिहरु नवराज केसी, मिन खड्का, खेम भट्ट र सचिवका उम्मेदवार टेक लामा लगायतले पनि आफ्ना एजेन्डाहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार  १२ : ४२ बजे