एनआरएनए अमेरिकाको नेतृत्वका लागि भिड्दै तीन इन्जिनियर, कसले मार्ला बाजी ?

April 19, 2019

आङछिरिङ शेर्पा/न्युयोर्क

गैरआवासीय नेपाली संघ(एनआरएनए), अमेरिकाको आगामी नेतृत्वको लागि सुनिल साह, सञ्जय थापा र सूर्य लम्सालबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षको यी तीनै जना उम्मेद्वार पेशाले इन्जिनियर हुन् । एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साह टेक्सास निवासी हुन् भने एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर सञ्जय थापा न्युयोर्क निवासी हुन् । यता एनआरएनए अमेरिकाको पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्साल पनि न्युयोर्क निवासी नै हुन् ।

आगामी मे महिनाको १८ तारिखमा हुन लागेको निर्वाचनको लागि उनीहरु यतिखेर मतदातामाझ भोट माग्न व्यस्त छन् । नेतृत्वकै लागि थापाले करिब एक महिनाअघि नै न्युयोर्कमा पत्रकार सम्मेलन गरी उमेद्वार घोषणा गरिसकेका छन् भने साहले पनि एक महिना अघि नै टेक्सासबाट उमेद्वारी घोषणा गरिसकेका छन् । अर्का दाबेदार लम्सालले गत अप्रिलको पहिलो हप्ता न्युयोर्कमा उमेद्वारी घोषणा गरे। आगामी निर्वाचनमा तीन जनाको रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

तीन उम्मेद्वारका भावी योजना यस्ता छन्

संस्थालाई गर्व गर्ने लायकको बनाउनु मेरो पहिलो प्राथमिकता : सुनिल साह

नेपालीको आयस्रोत बढाउने कार्यक्रम मेरो कार्यकालमा ल्याइनेछ : सञ्जय थापा

सबैसँग पैसा छ, लगानी गर्ने ठाउँ पहिचान छैन, त्यसैले लगानीको वातावरण बनाउँछु : सूर्य लम्साल

मतदान मे १८ मा, मे २१ मा नतिजा

एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे १८ तारिखमा हुने भएको छ । एनआरएनए निर्वाचन समितिले जारी गरेको विज्ञाप्तिको अनुसार निर्वाचन प्रक्रिया अनुरुप अप्रिलको १३ तारिख मतदाताहरुको पहिलो चरणको नामवाली प्रकाशित गरे लगतै १४ देखि १७ तारिखसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ अप्रिलको २३ तारिखमा उम्मेदवारहरुको नामवाली प्रकाशन गरिने छ ।

त्यस्तै अप्रिलको २४ मा दाबीविरोध, मेको ३ तारिखमा उम्मेदवारी फिर्ता र मे ७ तारिख उम्मेद्वारहरुको अन्तिम नामवाली प्रकाशन गरिने भएको छ । त्यसपछि मेको १८ तारिख बिहान ८ बजेदेखि रातको ११ बजेर ५९ मिनेटसम्म मतदान हुनछ । मे २१ मा निर्वाचनको नतिजा घोषणा गरी जुलाईको ६ तारिख निर्वाचित हुनेहरुलाई प्रमाण पत्र वितरणसँगै शपथग्रहण गरिने भएको समितिले जनाएको छ ।

समितिले यस पटक उम्मेदवारी दिनेहरुको शुल्कमा पनि परिवर्तन गरेको जनाएको छ । जस अनुसार अध्यक्षमा उम्मेदवारी दिनेले २ हजार डलर, वरिष्ठ उपाध्यक्ष १५ सय डलर, क्षेत्रीय उपाध्यक्षहरु १३ सय डलर, सचिव १ हजार डलर, कोषाध्यक्ष १ हजार डलर, सहकोषाध्यक्ष ८ सय डलर र युवा संयोजकलाई ७ सय डलर, महिला संयोजकलाई ७ सय डलर, बोर्ड अफ डाइरेक्टरलाई ७ सय डलर र आइसिसि सदस्यमा उम्मेदवारी दिनेलाई १ हजार डलर तोकिएको समितिले जनाएको छ ।

त्यस्तै विभिन्न राज्यहरुमा रहेको च्याप्टरहरुमा उम्मेदवारी दिनेहरुको हकमा अध्यक्षमा उम्मेदवारी दिनेले ५ सय डलर, वरिष्ठ उपाध्यक्षमा दिनेलाई ३ सय डलर, सचिवको लागि ३ सय डलर, कोषाध्यक्षको लागि २ सय डलर तोकिएको छ । त्यस्तै च्याप्टरकै महिला संयोजकको लागि १ सय डलर, च्याप्टर बोर्ड अफ डाइरेक्टरका लागि सय र बोर्ड अफ डाइरेक्टरका लागि सय डलर तोकिएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार