जन्मभूमि जुभिङ पुगेर फर्कंदा

July 1, 2017

नुरुमान राई

आलेखको सुरूवात गर्नु भन्दा अगाडि म कहाँ जन्मिए भन्ने कुरा खुलाउनु जरूरी ठानें, किनभने मैले यस लेखमा उठाउन खोजेको सवाल र विषयवस्तुहरु बिशुद्ध रुपमा मेरो गाउँको हो र यसले नेपालको ग्रामीण परिवेशलाई चित्रण गर्छ भन्ने लाग्छ । म सोलुखुम्बुको एउटा विकट गाउँ जुभिङमा जन्मिएको हुँ । जहाँ अहिलेसम्म सडक पुगेको छैन । मेरो गाउँको आसपाससम्म कच्ची सडक पुगेको छ । यसर्थ अझै पनि सोही कच्चि सडक खण्डबाट २ देखि ४ घण्टा पैदल यात्रापछि मात्र मेरो गाउँमा पुगिन्छ । गाउँमा दस कक्षा सकेर काठमाडांैमा पढाईको क्रममा ५ वर्ष बिताइयो । त्यसबेला १ वर्षमा वा २ वर्षमा एकपटक घर पुगेर केही समय बिताउने गर्दथे । त्यसपश्चात अमेरिका छिरियो । अमेरिकामा ५ वर्ष बसाई पछि पहिलो पटक जन्मभूमि जुभिङ पुगेको थिएँ यस पटक । ४ महिने नेपाल बसाईको क्रममा देखिएको जीवनशैली, गतिबिधि र परिवर्तनलाई पस्कन खोज्दै छु ।

लगभग २४ घण्टे हवाई यात्रापछि आफ्नो देशमा पाईला टेक्दा खुसीको भान त हुने भै हाल्यो सँगसँगै काठमाडौको प्रदुशनले पनि समाति हाल्यो । नेपालमा जहाज आवतरण हुदा मध्यरात भई सकेको थियो अमेरिकामा दिन अनि त्यो रात निन्द्रा नै परेन । दिन र रातको फरकपनले गर्दा सुरूका दिनहरूमा शरीरलाई निकै अप्ठेरो बनायो । ५ दिन जसो गेस्टहाउसमा नै बिताए दिनमा सुत्दै रातमा जाग्राम बस्दै ।
काठमाडौको धुलो, धुवासँग पौठेजोरी खेल्दै आफ्नो व्याक्तिगत कामहरूलाई अगाडि बढाउनु थियो । नीजि क्षेत्रबाट प्रबद्र्धित एउटा प्रतिष्ठित बैंकमा तिन दिनको ठुलो कसरतले मात्रै मेरो व्याक्तिगत बैंक खाता खोल्न सफल भएको घटना मनमा मेटिएको छैन । सरकारी कार्यलयहरू मात्रै होईन नीजि कार्यालयहरू पनि सेवाग्राहीका लागि सहज बन्न नसकेको प्रष्टै देखियो । ‘मेरो पैसा तिमी राख अनि गरेर खाउ’ भन्नको लागि पनि यत्रो लामो समय लाग्नु आफैमा अचम्मको बिषय थियो ।

सुरूमा काठमाडौको सडकहरूमा साह्रै गाह्रो भयो । ५ वर्ष पहिले सहरका प्राय सबै ठुला चोकहरूमा ट्राफिक बत्तिहरूको व्यावस्था गरिएको थियो तर अहिले काठमाडौको कुनैपनि चोकहरूमा ती बत्तिहरू छैनन । सडक पार गर्न पैदल यात्रीहरूका लागि विभिन्न ठाउँमा व्यावस्था गरिए पनि त्यो ठाउँमा सवारी साधनका लागि रोक संकेत नभएका कारण कठिन भएको हो । यस्तो अवस्था देख्दा नेपालमा यातायात व्यावस्थापन अधोगति तिर लागेझै लाग्यो । अर्कोतर्फ नेपाल सरकारले २० वर्ष भन्दा पुरानो सार्बजनिक सवारी साधनहरुलाई हटाउने निर्णयको कार्यान्वयन मेरो ४ महिना नेपाल बसाईको अवधिमा नै भयो जसले गर्दा राजधानीका सडकहरूमा अत्याधुनिक गाडिहरू चल्न थाले । नीजि गाडिहरू पनि बिगतको तुलनामा अत्याधुनिक भएको आकलन भयो मलाई ।

सबैभन्दा चाखलाग्दो विषय चाँहि सोलुखुम्बु जिल्लामा भएको सडक बिस्तार भयो । हुनपनि मेरो प्रवास बसाईको क्रममा नै राजधानी र सोलुखुम्बु जोड्ने काम भएको हो । यसर्थ सोलुखम्बु जिल्लामा सडक पुगेको ६ वर्ष पनि भएको छैन । अहिले कालोपत्रे सडकमा सयौ सवारी साधनहरू हुईकिन्छन । त्यो भन्दा पहिले सोलुबासीहरू अरनिको राजमार्ग हुदै जिरी पुग्ने र लगभग ३ दिनको हिडाई पछि सोलुखुम्बु पुग्ने गर्दथे । म आफैले पनि कयौ पटक हिडेको छु त्यो बाटोमा । सोलु(काठमाडौं सडक खण्डमा सबैभन्दा चर्चित ठाउँ घूर्मी हो भन्दा फरक पर्दैन । किनभने त्यस ठाउँको परिचर्चा म बालक हुदाँदेखि नै सुन्दै आएको छु भने अर्को तर्फ त्यो ठाउँमा धेरै तर्फबाट गाडीहरू गुड्ने सडक जोडिएको छ । व्यापारिक हिसाबले घूर्मी अझै जल्दोबल्दो नै छ तर भौतिक विकास भने नभएको देख्दा मनमा उत्सुकता जाग्यो । सोलु काठमाडौ सडक खण्डमध्ये घूर्मी आसपास मात्रै सडक कच्ची छ । पक्की घरहरु देख्न मुस्किल पर्छ । घरहरुको रुपमा प्राय सबै बासको छाप्रोहरू मात्रै छन् । विकासको मापन आधुनिक र पक्की घरहरूले मात्रै त हुदैन तर घूर्मी भन्दा कम चर्चित ठाउँहरू नै बढी विकास भएको देख्दा घुर्मि वरपरको भूगर्भ माथी मनमा प्रश्न चाहि उब्जिन्छ ।

सोलुखुम्बु जिल्लाको ग्रामिण इलाकाहरूमा सडक बिस्तार तिव्र रूपमा भएको हुनाले गाउँले जनजीवनमा प्रतक्ष्य असर पारेको छ । सडकहरू निर्माण कै क्रममा भएता पनि मानिसहरूको मानसिकता र चालचलन पुरै फरक भएको देख्दा रमाइलो लाग्यो । गाउँघरमा पालिएको कुखुराको साटो अन्यत्र उत्पादित बोइलर कुखुराको प्रयोग, तराईमा उत्पादित अन्न, फलफूल र सागपातको व्यापकता बढेको र ग्रामिण किसानहरू समेत आधुनिक र नगदेबालि तर्फ उन्मुख भएर खेती गर्न थालि सकेका छन् ।

सडक बिस्तारको परिणामस्वरुप घर तथा अन्य भौतिक निर्माणका कार्यहरू पक्की प्रविधिबाट हुन लागेको छ । यसका लागि यूवाहरू आधुनिक घर निर्माणको तालिम लिने लहर बढेको छ । परम्परागत कृषि पेसाको अलावा डकर्मी, सिकर्मी र काठ काट्ने जस्ता सीपहरू सिकेर स्वाबलम्बन बन्ने बानीको विकास भएको देखियो भने बैदेशिक रोजगारीको लागि पनि यूवाहरू सिप सिकी रहेको देखिन्थे । परिवर्तित मानसिकता कै उपज जमिनहरूमा पनि अधिक मात्रामा बोट बिरूवा रोप्ने चलन आई सकेको छ ।

सोलुखुम्वु पर्यटकीय दृष्टिले विश्वभरि नै चर्चित छ । कुनै समय दोलखाको जिरीदेखि खुम्बु क्षेत्रको लागि पर्यटन पदयात्रा अत्यन्त व्यापक थियो । यो क्रम नेपालमा माओवादी छाएको कालदेखि कम हुदै आयो । अहिले त त्यस मार्गमा विदेशी पर्यटक र पर्यटन व्यावसायीहरूको साटो भारी बोक्ने खच्चडहरूको मात्रै लस्कर देखियो । यस प्रकारको परिवर्तनले मलाई अचम्मित मात्र पारेन यस्तो परिवर्तनको कारक खोज्न लालायित तुल्यायो र स्थानीय बासिन्दासँग बुझ्दा बढ्दो सडक बिस्तार, खुम्बु क्षेत्रको लागि पर्यटकहरू सिधै काठमाडौ बाट लुक्ला उड्ने र पर्यटन व्यवसायीका रूपमा कार्यरत मजदुरहरू बैदेशिक रोजगारीमा जानु जस्ता कारणहरू मुख्य रहेको बुझ्न आयो । सोलुखुम्बुमा सडक बिस्तार पछि पर्यटनको नयाँ गन्तव्यहरूको उदय भई रहेको भेटियो ।

संयोग भनौ म नेपालमा रहदा राज्य पुनसंरचनाको काम धमाधम हुदै रहेछ, नया संरचना अनुरुप मेरो गाउँ दुधकोसी गाउँपालिका अन्तरगत वडा नं १ मा परेछ । मलाइ व्याक्तिगत प्रयोजनको लागि सरकारी कागजातहरु आवश्यक परेको थियो त्यसैले म जिल्ला कार्यालयमा पुग्दा वडाको लागि खटिएको वडा सचिव कहाँ थिए पत्तो नै भएन । गतिलो कसरत पछि अन्य वडाको सचिवले काम गरिदिने बताए तर मेरो वडाको लागि आवश्यक सामाग्रीहरू केही पनि थिएन अनि वाध्य भएर आफ्नै खर्चमा (छाप र लेटरप्याड) बनाएर सचिवलाई सुम्पिए अर्थात नेपाल सरकारलाई दान गरेपछि आफ्नो काम पनि टारे । यसरी कुनैपनि कामको लागि आवश्यक तयारी नहुदा सर्बसाधारणले झमेला खेपि रहेका छन ।

आजको विश्व प्रविधिले गर्दा साँघुरिएको छ । गाउँघरमा पनि संचारको विकास दिनानुदिन भएको छ । जोकोहि प्रवासमा रहेपनि आफ्नो गाउँठाउँमा के भई रहेको छ भन्ने कुरामा अवगत भईहाल्छ तर आफ्नै आँखाले देख्दा र आफैले भोग्दा फरक अनुभुत हुन्छ । यसरी विकासका सकारात्मक र नकारात्मक दुबै पाटोलाई हेर्दै, परिवर्तनहरूलाई आत्मसाथ गर्दै अनि बेथिति र ढिलासुस्तिमा खिन्नता बोधसहित कर्मथलो फर्किएको छु ।

सम्बन्धित समाचार