एमाले मधेश विरोधी पार्टी होइन: ओली

November 20, 2017

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई÷मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेका छन् ।

सोमबार विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आफू प्रम भएको समयमा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धिलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले केही राजनीतिक दलका कारणले मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोपसमेत लगाए ।

अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, काँकडभिट्टादेखि सुनसरीको कोशी पुलसम्मको छ लेनको सडक विस्तार, जोगबनी–कटहरी रेलमार्गको निर्माण, विराटनगरको विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्र हुने जानकारी दिए ।

सम्बन्धित समाचार